
प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘अर्ली इलेक्सन’ को प्रस्ताव गरेपछि सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस उत्साहित देखिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बन्ध सुधारका लागि पठाएका ‘दूत’सँग अध्यक्ष ओलीले समयअगावै चुनावको प्रस्ताव गरेका थिए।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग भएका तीन वटै भेटमा अध्यक्ष ओलीले अग्रिम चुनाव गर्नुपर्ने कुरा उठाएका थिए। उनको प्रस्तावलाई कांग्रेसले सकारात्मक रुपमा लिएको छ।
प्रधानमन्त्री देउवाले अवरुद्ध संसद् खुलाउन तथा वैशाखको स्थानीय तहको चुनाव सहज रुपमा सम्पन्न होस् भन्ने उदेश्यले कानुनमन्त्री कार्कीलाई ओलीसँग भेट्न पठाउने गरेका छन्।
‘सत्ता पक्ष र प्रतिपक्षीबीच ठूलो दरार पैदा भयो। संसद् चल्ने अवस्था रहेन। उच्चस्तरमा सहमति कायम गरेर संसद् चलाउन, संविधान कार्यान्वयन गर्न र निष्पक्ष ढंगले आगामी वैशाखमा चुनाव गर्न सरकारले संवाद सुरु गर्न चाहेको हो |
प्रधानमन्त्रीका विश्वासपात्रमध्येका एक केन्द्रीय सदस्यले नेपालखबरसँग भने, ‘त्यसकै लागि प्रधानमन्त्रीले दूतका रुपमा ज्ञानेन्द्रजीलाई विपक्षी दलका नेता कहाँ पठाइरहनुभएको हो।’ कार्कीसँगको भेटमा ओलीले संसद् चलाउनतिर होइन, चुनावतर्फ जान प्रस्ताव गरेका थिए।
‘ओलीले नचल्ने संसद् किन चलाउनु पर्योरु चुनावमा जाने हो भने मेरो सहमति छ। राष्ट्रिय सहमतिको सरकार नै किन चाहियोरु यही सरकारले आगामी वैशाखभित्रै चुनाव गरौं भन्ने प्रस्ताव गर्नुभएको छ,’ ती नेताले भने, ‘विपक्षी दलले अर्ली इलेक्सनको प्रस्ताव गरे पनि चुनावअघि राष्ट्रिय महत्वका धेरै कामहरु गर्नुछ। ती कामहरुमा रचनात्मक सहयोग गर्नुस् भन्ने प्रधानमन्त्रीको आग्रह हो।’