मंगलबार १४ चैत्र २०७९

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट भेडा च्याङ्ग्रा नेपाल भित्रिएका छन् । दसैँ नजिकिएसँगै रसुवागढी नाका हुँदै भेडा च्याङ्ग्रा नेपाल भित्रिएका हुन् ।

बिहीबार चीनबाट एक सय ७० वटा भेडा च्याङ्ग्रा रसुवागढी नाका हुँदै नेपाल भित्रिएको व्यापारी दिवाकर न्यौपानेले जानकारी दिए । दुई सय भेडा च्याङ्ग्राको माग गरिए पनि थोरै सङ्ख्यामा नेपाल भित्रिएको उनले बताए । ‘चीनतर्फ सम्पर्क राखेर भेडा च्याङ्ग्रा ल्याइदिन माग गरेका थियौँ, रसुवागढी नाकासम्म उतैबाट ल्याइदिनुभयो, भेडा च्याङ्ग्राको आज (शुक्रवार) भन्सार गछौँ, उनले भने ।’

विगतका वर्षभन्दा यो वर्ष भेडा च्याङ्ग्राको मूल्य महँगो परेको न्यौपानेले बताए । गत वर्षको तुलनामा यो वर्ष चीनमै तीन हजारदेखि तीन हजार पाँच सय सम्म बढी मूल्य परेको उनले बताए । नेपाल भित्रिएको प्रतिभेडा च्याङ्ग्राको मूल्य २८ हजारदेखि ३२ हजारसम्म मूल्य पर्ने उनले बताए । ‘गत वर्ष भन्दा यो वर्ष महँगो परेको छ, पहिला १२-१३ सय प्रतिकिलो पर्थ्यो भने अहिले १७-१८ सय पर्ने देखिएको छ, उनले भने ।’

चीनबाट यो बाहेक अरू भेडा च्याङ्ग्रा नआउने उनले बताए । ‘नाका बन्द छ, पहिला जस्तो हामी आफै जान पाएका छैनौँ, फोन सम्पर्कको भरमा निकासी गर्नुपरेको छ,’ उनले भने, ‘माग गरिएका अन्य सामान त आएको छैन भने यो ल्याउन पनि धेरै समस्या भयो ।’ तिब्बतबाट प्रत्येक वर्ष भेडा च्याङ्ग्रा आयात हुँदै आएको छ ।

कोभिड-१९ सुरु हुनु पूर्व नेपाली व्यापारीले केरुङसम्म पुगेर भेडा च्याङ्ग्रा आयात गर्ने गरेका थिए । केरुङसम्म त्यहाँकै व्यापारीले ल्याउने गरेका थिए । नेपाली व्यापारी भेडा च्याङ्ग्रा लिन २४ किलोमिटर टाढासम्म पुग्ने गरेका थिए ।

पछिल्लो समय बढी मूल्य पर्ने र झन्झटिलो भएकाले आयातमा कमी आएको व्यापारी बताउँछन् । २०७० सालमा दुई सय दुई, २०७१ मा एक सय ८० र २०७३ मा दुई सय ५० वटा र २०७४ सालमा ५५ वटा तथा २०७५ मा चार सय ७० वटा, २०७६ मा दुई सय ९० वटा भेडा च्याङ्ग्रा आयात भएको तथ्याङ्क छ । २०७० सालअघि यो नाकाबाट पाँच हजारदेखि १० हजारसम्म भेडा च्याङ्ग्रा आयात हुने गरेको थियो ।


Last Updated on: October 1st, 2021 at 12:58 pm
५०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया