
काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कबाट दसैँका लागि घर जान १७ हजार यात्रुले अग्रिम बस टिकट बुकिङ गरेका छन् । गत वर्ष घटस्थापनाको अघिसम्म ६० देखि ७० हजार यात्रुले अग्रिम बस टिकट लिने गरे पनि यस वर्ष भने यात्रुको सङ्ख्यामा कमी आएको हो । यात्रुले घटस्थापनादेखि अष्टमीसम्मका लागि अग्रिम टिकट काटेका छन् ।
नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले यस वर्ष अघिल्ला वर्षहरुको जस्तो अग्रिम बस टिकट लिने यात्रुको चाप नभएको बताउनुभयो । “कोरोना महामारी र बाटोको दुरावस्थाका कारण अग्रिम टिकट लिने यात्रु सोचेजस्तो छैनन्,” उहाँले भन्नुभयो । कूल १६१ रोपनी क्षेत्रफलमा फैलिएको राष्ट्रिय बसपार्क गोङ्गबुबाट हाल ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारी साधन आवतजावत गर्दै आएका छन् । हाल नयाँ बसपार्कमा दैनिक एक हजारभन्दा बढी सार्वजनिक सवारी साधन आवतजावत गर्दै आएका छन् ।
काठमाडौँको नयाँ बसपार्कबाहेक चावहिल, गौशाला, माछापोखरी, कोटेश्वर र कलङ्कीमा पनि अग्रिम टिकट बुकिङ खुला गरिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले नयाँ बसपार्क मात्र नभएर उपत्यकाका अन्य टिकट काउन्टरमा पनि अग्रिम बस टिकट बुकिङ गर्ने यात्रुको सङ्ख्या न्यून रहेको बताउनुभयो । “निरन्तर वर्षाका कारण बाटो बिग्रिँदा सवारी आवतजावतमा समस्या परेको छ,” उहाँले भन्नुभयो । सरकारले यात्रुलाई सहज रुपमा गन्तव्यस्थलसम्म लैजानका लागि घटस्थापनादेखि देशभर रुट परमिट खुला गरेको छ । रुट परमिट खुला गरेसँगै यात्रुलाई दसैँको समयमा आवतजावतमा सहज हुने विश्वास लिइएको छ ।
यो पनि – मोटरसाइकल चोरी गर्ने पक्राउ
मोटरसाइकल चोरीको आरोपमा स्याङ्जामा चारजना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक हरिप्रसाद पौडेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
विभिन्न मितिमा सात मोटरसाइकल र दुईवटा स्कुटर चोरी गर्ने कार्यमा संलग्न रुपन्देहीका बुटवल उपमहानगरपालिका–१२ बस्ने ३४ वर्षीय विष्णुबहादुर नेपाली, सोही स्थानका २८ वर्षीय प्रकाश सुन्धौली, स्याङ्जाको भिरकोट नगरपालिका–२ बस्ने २० वर्षीय विप्लव श्रेष्ठ र सोही स्थानका २० वर्षीय ज्ञानबहादुर गुरुङ रहेका छन् । पक्राउ परेकाहरुलाई चोरी मुद्दा दर्ता गरी स्याङ्जा जिल्ला अदालत स्याङ्जाबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस