बुधबार २२ मंसिर २०७८

काठमाडौं । नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपाका नेता खड्गबहादुर विश्वकर्माले एमसीसी सम्झौता अघि नबढाउन ध्यानाकर्षण गराउने उदेश्यले पहिलो चरणको आन्दोलन घोषणा गरिएको जानकारी दिए ।उनले यही भदौ २८ गते काठमाडौंमा बृहत प्रदर्शन गर्ने जानकारी दिए । एक हप्ते आन्दोलनका कार्यक्रमपछि पनि एमसीसी अघि बढाए कडा आन्दोलन गर्ने उनले चेतावनी दिए ।

विश्वकर्माले एमसीसी अघि बढाउने मुर्खता नगर्न प्रधानमन्त्री शेर बहादुर देउवालाई आग्रह गरे । यसअघिको एमाले नेतृत्वको बहुमतको सरकार भएपनि जनताको विरोध हुने भएकाले एमसीसीलाई ओलीले अघि नबढाएको हुनसक्ने उनले बताए ।

उनले एमसीसीलाई गठबन्धन सरकारले सदनमा लगे इतिहासकै ठूलो अपराध हुने जिकिर गरे । बिश्वकर्माले युरोपियन अमेरिकन युनियन लगाएत बिदेशी शक्तिसंगको सम्झौतामा गठबन्धन सरकार बनेको आरोप लगाए ।

उनले राजनीतिक दलका नेताहरूका कारण देश सङ्कटको भुमरीमा फसेकाले नै आफुहरु बाहिर आउनुपरेको धारणा राखे । फरक प्रसंगमा उनले संसदीय प्रणालीका बारेमा जनमत संग्रह गर्नुपर्ने र जनताको जस्तोसुकै फैसलालाई पनि स्वीकार गर्न आफूहरु तयार रहेको बताए ।

विश्वकर्माले सरकारसँग भएको तीन बुँदे सम्झौताको पूर्ण पालना हुनुपर्ने भन्दै सहमति कार्यान्वयन नभए जनतामाझ जाने चेतावनी दिए ।


Last Updated on: September 11th, 2021 at 3:24 pm
६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया