मंगलबार १४ चैत्र २०७९

अरनिको राजमार्ग खण्ड अन्तर्गत भक्तपुरको कौशलटारस्थित ६ लेन सडकमा तीव्रगतिमा गुडेको मोटरसाइकल आज दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार प्रहरी हबल्दार गम्भीर घाइते भएका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार तीव्र गतिमा आएको ना ३२ प ६६७३ नं को मोटरसाइकल अनियन्त्रित भई सडकको बारमा ठोक्किएर दुर्घटना हुँदा पर्सा वीरगञ्ज महानगरपालिका–२० घर भई हाल भक्तपुर नपा–१० कमलविनायक बस्ने ३० वर्षीय लोकनाथ ठाकुरको कौशलटारस्थित भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार वीरगञ्ज महानगरपालिका–२० घर भई हाल इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुर रौतहटमा कार्यरत प्रहरी हबल्दार सियाराम सिंहको गठ्ठाघरस्थित नागरिक अस्पतालमा उपचार हुन नसकेपछि आजै केएमसी अस्पताल सिनामङ्गल पठाइएको छ । त्यहाँ पनि उपचार हुन नसकेपछि नेपाल प्रहरी अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जानकारी दिएको छ ।

यो पनि- डोटीमा थपिए कुष्ठरोगी

जिल्लामा बर्सेनि कुष्ठरोगीको सङ्ख्या थपिँदै जान थालेको छ । जिल्लाभरिमा थप पाँचजना नयाँ कुष्ठरोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।डोटीमा गतवर्ष सात कुष्ठरोगी फेला परेका थिए भने यो वर्ष थप पाँच जनामा कुष्ठरोग देखिएपछि अहिले जिल्लामा कुष्ठ रोगीको सङ्ख्या १२ रहेको जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कमा उल्लेख छ । आर्थिक वर्ष २०७७÷७८ को सुरुमै जिल्लामा पाँच नयाँ कुष्ठरोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्क अधिकृत महेश बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा बर्सेनि कुष्ठरोगीको सङ्ख्या थपिँदै गएको छ । कुष्ठ रोग अन्त गर्नमा समस्यासहित चुनौती थपिएको छ ।”

स्वास्थ्य कार्यालयका अनुसार नयाँ फेला परेका कुष्ठरोगीमा जोरायल गाउँपालिकामा एक, शिखर नगरपालिका एक, दिपायल सिलगढी नगरपालिकामा तीन छन् । जिल्लामा कुष्ठरोग सम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम गरिँदै आए पनि यहाँका गाउँघरमा कुष्ठरोगी अझै लुकिछिपी बस्ने गरेका कारण यहाँको कुष्ठरोग अन्त हुन नसकेको चिकित्सक बताउछन् ।

स्वास्थ्यका अनुसार जिल्लामा दुईवर्ष यतादेखि कुष्ठरोगीको सङ्ख्या थपिँदै गएको पाइएको छ । गतवर्ष जिल्लाका केआईसिंह गाउँपालिकामा एक, शिखर नगरपालिकामा दुई, पूर्वीचौकी गाउँपालिकामा एक, दिपायल सिलगढी नगरपालिकामा दुई र बडिकेदार गाउँपालिकामा एक कुष्ठरोगका बिरामी फेला परेका थिए ।जिल्लाका विभिन्न स्थानमा चर्मरोग सम्बन्धी विभिन्न शिविर सञ्चालन गरेका कारण अहिले कुष्ठरोगी फेला पर्न थालेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख उद्धवसिंह ठगुन्नाले जानकारी दिनुभयो ।

कुष्ठरोगीको सङ्ख्या थपिँदै जान थालेपछि स्वास्थ्य कार्यालयले चालू आर्थिक वर्षमा जिल्लाका नौ वटै स्थानीय तहमा बिरामी पहिचानका लागि ‘स्क्रिनिङ क्याम्प’ गर्ने योजना रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी अमरसिंह भाटले जानकारी दिनुभयो ।नेपाल सरकारले कुष्ठरोगमुक्त नेपालको परिकल्पना गर्दै सन् २०२० मा कुष्ठरोग प्रकोप दर प्रति दश हजारमा एक भन्दा कम गर्ने लक्ष्य राखेपनि डोटीमा कुष्ठरोगीको सङ्ख्या थपिँदै जान थालेपछि उक्त लक्ष चुनौतीका रुपमा लिइन थालिएको छ । बिरामीको स–सम्मान स्वास्थ्य उपचार गर्ने वातावरण सिर्जनाका लागि चेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले बताउनुभयो ।–––

प्रतिक्रिया दिनुहोस


Last Updated on: October 5th, 2021 at 4:12 pm
४१० पटक हेरिएको

तपाईको प्रतिक्रिया