बुधबार २२ मंसिर २०७८

पहिरोले खोला थुनियो, बाढीले डाइभर्सन बगायो ६ जनाको मृत्यु
August 29, 2021 admin ebihaniसमाचार / समाजNo Commenton पहिरोले खोला थुनियो, बाढीले डाइभर्सन बगायो ६ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाका कारण नवलपरासीको पूर्व र पश्चिम दुवै जिल्लाको जनजीवन प्रभावित बनेको छ । अविरल वर्र्षासँगै आएको बाढीपहिरोमा परी नवलपरासी पूर्वमा ३ र पश्चिममा ३ गरी ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भारी वर्र्षात्सँगै घर माथिबाट आएको पहिरोमा परी बेपत्ता भएका नवलपरासी पूर्वहुप्सेकोट–४ माथिल्लो चारघरेका ३ जनाको शव शनिबार अपराह्न सुरक्षाकर्मीले पुरिएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

जिप्रका नवलपरासी पूर्वका सूचना अधिकारी मधुसूदन सिंहका अनुसार पहिरोमा परी मृत्यु हुनेमा ४० वर्षीया धनमाया पुलामी, नातिनीहरु ६ र ७ वर्षका देउमाया भूमिसरा रहेका छन् । उनीहरुको शव घटनाको करिब ३६ घण्टापछि पुरिएको अवस्थामा घटनास्थलमै भेटिएको थियो ।

प्रहरी र स्थानीयबासीले शुक्रबार दिनभर बेपत्ताको खोजी गरे पनि उनीहरुलाई फेला पार्न सकिएको थिएन । शनिबार करिब ५० सुरक्षाकर्मी परिचालन गरी खोजतलास गर्दा पुरिएको अवस्थामा ३ जनाको शव फेला परेको हो । सोही पहिरोमा परेका घरमुली हस्तबहादुर पुलामीलाई भने घटनालगत्तै स्थानीयले घाइते अवस्थामा उद्धार गरेका थिए ।

त्यस्तै, बाढीपहिरोबाट नेपालमा हालसम्म ६३ वटा जिल्ला प्रभावित भएका छन् । जेठ ३१ देखि भदौ ११ गतेसम्म बाढीपहिरोका कारण ६३ वटा जिल्ला प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

यो मनसुनमा बाढीपहिरोका कारण ९० जनाले ज्यान गुमाइसकेका छन् । ४५ जना बेपत्ता र ९६ जना घाइते भएको विपद् जोखिम न्यूनीकरण प्राधिकरणको विवरणमा उल्लेख छ । यसैगरी ४० जिल्लामा ७५९ वटा घर पूर्ण रुपमा क्षति भएको छ भने १६८ वटा घरमा आंशिक क्षति भएको छ ।

बाढीपहिरोका कारण ३७ वटा सरकारी कार्यालय, १५ वटा सामुदायिक भवन–स्कुल, २५ वटा जलविद्युत आयोजना, २९ वटा मोटरेबल पुलमध्ये ७ वटा काठेपुल र २९ वटा झोलङ्गे पुलमा क्षति भएको प्राधिकरणले जनाएको छ ।

बाढीका कारण बाजुरामा एक जनाको मृत्यु, एक जना बेपत्ता भएका छन् । त्यस्तै ११ वटा घर पूर्ण रुपमा क्षति भएको छ भने ५ वटा घरमा आंशिक क्षति भएको छ । गोरखामा बाढीबाट चार जनाको मृत्यु, दुई जना बेपत्ता र दुई जना घाइते भएका छन् । साथै १६ वटा घर पूर्णरुपमा क्षति भएको छ भने ५८ वटा घरमा आंशिक रुपमा क्षति भएको छ ।


Last Updated on: August 29th, 2021 at 7:32 pm
३०० पटक हेरिएको

तपाईको प्रतिक्रिया