सोमबार २० मंसिर २०७८

बुद्धभूमि नेपाल हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्र नुवाकोटका स्थानीयका लागि विक्री खुला गरेको साधरण शेयर (आइपीओ) बाँडफाँड गरेको छ ।

विहीबार आयोजना प्रभावितका लागि खुल्ला भएको ४ लाख कित्ता सर्वसाधारण आइपीओ बाँडफाँड गरिएको विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडले जानकारी दिएको छ ।

४० हजार जनालाई समान १० कित्ताको लागि सेयर बाँडफाँड गरिएको छ । कम्पनीले श्रावण ३२ गतेदेखि भदौ १५ गतेसम्म आयोजना प्रभावित नुवाकोट जिल्लाभरिका स्थानीय बासिन्दाहरुका जारी गरिएको सेयर बाँडफाँड गरिएको हो ।

आयोजनाले प्रभावित नुवाकोटका स्थानियवासीलाई जारी गरेको सेयरमा ४६ हजार ८५ जनाले आवेदन दिएका थिए । आवेदन दिएका मध्ये करिव ६ हजार ८५ जनाको हात खाली भएको छ । कम्पनीको आईपीओमा २८ करोड १९ लाख ६० हजार ५ सय बराबरको आवेदन परेको थियो ।

कम्पनीले नुवाकोट जिल्लाभरिका बासिन्दाका लागि प्रतिशेयर १०० अंकित मूल्यका कुल ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो । आईपीओमा न्यूनत्तम १० कित्ता र अधिकत्तम ५० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको थियो ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । कम्पनीले हाल नुवाकोटमा ४.९९ मेगावाटको तल्लो ताँदी खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट सम्बन्धि कम्पनीको र विक्री प्रबन्धकको वेबसाइटबाट हेर्न सकिनेछ । लगानीकर्ताले बुद्धभूमि नेपाल हाइड्रोपावरको वेबसाइट मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै नतिजा हेर्न सक्नेछन् ।

यसैगरी, विक्री प्रबन्धक सिभिल क्यापिटलको वेबसाइट गएर १६ अंकको डिम्याट नम्बर हालेपछि नतिजा हेर्न पाइनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।


Last Updated on: September 17th, 2021 at 12:05 pm
१५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया