बिहिबार ११ कार्तिक २०७८

उदयपुर र ताप्लेजुङमा आइतबार राति भएको सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार उदयपुर बेलका नगरपालिका–३ त्रिवेणी चोकमा स्कुटरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।

त्रिवेणी चोकस्थित भित्री सडकखण्डमा स्कुटरको ठक्करबाट सोही स्थानका ७० वर्षीय हिरण्यबहादुर बस्नेतको मृत्यु भएको हो । आइतबार बेलुका साढे ७ बजे उत्तरबाट दक्षिणतर्फ गईरहेको बा.६६ प ६०५३ नम्बरको स्कुटरले बस्नेतलाइ ठक्कर दिएको थियो ।

स्कुटरको ठक्करबाट घाइते भएका पैदल यात्री बस्नेतको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा राति साढे ११ बजे मृत्यु भएको हो ।

स्कुटी र चालक सोही स्थानका २६ वर्षीय एकराज बिक इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको नियन्त्रणमा रहेको छ । प्रहरीका अनुसार चालक विकसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) पनि नभएको पाइएको छ ।

मादक पदार्थ सेवन गरेर तीव्र गतिमा कुदाएको स्कुटरका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ ।

 

यस्तै, ताप्लेजुङको श्रीजङ्गा गाउँपालिकामा ट्रयाक्टरको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ । श्रीजङ्गा–४ तेल्लोकमा मृत्यु हुनेमा सोही स्थानका ४५ वर्षीय ईन्द्र भट्टराई रहेका छन् ।

हिजो बेलुका ७ बजे पूर्वबाट पश्चिम आउँदै गरेको मे१त ६३९९० नम्बरको ट्याक्टरले पदैल यात्री भट्टराईलाई ठक्कर दिएको थियो । ट्र्याक्टरको ठक्करबाट उनको घटनास्थलमानै मृत्यु भएको प्रदेश १ ट्राफिक कार्यालयले जनाएको छ ।

प्रहरीले ट्र्याक्टर र ट्र्याक्टर चालक सन्जराज लिम्बू इलाका प्रहरी कार्यालय तेल्लोकको नियन्त्रणमा रहेको छ ।

 


Last Updated on: September 27th, 2021 at 12:36 pm
८० पटक हेरिएको

तपाईको प्रतिक्रिया