बुधबार २२ मंसिर २०७८

उत्तर कोरियाले आफ्नो आक्रामक व्यवहार जारी राखेको छ। उसले बुधबार बिहानै दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र जापान सागरमा प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ।

उत्तर कोरियाले एक हप्ताकै हन्तरालमा क्षेप्यास्त्र परीक्षण गरेको यो दोस्रोपटक हो। यसअघि गत शनिबार उत्तर कोरियाले १५ सय किलोमिटरको दुरी पार गरेर मार हान्नसक्ने शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो।

दक्षिण कोरियाको जोइन्ट चिफ्स अफ स्टाफ जेसीएसले उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेका जानकारी दिएको हो। बीबीसीका अनुसार जापानले पनि उत्तरले क्षेप्यास्त्र परीक्षण गरेको जनाएको छ।

जापानका प्रधानमन्त्री योशिहिदे सुगाले उक्त क्षेप्यास्त्र प्ररीक्षणलाई ‘अपमानजनक’ भन्दै यस कार्यले सो क्षेत्रको शान्ति र सुरक्षालाई खतरा पुग्ने बताएका छन्।

क्रुज क्षेप्यास्त्र परीक्षणमा संयुक्त राष्ट्रसंघले प्रतिबन्ध लगाएको छैन। तर ब्यालेस्टिक क्षेप्यास्त्रमा आणविक हतियार जडान गर्न सकिने र यो लामो दुरीमा पुग्नसक्ने भएकाले राष्ट्रसंघले यस्ता हतियार परीक्षणमा प्रतिबन्ध लगाएको छ। यद्यपी उत्तरले प्रतिबन्ध बेवास्ता गर्दै क्षेप्यास्त्र परीक्षण कार्यक्रमलाई निरन्तरता दिइरहेको छ।

उत्तर कोरियालाई शान्तिपूर्ण छलफलमा ल्याउन जापान, दक्षिण कोरिया र अमेरिका लागि परेका बेला उत्तरले क्षेप्यास्त्र प्रहार गरेको हो। यी राष्ट्रहरुले उत्तर कोरियालाई मानवीय सहायता दिने विषयमा पनि छलफल गरिरहेका छन्। कोरोना भाइरस तथा प्राकृतिक विपत्तिका कारण हाल उत्तर कोरियामा खाद्य संकट उत्पन्न भएको छ।

यसअघि सन् २०१८ र २०१९ मा तत्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तरका सर्वोच्च नेता किम जोङ उनबीच दुईपटक क्षेप्यास्त्र निशस्त्रीकरणको विषयमा शिखर वार्ता भएको थियो। उत्तरमाथिका प्रतिबन्धहरु पूर्ण रुपमा नहटाउने ट्रम्पको अडानपछि छलफल निष्कर्ष विहिन भएको थियो।

अन्तर्राष्ट्रियस्तरमा लागेका प्रतिबन्धहरु पूर्ण रुपमा हटेमा आफूले क्षेप्यास्त्र परीक्षणका कार्यक्रम सँधैको लागि बन्द गर्ने उत्तर कोरियाको भनाइ छ। बीबीसीको सहयोगमा

 


Last Updated on: September 15th, 2021 at 7:12 pm
१४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया