शुक्रबार १७ मंसिर २०७८

पहिरोले घर बास उठाएपछि बुटवलमा पुरै गाउँ शोकमा
August 30, 2021 admin ebihaniसमाचार / समाजNo Commenton पहिरोले घर बास उठाएपछि बुटवलमा पुरै गाउँ शोकमा

काठमाडौं – अविरल वर्षा सँगै आएको बाढीपहिरोले देशभरि वितण्डा मच्चाई रहेको छ । धेरै धन जनको समेत क्षति पुर्याएको झरी अझ १,२ दिन रहने मौसम विदाहरुले जनाएका छन् । यसैबीच बुटवलमा सोमबार पहिरोले ७ वटा घर पुरिएका छन् भने अन्य १५ वटा घरमा सामान्य क्षति भएको छ । चुरे पहाडबाट ढुंगासहितको पहिरो खस्दा बुटवल उपमहानगरपालिका–३, ज्योतिनगर बमघाटका ७ घर पुरिएको प्रहरीले जनाएको छ ।

दिउँसो पहिरो गएको र आइतबार नै केहीलाई सुरक्षित स्थानमा सारेका कारण गएका कारण मानवीय क्षति नभएको इलाका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरोले अम्मर विक, सीता थकाली, तुलसा सुवेदी, यमबहादुर पुन, मनकुमारी शर्मा, ईश्वरा पाण्डे र रोशन राणाको घर पुरेको छ भने अन्य १५ घरमा पनि ढुंगासहितको लेदो माटो पसेको छ ।

यसअघि आइतबार पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने रिङरोडसमेत बगाएको थियो । पहिरोबाट क्षति बढ्न सक्ने भन्दै सुरक्षाकर्मी र स्थानीय युवा क्लबहरू सहयोगका लागि जुटेको प्रहरीले बताएको छ । ज्योतिनगर क्षेत्रमा आइतबारदेखि नै पहिरो खतरा आँकलन गरिएको थियो ।

यो पनि: पहिरो खस्दा कालीपुलका आठ घरमा क्षति, तीन जना घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलस्थित कालीगण्डकी नदीमा पहिरो खस्दा तीन जना घाइते भएका छन् भने आठ घरमा क्षति पुर्‍याएको छ । पर्वतको जलजला गाउँपालिका–३ मल्लालको भिरबाट सो नदीमा पहिरो खस्दा बेनी–८ मा अवस्थित कालीपुल बजारमा छाल सहितको बाढी आएको थियो ।

कालीपुल टोल सुधार समितिका संयोजक ताराप्रसाद पुनले आज बिहान खसेको पहिरोले नदीमा छाल र बाढी बजारतर्फ आउँदा आठ घरमा क्षति पुर्‍याएको जानकारी दिए । उनका अनुसार बाढीले घर भत्कदा सन्तु पुन, गोविन्द बुढा र रेखा नेपाल घाइते हुनु भएका र उनीहरुलाई स्थानीयवासीले उद्धार गरी उपचारका लागि बेनी अस्पताल पुर्‍याएका थिए ।

उनले अहिले पनि पहिरो खस्ने क्रम नरोकिएको र कालीपुल बजारका ३० घर थप जोखिममा परेको जानकारी दिए । मध्यरातमा अविरल वर्षासँगै ठूलो आवाजमा पहिरो खसेपछि स्थानीयवासी भागदौड गरेर कालीपुलको माथिल्लो भागमा पुगेका थिए । स्थानीयवासीले रातभर सडकका पेटीमै आश्रय लिएका थिए ।

“पहिरोसँगै घरभित्रै नदीको बाढी आयो, वृद्धवृद्धालाई बोकेर सुरक्षित स्थानमा सार्‍यौँ, अझै जोखिम टरेको छैन, पहिरो खसेको ठाउँमा थप पहिरो जाने जोखिम छ”, स्थानीयवासी सुरेश पुनले भने । उनका अनुसार बजारमा आएको छालले घरसँगै शौचालय, खानेपानीलगायतमा समेत क्षति पुर्‍याएको छ । छालले नदी नियन्त्रणको लागि बनाएको पर्खालमा लगाइएको फलामको तारबारसमेत पूर्णरुपमा भत्काएको छ ।

यसैबीच पहिरो र बाढीको चपेटामा परेको कालीपुल क्षेत्रको अवस्थाका बारेमा बेनी नगरपालिकाका जनप्रतिनिधि, सुरक्षाकर्मीलगायतको टोलीले स्थलगत निरीक्षण गरेका छन् । पहिरो खसेर आएको बाढीले पुर्‍याएको क्षतिको बारेमा अवस्था बुझ्ने काम गरिएको र थप जोखिम नटरेकाले स्थानीयवासीलाई सुरक्षित स्थानमा रहन अनुरोध गरिएको वडा नं ८ का वडाध्यक्ष रामकृष्ण बराइलीले जानकारी दिए ।


Last Updated on: August 31st, 2021 at 6:23 pm
१३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया