शुक्रबार १२ आश्विन २०८०

सन् २००३ मा डोलराज गैरे आफ्नो सोख पूरा गर्ने र कमाइ बढाउन भारतको भोपाल आएका थिए। भोपाल आएर उनले साइकलमा सुप, स्यान्डविच र बिर्यानी बेच्न सुरु गरे। आज तिनै डोलराज भोपाल सहरको सबैभन्दा प्रसिद्ध फास्ट फुड कर्नर ‘सागर गैरे’को मालिक बनेका छन्। यो सहरमा ‘सागर गैरे’ का १७ वटा आउटलेट छन्।

भनिन्छ, यदि कुनै व्यक्तिले आफ्नो सीपलाई स्वीकारेर निष्कपटतासाथ काम गर्‍यो भने उसलाई सफल हुन केहीले रोक्न सक्दैन।

डोलराज गैरेलाई पनि त्यस्तै भयो। सन् २००३ मा उनले सुप बेचेर खाद्य उद्योगमा काम गर्न थालेका थिए। त्यतिबेला उनीसँग कुनै पसल वा पुँजी थिएन। द बेटर इन्डियासँग डोलराजले भनेका छन्, ‘खाना पकाउनु मेरो सोख हो, म घरमा सुप, बिर्यानी र स्यान्डविच बनाउने गर्थे र अफिसबाट फर्किएपछि फुर्सदमा साइकलमा ती खानेकुरा बेच्थेँ। आफन्तहरूले पनि मलाई जिस्काए तर भोपालका मानिसलाई मेरो हातको स्वाद मन पर्‍यो। यही प्रेमले आज म यहाँ छु ।’

जागिरबाट सुरु भयो व्यवसाय

डोलराजको मूलघर नेपाल हो। उनी सामान्य किसानका छोरा हुन्। उनका धेरै आफन्त नातेदार भारतमा बस्थे। तिनै आफन्त नातेदारको आशमा उनी सन् १९८० मा कामको खोजीमा भारत आएका थिए। ८ कक्षासम्म अध्ययन गरेका डोलराजले सुरुमा दिल्लीमा काम गरे।पछि उनले मध्यप्रदेश पर्यटनमा सरकारी जागिर पनि पाए। सरकारी जागिर खान थालेपछि उनको परिवारले ठाने कि अब डोलराज व्यवस्थित भयो। तर डोलराजको योजना अर्को थियो। घरपरिवार र आफन्तको वास्ता नगरी उनी आफ्नो लयमा लागे। त्यतिबेला उनको जागिर करिब ३ बजे सकिन्थ्यो। यही समयलाई किन सदुपयोग नगर्ने भनेर साइकलमा ट्याङ्की बाँधेर सुप बेच्न थाले। डोलराजको सुप यति चर्चित भयो कि उनी सहरभरि ‘साइँली सुपवाल’ भनेर चिनिन थाले। तर यो नाम जोगाइराख्न उनीहरू कडा परिश्रम गर्थे।

करिब एक वर्षपछि उनले जागिर छोडे र एउटा सानो कोठा भाडामा लिए। उनलाई पहिलो पसल किन्न पाँच वर्ष लाग्यो। उनले भोपाल बजारको १० नम्बर पसल किने। यही १६० वर्गफुटको पसलबाट तिनीहरूको प्रगति सुरु भयो। यही सानो पसलमा अहिले पनि १६ जना मानिस काम गर्छन्।

स्वादमा एकरूपता

भोपालको यो फास्ट फुड रेस्टुरेन्टको मेनुमा सबै प्रकारका खाना पाइन्छ। तर यहाँका स्यान्डविच र सुप उपभोक्ताले सबैभन्दा बढी मन पराउँछन्। डोलराज भन्छन्, ‘हामी हरेक परिकारमा आफ्नै मसला प्रयोग गर्छौं। चाहे स्यानडविचका लागि मेयोनेज होस् वा चाउचाउको मसला। त्यसैकारण मानिसहरूले यहाँ पाउनेजस्तो स्वाद अन्त पाउँदैनन्।’

उनीहरूले सरसफाइ र गुणस्तरमा विशेष ख्याल राखेका छन्। दुई वर्षअघि उनले कम्पनीको रूपमा ‘सागर गैरे’ दर्ता गराएका थिए। त्यसपछि यसका थुप्रै फ्रेन्चाइजहरू पनि खुलेका छन्। भोपालमा १७ वटा आउटलेट छन् जहाँ उनी समयसमयमा रेखदेख गर्न पुग्छन्।सबै आउटलेटमा प्रयोग हुने मसला एकै प्रकारका छन्। चाँडै छतरपुर, सागर र इन्दुरेमा पनि आउटलेट खोल्ने उनको तयारी छ।

बर्गरलाई टक्कर दिने लक्ष्य

उनका अनुसार भोपालबाहेक अब लखनउ र मुम्बईमा पनि ‘सागर गैरे’ को फ्रेन्चाइज खोल्ने बारेमा छलफल भइरहेको छ। उनका छोरा सागर आफ्नो ब्रान्ड देशैभर फैलाउन बाबुसँगै मिलेर काम गरिरहेका छन्। ‘भारतका सबैजसो सहरमा विदेशी ब्रान्ड बर्गरको आउटलेट छन्, यस्तैगरी हामी किन गर्न सक्दैनौं रु नाफा मात्रै कमाउने हाम्रो सिद्धान्त कहिल्यै नभए। सकेसम्म धेरै मानिसलाई मद्दत गर्न चाहन्छौं।’ पुराना दिन सम्झँदै डोलराज भन्छन्, ‘म आफ्नै हातले स्याण्डविच बनाएर मान्छेलाई बेचेको सम्झन्छु। त्यसले मलाई साँच्चै आनन्द दिन्छ।’

डोलराजको मेहनत र आफूप्रतिको विश्वास साँच्चिकै उनको सफलताका कारण हुन्। तथापि, यसरी आफूले तयार पारेको स्वाद हरभरिकाले मन पराउँछन् भनेर उनले कहिल्यै सोचेका थिएनन्।

 

 


Last Updated on: October 1st, 2021 at 11:45 am
२०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया