शुक्रबार १७ मंसिर २०७८

महाकालीमा बेपत्ता जयसिंह धामीकी श्रीमती भन्छिन् ‘बिन्ती छ, न्या’य नमरोस्’
August 22, 2021 4
अरू दिन बिहान ६ बजे उठ्ने राजन्ती धामी १५ साउनमा बिहान ५ बजे नै उठिसकेकी थिइन् । श्रीमान् जयसिंह धामी बिहानै खलंगा हुँदै काठमाडौं जाने तयारीमा थिए । खाजा खुवाइवरी साढे सात बजेतिर श्रीमान्लाई बिदा गरिन् राजन्तीले ।

बिदाइका हात हल्लाउँदै जयसिंहले भनेका थिए, ‘हप्ता दिनभित्रै फर्किएर आउँछु, सकेसम्म अझै चाँडै आउँला ।’ श्रीमान्का यिनै शब्दले राजन्तीलाई धेरै बिझाउँछ आजभोलि । किनभने घरबाट निस्किएको आधा घन्टा नबित्दै महाकालीको भेल’मा ह’राए जयसिंह ।

भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन फुकालिदिँदा श्रीमान् बे’पत्ता भएको खबर सुनेपछि राजन्ती बे’होस भइन् । अहिलेसम्म जयसिंह भेटिएका छैनन् । जीवितै भेट्ने आस मरेपछि परिवारले कुशको शव बनाएर दाहसंस्कार गरिसके । श्रीमान् गुमाउँदाको पीडा छँदै छ, दुई लालाबालाको भविष्यको चिन्ताले थप गलेकी छिन् राजन्ती । किनभने ६ लाख ऋण उनको थाप्लोमा आइपरेको छ ।

‘डेढ वर्ष कतारमा कमाएको पैसाले गाउँमा तीनकोठे पक्की घर बनाउनुभयो । घर अझै व्यवस्थित बनाउन र सन्तानको भविष्यका लागि भनेर दुई वर्षअघि ऋण काढेर दुबई जानुभयो । तर, कोरोना महामारीका कारण सात महिनासम्म काम नपाएपछि फेरि ऋण खोजेर घर फर्किनुपर्‍यो । त्यतिवेलासम्म सात लाख ऋण पुगेको थियो । गत वैशाख–जेठमा लेकमा संकलन गरेको यार्सागुम्बा र वनलसुन बेचेर कमाएको एक लाखले ऋण ६ लाखमा झारेका थियौँ । बाँकी ऋण तिर्ने उपायको खोजीमा हुनुहुन्थ्यो, तर,’ बोल्दाबोल्दै राजन्तीको गला रोकियो ।

छोरा डेनियल पाँच वर्षका छन् । छोरी मेलिना भर्खर डेढ वर्षकी भइन् । छोराछोरीलाई नयाँ लुगा ल्याइदिने वचन दिएर, श्रीमतीलाई ऋण घटाउने उपायको आश्वासन छाडेर जयसिंह काठमाडौं हिँडेका थिए । गौरापर्वमा नयाँ नाना पाउने आसमा छोराछोरी फुरुंग थिए, राजन्तीलाई ऋणको भारी हलुका होला भन्ने अपेक्षा ।

‘गौरालाई लक्षित गरेर गाउँमा कपडा व्यापार गर्ने योजना बनाउनुभएको थियो । बैंकबाट ऋण निकालेर भए पनि केही कपडा ल्याउँछु, केही नाफा त गर्न सकिएला नि भन्नुभएको थियो,’ श्रीमान्ले सुनाएका योजना राजन्तीले सम्झिइन्, ‘विदेश जानका लागि पनि प्रक्रिया सुरु गरेर आउँछु, दशैँसम्म भिसा आयो भने गएर ऋण चुक्ता गर्छु भन्नुभएको थियो ।’ तर, जयसिंहका योजना र परिवारका सपना क्षणभरमै महाकालीमा घोलिए ।

ऋण, सन्तानको पालनपोषण र उनीहरूको शिक्षा, यो चुनौतीको सामना सजिलो छैन राजन्तीलाई । एसएलसीसम्म उत्तीर्ण गरेकी उनी चाहन्छिन्, सरकारले कुनै रोजगारी दिलाइदिए धेरै राहत हुने थियो । ‘गाउँमा खेतबारी धेरै छैन । कमाउने मान्छे नभएपछि साना छोराछोरी कसरी हुर्काऊँ ? सरकारले कुनै रोजगारीको ग्यारेन्टी गरिदिए केही राहत मिल्ने थियो,’ उनले भनिन् । हाल विभिन्न ठाउँबाट प्राप्त सहयोग रकमले भाइले खाद्यान्न जोहो गरिदिएको राजन्तीले बताइन् ।

जयसिंह बेपत्ता घटना छानबिन गर्न सरकारले गठन गरेको समिति पनि गाउँमा पुगेर फर्किएको छ । समितिका प्रतिनिधिसँग पनि राजन्तीले आफ्ना दुःखका चाङ बिसाइन् । र, जोडदार रूपमा ध्यानाकर्षण गराएकी छिन्, ‘मेरो श्रीमान्को हत्या गर्ने एसएसबीलाई कारबाही होस् । मृतात्माले शान्ति पाउने गरी प्रतिवेदन बनोस् । मलाई यो उमेरमा विधवा बनाउनेलाई त्यत्तिकै नछाडियोस् । बिन्ती छ, न्याय नमरोस् ।’ नयाँ पत्रिका दैनिकबाट साभार


Last Updated on: August 23rd, 2021 at 1:01 am
२४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया