आइतबार १९ मंसिर २०७८

पोखराकी मिर्मिसा पराजुली कोरोनाभाइरस महामारी सुरु भएयता अनलाइनमार्फत् कक्षा लिइरहेकी छन्। पछिल्लो समय कुनै जानकारीबिना विद्युत् आपूर्ति हुँदा आफ्नो पढाइ प्रभावित भएको उनको गुनासो छ।

पढ्दापढ्दै बत्ती जाने क्रम बढेपछि उनले ट्वीट लेखेर गुनासो पोखिन्: “अनलाइन कक्षा चलिरहेको छ। झ्याप्प बत्ती मार्दिन्छन्। आएपछि ‘बत्ती गयो’ भनेर जानकारी दिँदा र के विषयमा छलफल गर्दै थियौँ बारे बताउँदैमा पन्ध्र मिनेट जान्छ।”

बिनासूचना प्रत्येक दिन बत्ती जान थालेपछि कञ्चनपुरका केशव पन्त पनि दिक्क भएको छन्।

उनले फेसबुकमार्फत् आफ्नो दिक्दारी पोखेका छन्: “बत्ती गयो! बिनासूचना बत्ती गयो भन्न पनि गाह्रो छ।”

उनी लकडाउनयता घरबाटै काम गरिरहेका छन्। सदरमुकाम महेन्द्रनगरबाट करिव २६ किलोमिटर मात्र टाढा आफ्नो गाउँमा बत्ती समस्या बढेको उनको भोगाइ छ।

उद्घाटन सकिएको माथिल्लो तामाकोशीबाट व्यावसायिक विद्युत् उत्पादन कहिले?
‘एकसय मेगावाट सम्म थप बिजुली ल्याउन सकिने’
“इन्टरनेटको माध्यमबाट काम गर्नुपर्ने भएकाले बत्ती जाँदा निकै सास्ती हुन्छ,” बीबीसीसँगको कुराकानीमा उनले भने,”अहिले सबैभन्दा ज्यादा साँझको समयमा झ्यापझ्याप बत्ती जाने गरेको छ, त्यो पनि बिनासूचना।”

ऊर्जा मन्त्रालयको हटलाइन नम्बर ११५१ मा वर्षायाम लागेपछि दैनिक झन्डै २०० जनाले बत्ती गएकोबारे गुनासो पोख्न थालेको जानकारी मन्त्रालयका कर्मचारी एकबहादुर महर्जनले दिएका छन्।

“झरी, पहिरो र चट्याङ पर्ने बेला तारदेखि ट्रान्स्फर्मरमा विभिन्न अवरोध आउँछन्। यस्तो बेलामा धेरैले फोन गर्नु स्वाभाविक हो। हामी समस्या के हो भन्ने बुझाउँछौँ। अधिकांशले बुझ्नु हुन्छ। कोही चाहिँ रिसाएर झर्कोफर्को गर्नुहुन्छ,” महर्जनले भने।

बिजुली जाँदा दियो बालेर पढ्दै

तस्बिरको क्याप्शन,
केही वर्षअघि नेपालमा प्रत्येक दिन १६ घण्टासम्म विद्युत् काटिन्थ्यो

नेपाल विद्युत् प्राधिकरणको हटलाइन ११५० भने बिहान १० देखि दिउँसो ५ बजेसम्म मात्र खुला रहन्छ।

प्राधिकरणकी कर्मचारी विमला महर्जनका अनुसार भने उक्त हटलाइनमा दैनिक २० देखि ३० सेवाग्राहीले फोन गर्छन्।

तीमध्ये केहीले बत्ती जानुको कारण सोध्छन् भने अधिकांशको गुनासो विद्युतीय तार चुँडिएको, मिटर जाँच नभएको आदि विषयमा हुन्छ।

किन झ्यापझ्याप गइरहन्छ बत्ती?
एक महिनाअघि नेपाल विद्युत् प्राधिकरणको प्रमुखका रूपमा कुलमान घिसिङ नियुक्त भएसँगै मानिसहरूले अब बत्ती जाने समस्या हल हुन्छ भन्ने आशा सामाजिक सञ्जालमार्फत् साझा गरेका थिए।

तर समस्या घट्नुको साटो बढेको भन्दै गुनासो गर्नेहरू देखिन्छन्। तीमध्ये प्रायजसोले घिसिङलाई तोकेरै प्रश्न गर्ने गरेका छन्।

घिसिङले भने कुनैकुनै बेला बत्ती जानुको कारण प्राविधिक समस्या भएको बताए।

कुलमान घिसिङ
“कहिले तार चुँडिन्छ, कहिले प्रणालीमा समस्या हुन्छ या प्राविधिक गडबडी हुनसक्छ,” घिसिङले भने,”अहिले त चट्याङ पर्नु मुख्य समस्या बनेको छ। बिजुली नपुगेर बत्ती गएको होइन।”

त्यस्तै बर्खायाममा अधिक वर्षा, बाढी, पहिरो लगायत प्रकोपका कारण पनि विद्युत् आपूर्ति साबिकको जस्तो नहुने उनले भनाइ छ।

कन्डक्टर तथा प्रसारण लाइनको स्तरोन्नति गर्ने क्रममा फीडर बन्द राख्नुपर्छ। त्यस्तै सडक विस्तारजस्ता विकास निर्माणको काम गर्दा तार सार्नुपर्छ। त्यसका लागि वितरण ट्रान्स्फर्मर नै बन्द गर्नुपर्ने भएकाले उक्त ट्रान्स्फर्मरबाट बिजुली जाने ठाउँमा बत्ती काटिने गरेको बताइन्छ।

४५६ मेगावाट जडित क्षमताको जलविद्युत् आयोजना ‘यसै साता’ सञ्चालनमा आउने, सस्तो होला विद्युत् महसुल?
कुलमान घिसिङः जसले पौने तीन करोड नेपालीको घरमा ‘निर्वाध’ उज्यालो पुर्‍याए
यस्ता गतिविधि हुने र त्यस समय बिजुली प्रभावित हुनु अगावै प्राधिकरणको वेबसाइट र गोरखापत्रमार्फत् सूचना दिइन्छ।

“सेवाग्राहीले ती सूचना पढ्नुभएको हुँदैन। त्यसैले सामाजिक सञ्जालमा लेख्ने वा हटलाइनमा फोन गरेर प्रश्न गर्ने गर्नुहुन्छ,” प्राधिकरणकी कर्मचारी विमला महर्जनले भनिन्।

घिसिङका अनुसार हाल रातिको समयमा नेपालभरि खपत हुनेभन्दा ३०० देखि ४०० मेगावाट बिजुली बढी भइरहेको छ। त्यस्तै दिउँसो समेत २०० देखि ३०० मेगावाट बिजुली बढी हुने उनको भनाइ छ। त्यसबाट विद्युत् प्राधिकरणलाई हरेक दिन करोडौँ घाटा भइरहेको उनी बताउँछन्।

नेपालबाट बिजुली भारत निर्यात
रातिको समयमा जगेडा हुने विद्युत् भारत निर्यात भइरहेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हाल नेपालका सम्पूर्ण जलविद्युत् आयोजनाहरू सक्रिय छन्।

नेपालमा बिजुलीको देशव्यापी उच्च माग करिब १५ सय मेगावाट पुग्ने गरेको बताइन्छ। चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी पनि कुल जडित क्षमता लगभग २,००० मेगावाट पुगेको छ।

योजना पूर्ण क्षमतामा सञ्चालन भएदेखि बिजुली निर्यात गर्न थालिएको हो।

ट्रान्सफर्मर
मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालका अनुसार नेपालबाट रातिको समयको बिजुली भारत पठाइन्छ।

“केही बिजुली हामीले ल्याइरहेका छौँ र नेपालमा आवश्यक नपर्ने समयको बेचिरहेका हौँ,” भेटुवालले बीबीसीसँगको कुराकानीमा भने।

के भारतले आफ्नो भूमि हुँदै नेपाललाई बाङ्ग्लादेशमा बिजुली बेच्न दिन लागेको हो
बाढीले जलविद्युत् आयोजनामा ‘ठूलो क्षति’, उत्पादन ‘रोकियो तर लोडशेडिङ भएन’
वर्षाको बेला नदीहरूमा पानीको सहत बढ्छ र बिजुली उत्पादन बढ्छ। नेपालमा बिजुली उत्पादन बढेसँगै भारतबाट आयात घटेको मन्त्रालयको दाबी छ।

निर्यातका कारण बत्ती जाने क्रम बढेको हो?
भारतलाई बिजुली पठाएका कारण बत्ती गएको प्राधिकरणका प्रमुख घिसिङ अस्वीकार गर्छन्।

“हाम्रो पावर प्लान्टमा खपत हुनेभन्दा बढी बिजुली छ। त्यसैले बत्ती जानुको कारण प्रणालीमा देखिने समस्या नै हुन्,” उनले भने।

घिसिङकै कुरामा सहमति जनाउँछन् ऊर्जा मन्त्रालयका प्रवक्ता भेटुवाल।

प्रसारण लाइन
“प्राविधिक समस्या पहिले पनि थिए। हामी सेवा र प्रणाली स्तरोन्नतिको निम्ति निरन्तर प्रयासरत छौँ। त्यसैले पनि आपूर्तिमा क्षणिक गिरावट आएको हो”, उनी भन्छन्, “अहिले वर्षाको समयमा बाढी पहिरोको जोखिमले पनि अन्य समयको तुलनामा कटौती केही बढी भएको हो।”

उनका अनुसार हालसम्म भारतसँग बिजुली निर्यातका बारेमा औपचारिक सहमति भइसकेको छैन।

‘अनलाइन बैठकका बेला आफ्ना क्यामरा बन्द गर्नुहोस्’
पञ्चेश्वरमा ठूलै प्रगति भएको दाबी, तर अझै ‘एउटा मुख्य अड्चन बाँकी’
मुसासँग जोडेर विद्युत्‌ प्राधिकरणलाई कटाक्ष, हिजोआज बत्ती किन जान्छ
“निर्यातका लागि पहल भइरहेको छ तर उताबाट प्रभावकारी जबाफ आएको छैन। यसका लागि छलफल भइरहेको छ।”

ऊर्जा मन्त्रालयका प्रवक्ताका भेटुवालका अनुसार मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणको टोली बिजुली निर्यातको विषयमा कुराकानी गर्न दिल्ली पुगेका छन्।

“अहिले अनौपचारिक रूपमा बिजुली विक्री भइरहेको छ छलफलको निचोडमा पुगेपछि मात्र औपचारिक थालनी हुनेछ,” उनले भने।

 


Last Updated on: September 11th, 2021 at 4:44 pm
५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया