आइतबार १९ मंसिर २०७८

चीनको अहिलेसम्मको सबैभन्दा लामो मानवसहितको अन्तरिक्ष अभियान सम्पन्न गरेर तीन अन्तरिक्षयात्री पृथ्वी फर्किएका छन्। उनीहरू पृथ्वीभन्दा ३८० किलोमिटरमाथि अवस्थित चीनले निर्माण गरेको अन्तरिक्ष केन्द्रको टियाहे मोड्यूलमा ९० दिन बसेका थिए।

चिनियाँ अन्तरिक्षयात्रीहरू बिहीवार शन्जो-१२ अन्तरिक्षयान चढेर अन्तरिक्ष केन्द्रबाट निस्किएका थिए। यो सफल अभियानले अन्तरिक्षमा चीनको आत्मविश्वास र क्षमता बढेको देखाउँछ।

न्ये खाइशङ, ल्यु बोमिङ र टाङ हङ्बोले शुक्रवार स्थानीय समयानुसार दिउँसो १:३५ भित्री मंगोलियाको गोबी मरुभूमिमा अवतरण गरेका छन्। सोही मरुभूमिबाट गत जुन १७ मा उनीहरूको अन्तरिक्षयान उडेको थियो।पाँच वर्षपछि अन्तरिक्षमा यात्री पठाएको चीनले लामो समयका लागि मानव पठाएको यो पहिलो पटक थियो।

अन्तरिक्ष केन्द्रको बसाइका बेला चिनियाँ अन्तरिक्षयात्रीहरूले पृथ्वीमा डेटा पठाउने प्रयोग र घण्टौँसम्म ‘अन्तरिक्षमा हिँड्ने’ काम गरेको चीनबाट प्रकाशित ग्लोबल टाइम्सले जनाएको छ।

उक्त अन्तरिक्ष केन्द्रमा अन्तरिक्षयात्रीहरू बस्ने मुख्य खण्डमा प्रत्येक व्यक्तिका लागि छुट्टै ठाउँ र शारीरिक अभ्यास गर्न विशेष खालको ट्रेडमिल र बाइसाइकलयुक्त व्यायामशाला भएको जानकारी ग्लोबल टाइम्सले दिएको छ।

 


Last Updated on: September 18th, 2021 at 4:29 pm
११३ पटक हेरिएको

तपाईको प्रतिक्रिया