शनिबार १८ मंसिर २०७८

बुटवल : रुपन्देहीको सैनामैनास्थित बाँसगढी चोकमा रातो ठूलो गेट छ। आउनेलाई स्वागत र जानेलाई धन्यवाद भनिरहेको त्यो गेट झट्ट देख्दा सामान्य नै लाग्छ।

पूर्व–पश्चिम राजमार्गमै पर्ने सो गेट हुँदै अनगिन्ती मानिसको ओहोर–दोहोर हुन्छ। बाटो हिँड्ने कसैले पनि गेटको बारेमा चियोचर्चो गर्दैनन्। तर गेट र त्यससँग जोडिएका पात्रहरूको कथा भने अस्वभाविक छ। कथा मात्र होइन, पीडा र आक्रोशको पहाड छ।

टिन र टायल जस्तै खपटाले बनाएको सानो घर। घरको आँगन देख्दा लाग्छ, कैयौं वर्षदेखि कसैको पाइलो परेको छैन। चिप्लो, लेउ लागेको आँगनले साँच्चै कसैको प्रतीक्षा गरेजस्तै लाग्छ।

घरको भित्तामा केही पुराना तस्बिर छन्, माला लगाइएका। हामी पुग्नासाथ तुल्सा पाण्डेले नाकदेखि केही तल झरेको चस्मा माथि सारेर हेरिन्। हातको इशाराले बस्न संकेत गरिन्।

चाउरिएको अनुहार, मलिन र शान्त स्वभावमा तुल्सा खाटमा पलेंटी कसिन्। केही गफिनु थियो। केही विगत कोट्याउनु थियो। तुल्सा विगतका दिनलाई मधुर स्वरमा बेलिबिस्तार लगाउन थालिन्। आँसुका धारा बगेका आँखा पुछ्दै विगतका कहानी सुनाउन थालिन्।

घर अगाडिको मैरोमा बिहान पानी चढाउनु र घरभित्र रहेका फोटाहरूलाई पूजा गर्नु उमेरले ७१ वर्ष लागेकी तुल्साको दैनिकी बनेको छ। एउटा घर अनि एक्लो शरीर तुल्साका लागि अहिले ‘सर्वथोक’ हो। तातोपानी तताएर समेत अरूले नै दिनुपर्ने उमेरमा तुल्सा ‘एक्लो जिन्दगी’ काटिरहेकी छिन्, त्यो पनि १८ वर्षदेखि।

नेपालमा १० वर्ष सशस्त्र द्वन्द्व भयो। १७ मानिसले हजारले ज्यान गुमाए। हजारौं अंगभंग भए। कतिका सन्तान बेपत्ता पारिए। द्वन्द्वपछि विस्तृत शान्ति सम्झौता भयो। देशमा लोकतन्त्र, गणतन्त्र आयो। तीन तहका सरकार बने। देश अहिले समृद्धिको यात्रामा छ भनिन्छ।

तर, त्यही द्वन्द्वका कारण अहिलेसम्म पनि धेरैका आँखा ओभाना छैनन्। तुल्सा त्यही द्वन्द्वकी एक ‘साक्षी’ हुन् जसलाई युद्धको पीडाले भन्दा त्यसपछिका दिनहरूले बढी पीडा दिएको छ।

२०४५ सालमा गुल्मीको बाँझखर्कबाट तराई झरेकी तुल्साका श्रीमान् झविन्द्रको २०४४ सालमा गुल्मीमै हृदयाघातबाट मृत्यु भयो। छोरा दुर्गा र युवराजले आमालाई तराईमा झारे।

तराई झर्नासाथ देशमा द्वन्द्व सुरु भयो। द्वन्द्वकै समयमा तुल्साका कान्छा छोरा युवराजलाई गाउँकै साथीले माओवादीमा लाग्न प्रेरित गरे। माओवादी युद्धमा होमिएका कान्छा छोरा युवराज पाण्डे २०५८ सालमा गुल्मीको वामिटक्सारमा सुरक्षाकर्मीसँगको भिडन्तमा घाइते भए।

‘घाइते भएपछि उपचार गर्न भन्दै हिँडेपछि पाँच वर्षसम्म परिवारमा सम्पर्क भएन। पछि निको भएपछि मात्र घर आयो,’ तुल्साले ती दिन सम्झँदै भनिन्, ‘उपचारपछि लुम्बिनी क्षेत्रको इन्चार्ज भयो। तर त्यसको केही दिनमै सुन्डियाबाट युवराज १९ असोज २०६० सालमा पुलिसको गिरफ्तारीमा प¥यो।’

त्यसपछि युवराजको सास वा लास फेला परेको छैन। कान्छो छोरा बेपत्ता भएपछि घरमै सेनाका जवानले बुट बझार्दै दुःख दिन थाले। छोरा बेपत्ता भएबापत सरकारले तुल्सालाई १० लाख रुपैयाँ पटक पटक गरी दियो पनि। उनी भन्छिन्, ‘छोराको जीवनको मूल्य पैसासँग के तुलना गर्नु। त्यही भएर त छोराका सम्झनामा यो गेट मैले नै बनाएकी हुँ।’

बेपत्ता भएको १८ वर्ष पुगिसक्दा पनि तुल्साले छोरा आउने आस अझै मारेकी छैनन्। ‘कतै काजकिरिया गरेको मान्छे फर्किएर आएको सुनेकी छु। मेरो छोरा पनि फर्किने आशा अझै छ,’ उनले भनिन्।

कान्छो छोरा बेपत्ता भएपछि तुल्सा शिथिल बन्दै गइन्। सेनाले झन् दुःख दिन थाल्यो। भाइ बेपत्ता भएको प्रतिशोधमा दाजु दुर्गा माओवादीमा लागे। तर युवराज बेपत्ता भएको पाँच महिनामै तुल्साका जेठा छोरा दुर्गा पाण्डे पनि नेपाली सेनाबाट मारिए। ‘अरू कसले हो, सुराकी लगाइदिएको भनेर सेनालाई भनेछन्। अनि सेनाले गोली हानेर मारेको हो,’ तुल्साले भनिन्।

सैनामैनाकै सेरुवामा १७ फागुन २०६० सालमा जेठो छोरा पनि गुमाएकी तुल्सा त्यसपछि एक्लो बनिन्। दुई सन्तान द्वन्द्वमा गुमाएकी उनको घर अहिले सुनसान छ। द्वन्द्वमा हतियार उठाएका प्रचण्ड पटक–पटक सत्तामा पुगे पनि सहिद तथा बेपत्ता परिवारहरूलाई केही सुविधा नभएको गुनासो तुल्साको छ।

‘एउटा छोरा गुम्यो, एउटा अहिले पनि बेपत्ता छ। देशको परिवर्तनका लागि ज्यान त्याग गरेका मेरा छोराहरूको रगतको महत्त्व प्रचण्डले बुझेनन्। स्वार्थी बने। हामीलाई पनि काम र बुढेसकालमा केही रकम दिन पहल गर्नुपर्थ्यो,’ उनले भनिन्।

सरकारले द्वन्द्वपीडितलाई बेवास्ता गरेको उनको गुनासो छ। घाइतेको उपचारमा सरकारले चासो नदिएको तुल्साले बताइन्। ‘त्यो बेला युद्ध चलाएका प्रचण्ड सरकारमा धेरै पटक पुगे। हाम्रा आँसुको उनलाई सराप लाग्नेछ। हाम्रा आँसुले एक दिन उनलाई पोल्नेछ,’ उनले आक्रोश पोखिन्।

अभाव र शोकका बीच सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका छोराको सम्झनामा तुल्साले कल्याणकारी काम गरिरहेकी छन्। बाँसगढीबाट ३ सय मिटर अगाडि उनले तीन लाख खर्च गरेर छोराको नाममा ‘सहिद तथा बेपत्ता स्मृति गेट’ बनाएकी हुन्।

संयोग भनौं या अवसर। दुई सन्तान तत्कालीन सेनाकै कारण गुमाएकी तुल्साकी छोरी विष्णुको बिहे भने नेपाल आर्मीसँगै भयो। भालुवाङका तत्कालीन शाही नेपाली सेनाका हवल्दार प्रेमबहादुर खत्रीसँग बिहे गरेकी विष्णुले श्रीमानबाट राम्रो साथ पाइनन्।

दुई छोराको जन्म भए पनि खत्रीले सेनामै रहँदा दोस्रो बिहे गरे। त्यसपछि उनी एक्लै भइन्। खत्रीले त्यही महिलाका कारण २०६० सालमा जागिर समेत छाडे।

विष्णु अहिले आमासँग छिन्। दुई नाति पनि तुल्साकै साथमा छन्। ‘एक पटक बिहे गरेपछि प्रेमबहादुर खत्री घरमा आएका थिए। तर सामान लिन भन्दै बजार गएका उनी अहिलेसम्म आएका छैनन्।’ [][]


Last Updated on: September 11th, 2021 at 6:40 pm
१२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया