शनिबार १८ मंसिर २०७८

काठमाडौं । प्रतिनिधिसभा सांसद शान्ता चौधरीले कक्षा १२ को परीक्षा दिँदै छिन् । मध्यबानेश्वरस्थित रत्नराज्य लक्ष्मी माविमा कक्षा १२ मा अध्ययनरत उनले होम सेन्टरमै परीक्षा दिएकी छिन्।

कक्षा १२ को परीक्षा आजदेखि शुरु भएको छ । गत साउन ३१ मा हुनुपर्ने परीक्षा कोरोना महामारीका कारण स्थगित भएपछि आजबाट पुनः शुरु भएको हो ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा अधिकांश विद्यार्थीले खोप लगाएपछि शुरु गरिएको जनाएको छ । परीक्षा असोज ८ गतेसम्म संचालन हुनेछ ।

बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले अधिकांश विद्यार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका र सङ्क्रमण पनि बिस्तारै नियन्त्रण हुने अनुमान गरी परीक्षा सञ्चालन गर्न लागिएको जानकारी दिए ।

यस पटक तीन लाख ७४ हजार विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुने जनाइएको छ । परीक्षामा विद्यार्थीलाई होम सेन्टर को व्यवस्था मिलाइएको छ ।

विद्यार्थीलाई अरू विद्यालयमा परीक्षा दिन जानका लागि असुविधा हुन सक्ने भएकाले होम सेन्टरको सुविधा दिइएको हो । यस पटक चार हजार ३१५ वटा परीक्षा केन्द्र तय गरिएको छ ।


Last Updated on: September 16th, 2021 at 7:10 pm
१८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया