
जिल्ला प्रहरी कार्यालय बैतडीले चाडपर्व लक्षित ‘सुरक्षा योजना’ लागू गरेको छ । कार्यालयले विभिन्न १८ बुँदे कार्ययोजना सार्वजनिक गर्दै सुरक्षा योजना लागू गरेको हो ।दसैँतिहार तथा छठ पर्वको समयमा जिल्लामा मादक पदार्थ बिक्रीवितरण तथा ओसार–पसार र सेवन, विस्फोटक पदार्थ ओसारपसार, जुवाजन्य खेलहरु, चोरी, तस्करी, खाद्यान्नको कृत्रिम अभाव तथा कालोबजारी, सवारी दुर्घटना तथा यात्रुहरु ठगिने सम्भावना, बैंक तथा वित्तीय संस्थाहरु उपर हुनसक्ने सम्भावित लुटपाट, मेलापर्वहरुमा हुनसक्ने सम्भावित झैझगडा तथा असुरक्षा, सीमा नाकामा हुनसक्ने ठगी तथा अभद्र व्यवहार र विशिष्ट व्यक्तिहरुको भ्रमणका क्रममा हुनसक्ने सम्भावित जोखिम लगायतका गतिविधिहरुलाई नियन्त्रण गरी जिल्लाको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाइएको छ ।
सुरक्षा योजनाअन्तर्गत भारतसँगको सीमा नाका र राजमार्गमा गरी जिल्लाका विभिन्न नौ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिएका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझा जानकारी दिनुभयो । सिमार, गोकुलेश्वर, खोचलेक, सतबाँझ, झुलाघाट, गोठलापानी, पाटन, खोडपे र ढोल्यामोडमा सहायता कक्ष सञ्चालन गरिएका हुन् । चाडपर्वका बेला यात्रुहरुलाई हैरानी हुन सक्ने भन्दै यात्रुको सजिलोका लागि सहायता कक्ष सञ्चालनमा ल्याइएका हुन् । जिल्लाभरि एक सय १७ स्थानमा ड्युटी राखिएको र नागरिकको सुरक्षाका लागि तीन सय ८८ प्रहरी परिचालन गरिएका जनाइएको छ ।
यस्तै जिल्ला कमान्ड पोष्ट एक, रिजर्भ दुई, क्युआरटी परिचालन १०, ट्राफिकसहितको संयुक्त चेकिङ चार, सीमा नाकाहरुमा चोरी तस्करी नियन्त्रण सात, झैझगडा, जुवा तास, चोरी लुटपाट, मापसे नियन्त्रण २४, मोबाइल गस्ती दुई, पैदल गस्ती १७, पिकेट १६, राजमार्गमा स्कर्टिङ दुई, यात्रु सहायता कक्ष नौ, धार्मिक तथा पर्यटक स्थलहरुको सुरक्षा तीन, बैंक तथा वित्तीय संस्था, सुनचाँदीको कारोबार तथा आर्थिक कारोबार हुने स्थानको सुरक्षा चार, बजार अनुगमन तीन, तत्काल परिचालन हुने (आकस्मिक सभा जुलुस, धर्ना लगायतको कार्यक्रम) चार, नियमित चेक प्वाइन्ट डिउटी (मापसे चेकिङसहित) पाँच, विशेष चेकिङ (लामो दूरीको सवारी चेकिङ) चार र दैनिक जम्मा ड्युटी परिचालन सङ्ख्या ११७ वटा टोली परिचालन गरिएका हुन् ।
यो पनि – धौनाखोलीमा अस्थायी प्रहरी चौकी स्थापना
बैतडीको पुर्चौडी नगरपालिका–३ र ४ को बीचमा पर्ने धौनाखोलीमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले उक्त चौकीको शनिबार उद्घाटन गर्नुभयो । सो अवसरमा पुर्चौडी नगरप्रमुख रणबहादुर कुँवर, बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रमेश पाल, सशस्त्र प्रहरीका प्रमुख गणेश शाह, हनुमानध्वज गुल्मका गुल्मपति, सेनानी खिलबहादुर राना लगायत स्थानीय बासिन्दालगायतको उपस्थिति थियो । प्रहरी चौकी स्थापनाले उक्त क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा आउने विश्वास गरिएको छ ।
तत्कालललाई उक्त चौकीमा प्रहरी हबल्दारको नेतृत्वमा छ प्रहरी रहने बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो । यसका साथै स्थानीय तहसँग समन्वय गरी सुरक्षा अवस्थालाई मजबुत पार्न जनशक्ति बढीभन्दा बढी परिचालन गरिने जनाएएको छ । हाल जिल्लाभरि २४ प्रहरी चौकी, दुई इलाका प्रहरी कार्यालय, सीमा प्रहरी चौकी एक र चार अस्थायी प्रहरी पोष्ट स्थापना भइसकेका छन् ।
यो पनि – बागलुङको आधुनिक बसपार्क १९ वर्षपछि पूरा त भयो तर सञ्चालनमा ढिलाइ
गलकोट, १७ असोज (रासस) : आधुनिक बसपार्क निर्माण गरेका स्थानमा केही वर्ष अघिसम्म लहलह धान झुल्थे । जिल्लामा व्यवस्थित बसपार्कको अभाव देखेका स्थानीयवासीले बागलुङ नगरपालिकालाई आफ्नो धान फल्ने खेतमा निःशुल्करूपमा बसपार्क निर्माण गर्न दिन तयार भए । फलस्वरुप बागलुङमा आधुनिक बसपार्क निर्माण गर्ने सपना १९ वर्षपछि पूरा त भयो । आधुनिक बसपार्क सञ्चालनमा भने अझै केही चुनौती बाँकी नै छन् । यसले बसपार्क सञ्चालन र व्यवस्थापनमा केही समय अझै घर्किने सङ्केत देखिएको छ । सो बसपार्क सुविधासम्पन्न र नमूना डिजाइनमा तयार पारिएको छ ।
सो स्थानमा पुग्ने सडक तथा जग्गादाताका लागि घडेरी व्यवस्थापनले बसपार्क सञ्चालनमा भने केही कठिनाइ देखाएको छ । यसलाई राष्ट्रिय राजमार्गले नछुँदा, बसपार्क पुग्ने सडक साँघुरो हँुदा र सम्झौताअनुसारको घडेरी व्यवस्थापनमा ढिलाइ हुँदा सञ्चालमा ढिलाइ भइरहेको छ । मध्यपहाडी लोकमार्ग र बेनी–बागलुङ सडक नजिकै बसपार्क निर्माण भए पनि बस्तीको बीचमा साँघुरो सडक हुँदै जानुपर्ने भएकाले ठूला बस सञ्चालनमा कठिनाइ हुँदा वैकल्पिक मार्ग तयार गर्नुपर्ने नगरपालिकालाई चुनौती छ ।
बसपार्क निर्माणका लागि बागलुङ बजारवासीले उपल्लाचौरका दाबगरामा व्यक्तिगत जग्गा नगरपालिकालाई हस्तान्तरण गरेको १९ वर्षपछि बसपार्क निर्माण गरे पनि अन्य जग्गामा बस्ती व्यवस्थापनका लागि उपर्युक्त घडेरी व्यवस्थापन गरी जनतालाई फिर्ता गर्ने कार्यमा ढिलाइ भएको जनाइएको छ ।
लामो समय सरकारी उदासिनताका कारण अलपत्र परेको बसपार्क निर्माण जनप्रतिनिधिको आगमनसँगै विसं २०७५ मा नगरपालिकाको पहलमा गति लिएको थियो । गत असारमै सम्पन्न भएको बसपार्क कहिले सञ्चालनमा आउला भन्ने चिन्ता र चासो स्थानीयवासीमा छ । स्थानीयवासीले उपलब्ध गराएको ५९ रोपनी जग्गाबाट साढे १७ रोपनी जग्गामा बसपार्क र अन्य जग्गामा व्यवस्थित बसोबासका लागि १२७ वटा घडेरी निर्माण गरेर स्थानीयवासीलाई फिर्ता गर्नुपर्ने छ ।
नगरपालिकाले घडेरी व्यवस्थापनाका लागि पटक–पटक बजेट विनियोजन गर्दै आएको र छिट्टै बसपार्क सञ्चालनमा ल्याउने नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो । उहाँले व्यवस्थित घडेरी निर्माण गरी स्थानीय जग्गादातालाई हस्तान्तरण गरिने बताउनुभयो । “ठूलो चुनौतीका बाबजुद नगर विकास कोषबाट ऋण लिएर बसपार्क निर्माण गरेका हौँ, स्थानीयवासीले दिएको जग्गामा सम्झौताबमोजिम बसपार्क बनाएको र बाँकी रहेको जग्गालाई व्यवस्थित गरी दातालाई बुझाइनेछ, केही समय लाग्ला छिट्टै बसपार्क सञ्चालनमा आउनेछ”, उहाँले भन्नुभयो, “जग्गा व्यवस्थापनका लागि नगरपालिकाले हालसम्म रु एक करोड ३५ लाख बजेट विनियोजन गरिसकेको छ, बसपार्क चलाउँदै घडेरी बनाउँदै लैजाने योजना छ ।” उहाँका अनुसार सुरुमा घडेरी निर्माण गर्न रु ४० लाख, पर्खाल लगाउन रु २० लाख दिइसकिएको छ, चालु आार्थिक वर्षमा रु ७५ लाख बजेट विनियोजन गरेको र यसपटक घडेरीले आकार लिने उहाँको भनाइ छ ।
बसपार्क रु आठ करोड ७० लाखमा निर्माण गरिएको हो । बसपार्कबाहेकको जग्गा हस्तान्तरणमा केही ढिलाइ भए पनि नगरपालिकाले बजेट विनियोजन गरेर काम भने गरिरहेको जग्गादाता तथा बसपार्क जग्गा व्यवस्थापन समितिका अध्यक्ष सुवास राजभण्डारीले जानकारी दिनुभयो । “ढिलो भएको हो, तर काम नभएको भन्ने होइन, बसपार्क बनाइसकेकाले सञ्चालनमा ल्याउनु पर्दछ, घडेरी बनाउँदै लैजानु पर्दछ”, उहाँले भन्नुभयो, “होटल रेड एप्पल आसपासको बाटो र कटहरको बोटको बाटोलाई एकतर्फी बनाएर बसपार्क सञ्चालनमा ल्याउन आवश्य छ ।”
लहलह धान फल्ने खेत नगरपालिकाको नाममा दिएको लामो समयसम्म बसपार्क निर्माण नहुँदा जग्गादाता निराश भए पनि अहिले बसपार्क बनेकामा खुसी भएको जग्गादाता गुणनिधि शर्माले बताउनुभयो । अब छिट्टै बाँकी रहेको जग्गा जग्गाधनीको नाममा आउनुपर्नेमा उहाँको जोड छ । व्यवस्थित आधुनिक बागलुङ बसपार्कमा ६० ठूला बस, १० माइक्रोबस एकैसाथ अटाउन सक्नेछन् । टर्मिनल भवनको भुइँतलामा कार तथा मोटरसाइकल पार्किङ गर्न मिल्नेछ ।
प्रतिक्रिया दिनुहोस