
सुनसरी र सप्तरी क्षेत्रमा आतङ्क मच्चाउदै आएको मकुना हात्ती मृत अवस्थामा भेटिएको छ । सुनसरीको कोसी गाउँपालिका–३ स्थित कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा आइतबार मकुना जङ्गली हात्ती मृत फेला परेको हो ।
हात्तीसार उत्तरपट्टि अक्वा रिसोर्टदेखि तीन सय मिटर उत्तर, बाँधको पूर्वपट्टी जङ्गलमा हात्ती मृत भेटिएको संरक्षण कार्यकर्ता राजकुमार सिंहले बताए । कोसीटप्पु वन्यजन्तु आरक्षको नजिकैका गाउँ, धान तथा उखु खेतमा बिजुलीको नाङ्गो तार जोडिएकाले करेन्ट लागेर मृत्यु भएको अनुमान गरिएको छ ।
विगत केही वर्षयता दर्जनौं व्यक्तिको ज्यान लिएको उक्त मकुना हात्तीलाई स्थानीयले ‘ज्यानमारा’ उपनाम दिएका छन् । हात्तीको अन्य कुनै भागमा चोटपटक नभएको जनाउँदै करेन्टकै कारण मरेको हुनसक्ने आरक्षका वार्डेन अधिकृत अशोककुमार रामले जनाए ।
उनका अनुसार हात्तीको पोस्टमार्टम गर्न स्वास्थ्यकर्मीको टोली घटनास्थलमा पुगेको जानकारी दिए । उनका अनुसार स्थानीयले बाली जोगाउन स्थानीयले खेतबारीमा राखेको नाङ्गो तारमा लागेर हात्तीको मृत्यु भएको हो । बिजुलीको करेन्ट लागेरै मध्यवर्ती क्षेत्रमा छवटा हात्तीको मृत्यु भएको उनले बताए ।
सुनसरीको चतरा, प्रकाशपुर, कुशाहा, सप्तरीको कञ्चनपुर, खडक नगरपालिकामा करेन्ट लागेर हात्तीको मृत्यु भएको हो । मृत हात्तीलाई कानुनी प्रक्रिया पूरा गरेर मरेकै स्थानमा खाल्डो खनेर गाडिने वार्डेन रामले बताए । मध्यवर्ती क्षेत्रमा आतङ्क मच्चाएको उक्त माकुना हात्तीको उत्तेजना शान्त पार्न दुई पटक डार्ट गरिएको थियो ।
काठमाडौं महानगरपालिका ३ की तनिसी चन्दको मुद्दामा न्यायाधीश दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले आमाको मात्र नाम उल्लेख गरी नागरिकता पाउने आदेश जारी गरेको हो।
आमा र बाबुबीच २०६५ सालमै सम्बन्ध बिच्छेद भएको र बाबुले छोरीप्रति गर्नुपर्ने व्यवहार, शिक्षादीक्षा, लालनपालन सम्पूर्ण व्यवहार नगरेको, आमा एक्लैले गरेको, आफ्नो जीवनकालको १८ वर्ष पार गर्दा बाबुलाई नदेखेको भन्दै तनिसीले आमाको नाम मात्र उल्लेख गरेर नागरिकता माग गर्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन्।
१२ कक्षा उत्तीर्ण गरेर उच्चशिक्षा अध्ययनका लागि अमेरिकाको सिकागोस्थित डिपोल युनिभर्सिटिमा ६० प्रतिशत छात्रवृत्ति पाएर भर्ना गर्नका लागि राहदानी आवश्यक भएको र राहदानी बनाउन चाहिने नागरिकता आमाको नामबाट बनाउन खोज्दा जिल्ला प्रशासन कार्यालय काठमाडौंले दिन नमिल्ने भन्दै फर्काइदिएपछि तनिसीले सर्वोच्चको ढोका ढक्ढक्याएकी थिइन्।
हिजो शुक्रबार फैसला सुनाउँदै सर्वोच्चले परमादेश गरेको छ, ‘तनिसी चन्दका बाबु र आमा दुवै नेपाली नागरिक रही दुवैबीच सम्बन्धबिच्छेद भएको, नागरिकता प्राप्त गर्न निवेदकको उमेरबाट योग्य भएको एवं आमाको नाम मात्र राखी नेपाली नागरिकताको प्रमाणपत्र पेस गरी पाऊँ भनी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आवेदन पेस गरेकामा निज निवेदकको वंश छनोट गर्ने अधिकार रहेको हुँदा निजले आवेदनका साथमा पेस गरेका अन्य कागजातबाट निजको आमा र बाबु दुवैको पहिचान खुलेकाले सो विवरण जिल्ला प्रशासन कार्यालयको ढड्डामा सम्म उल्लेख गरी निजले माग गरेबमोजिम नागरिकताको प्रमाणपत्रमा आमाको नाम मात्र उल्लेख गरी नागरिकता जारी गर्नू ।’