शुक्रबार १७ मंसिर २०७८

हामी एम्बुलेन्स देख्दा बित्तिकै बिरामीको कल्पना गर्दछौं । अर्थात् पक्कै पनि त्यो भित्र कोही बिरामी छन् भन्ने आंकलन गर्छौै । कतिपयले त गुडिरहेको एम्बुलेन्सलाई दर्शन टक्राउँदै स्वास्थ्य लाभको कामना गर्दछन् । तर, शनिबार बुटवलमा भने एम्बुलेन्स, एम्बुलेन्समा भएका बिरामीप्रति फरक दृश्य देखियो अर्थात् यो पं’क्तिकारलाई फरक अनुभूति भयो ।

शनिबार दिउँसो बुटवल–८ मा अवस्थित सिद्धेश्वर खेल मैदानमा नेपाली काँग्रेस बुटवल उपमहानगरको नेतृत्व चयनका लागि चुनावी चहल–पहल थियो । नेतृत्व चयनका लागि प्रतिनिधि जितेर आएका मतदाताहरु गफिँदै ओहोर–दोहोर गर्नुका साथै खुला चौरमा चुनावी परिणामको समेत आँकलन गर्दै पलेटी कसिरहेका थिए ।

बिहान ११ बजेदेखि मतदान हुने भनेर बोलाइएका प्रतिनिधिहरु समयमै मतदान सुरु नहुँदा दिउँसो सभा १ बजेको चर्को घाममा पनि पर्खि रहेका थिए । सोही भिडको एक छेउमा लु १ च ५२४० नम्बरको एम्बुलेन्स खडा हुन आउँछ । उक्त एम्बुलेन्सले धेरैको ध्यान केन्द्रित गर्यो, सञ्चारकर्मीहरु पनि एम्बुलेन्सको फोटो खिच्दै अड्कलबाजी गर्न लागे । उनीहरुको जे अड्कलबाजी थियो विषय केही फरक थियो ।

धेरैको आँकलन काँग्रेसको नेतृत्व चयनका लागि एम्बुलेन्समा प्रतिनिधि ल्याइएको छ भन्ने थियो । वा भैपरी आउने स्वास्थ्य समस्या तथा उपचारका लागि पूर्वतयारीको पनि हुनसक्ने आंकलन थियो । तर, एम्बुलेन्स भित्र गुल्मीका ९४ वर्षिय वृद्ध थिए । उनी उपचारका लागि काठमाण्डौं जान हेलिकप्टरको पर्खाइमा थिए ।

समय बिताउन कठिन भइरहेका बेला मतदान गर्न आएका कांग्रेस प्रतिनिधिहरु र अन्यलाई हेलिकोप्टर आउने भएपछि समय बिताउने गतिलो अवसर जुर्यो । एम्बुलेन्स आएको केहि समयपछि करिब १ बजे र २० मिनेटको समयमा बुटवलको आकाशमा हेलिकप्टर घुम्न थाल्यो, उक्त हेलिकोप्टर बिस्तारै सिद्देश्वर मैदानमा खुट्टा टेकाउन झर्दै गर्दा सबैले मोवाइल निकालेर तस्विर तथा विभिन्न कोणमा टिकटकका लागि भिडियो लिनेको घुइँचो लाग्यो ।

सिद्धेश्वर मैदानमा हेलिकोप्टर उभिएसँगै सेल्फी लिने र टिकटक बनाउनेहरुले घेरियो । बिरामीका आफन्तहरु भने एम्बुलेन्समा रहेका ९४ वर्षिय वृद्धलाई कसरी हेलिकप्टरमा लगेर राख्ने हो मेसो मिलाउँदै थिए । सेल्फी र टिकटक बनाउने भिडले बिरामीलाई हेलिकप्टरसम्म पुर्याउन के–कति असर परेको छ, कसैको ध्यान त्यसतर्फ देखिएको थिएन ।

करिब २० मिनेटको बसाईपछि बिरामीलाई लिएर उक्त हेलिकोप्टरले बुटवलको जमिन छाड्दै गर्दासमेत उक्त भिडले सेल्फि र टिकटकको काम सकेको थिएन । बुटवलको आकाशबाट टाढिदै गएको हेलिकोप्टरलाई अन्तिमसम्म ध्यान लगाएर हेरेको भिडमा कतीले ती वृद्ध बिरामीका बारेमा सोँचेका थिए होला !

यो अनुत्तरित प्रश्ननै रहयो । यसरी प्रविधिको विकासले केही मिनेटमै बुटवलका बिरामी काठमाण्डौं पुगेर उपचार गराउन पाउनु सकारात्मक भए पनि केही प्रविधिले मानवतालाई पनि भुल्ने गराएको हो की ?


Last Updated on: September 26th, 2021 at 10:31 am
२१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया