बिहिबार १४ मंसिर २०८०

पर्सा — वीरगन्जस्थित मानव सेवा आश्रमकी कार्यक्रम संयोजक सानुमाया गुरुङ मानवलाई भ्याइनभ्याई छ । यसअघि उमंग र ओजस्वी गरी २ बालबालिकालाई हुर्काउँदै आएकी उनको काँधमा अर्का बालकलाई पनि हुर्काउने जिम्मेवारी आएपछि व्यस्तता बढेको हो ।

मंगलबार मात्र सडकपेटीबाट उद्धार गरिएकी महिला सुत्केरी भएकी छन् । मानसिक सन्तुलन गुमाएकी तथा आफ्नो परिचयसमेत बताउन नसक्ने ती महिलाले सन्तान त जन्माइन् तर यसबारे उनलाई केही भेउ छैन ।

मंगलबार बिहानै आश्रमका अभिभावक सामाजिक अभियन्ता प्रकाश थारूसँग करिब १ सय ६० किमि लामो मोटरसाइकल यात्रा गरेर धनुषाबाट उनको उद्धार गरेको सानुमायाले बताइन् ।

यसअघि यसरी नै आश्रममा आश्रित मानसिक सन्तुलन गुमाएकी सबिताले करिब अढाई वर्षअघि जन्म दिएको सन्तान उमंगलाई पनि उनले हुर्काइरहेकी छन् । साथै आश्रममा ल्याएर एक आमाले छोडेर गएकी करिब ३ वर्षीया बालिका ओजस्वीलाई पनि उनले यसरी नै जिम्मेवारी लिएकी छन् ।

अविवाहित २० वर्षीया सानुमायाको वास्तविक घर लमजुङको दोर्दी–९ लप्सीबोट हो । एक वर्षदेखि मानव सेवा आश्रम वीरगन्जमा कार्यक्रम संयोजकका रूपमा कार्यरत छिन् । ४ वर्षअघि आश्रमसँग काठमाडौंमा जोडिएकी उनले त्यसअघि ७ महिना बुद्ध एयरमा एयर होस्टेसका रूपमा काम गरिन् ।

साइकोलोजीकी विद्यार्थी उनले कम्तीमा २ सय ५० घण्टा कुनै संघसंस्थामा काम गरेको अनुभव बटुल्नु थियो । त्यसै क्रममा २०७२ मंसिर अन्त्यतिर राजधानीको सामाखुसीस्थित आश्रम शाखामा आउजाउ गर्दागर्दै उनको ध्यान मानव सेवातिर मोडियो ।

सधैं आकाशमा उडिरहने सहज र आकर्षक जागिर छोडेर उनी मानव सेवामा पूर्णकालीन रूपमा समर्पित भइन् । उनले आश्रमका पाँच दर्जन सहाराविहीन मानिसहरूको स्याहार पनि गर्दै आएकी छन् ।

तीमध्ये अधिकांश मानसिक सन्तुलन गुमाएकाहरू छन्, जसको स्याहार गर्नु अत्यन्त चुनौतीपूर्ण छ । आश्रितहरूलाई दैनिक नित्यकर्म गराउने, खाना खुवाउनेदेखि औषधि सेवन गराउने उनको काम हो । बिरामी परेका आश्रितहरूलाई अस्पताल पुर्‍याउनेदेखि आश्रममा दैनिक आउने आगन्तुकहरूलाई स्वागत गर्ने र आश्रमको गतिविधिबारे जानकारी गराउनेसम्मको काम उनले भ्याउनुपर्छ । उनले आफ्नो कामबाट सन्तुष्ट रहेको बताइन् ।

वीरगन्जमा २०७४ जेठ १५ मा स्थापित आश्रम शाखामा हाल ६३ जना सडक मानव आश्रित छन् । आश्रमले हालसम्म ३४ सडक मानवको उद्धार र उपचारपछि पारिवारिक पुनर्मिलन गराइसकेको छ । आश्रममा हालसम्म आश्रित १३ जनाको मृत्यु भएको छ । ३२ जना आश्रित भने आश्रमबाट भागेका छन् ।


Last Updated on: October 5th, 2021 at 10:53 am
२९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया