सोमबार २० मंसिर २०७८

इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपियन च्याम्पियन्स लिगमा पहिलो जित निकालेको छ । बुधबार राति घरेलु मैदानमा समूह चरणका दोस्रो खेल खेलेको युनाइटेडले स्पेनिस क्लब भिल्लारियलमाथि २–१ गोलको जित निकालेको हो ।

ओल्ड ट्राफोर्डमा पाहुना टोली भिल्लारियलले बनाएको अग्रता उल्टाउँदै युनाइटेडले जित निकालेको हो । युनाइटेडलाई जिताउन एलेक्स टेल्लेस र क्रिस्टियानो रोनाल्डोले एक–एक गोल गरे । भिल्लारियलका पाको अल्कासरले एक गोल गरे ।

अल्कासरले पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५३औँ मिनेटमा गोल गर्दै भिल्लारियललाई सुरुआती अग्रता दिलाएका थिए ।

टेल्लेसले ६०औँ मिनेटमा गोल गर्दै युनाइटेडलाई बराबरीमा फर्काए । खेलको इन्ज्युरी समयमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई २–१ गोलको जित दिलाए ।

यससँगै रोनाल्डोले नयाँ कीर्तिमान बनाए । उनी च्याम्पियन्स लिगमा सर्वाधिक धेरै खेल खेल्ने खेलाडी बने । च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता रोनाल्डोले १७८ खेल खेल्दै रियल म्याड्रिडका पूर्वगोलरक्षक इकर क्यासिल्लासलाई उछिने । क्यासिल्लासले च्याम्पियन्स लिगमा १७७ खेल खेलेका छन् ।

यता, जितसँगै युनाइटेड समूह ‘एफ’को तेस्रो स्थानमा उक्लियो । युनाइटेडले तीन अङ्क जोड्यो । उसले पहिलो खेलमा योङ्ग ब्वाइजसँग पराजय बेहोरेको थियो । भिल्लारियलसँग भने एक अङ्क छ ।

 


Last Updated on: September 30th, 2021 at 12:30 pm
३२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया