बुधबार १० आश्विन २०८०

म्याग्दी प्रवासी नेपाली संघ (मोना) मलेसियाले स्थापना भएको छोटो समयमै ठुलो मानवीय सहयोगको कार्य गरेको छ l वैदेशिक रोजगारीको लागि म्याग्दी रघुगंगा ३ बाट मलेसिया पुगेर गुमनाम बनेका एक नेत्र विहीन व्यक्तिको उद्धार गरी नेपाल पठाएको छ l सन् २०११ को नोभेम्बर ११ मा सामाखुसी टाउन प्लानिंगस्थित जव वर्ल्ड ईण्टरनेशनल ओभरसिज प्रा.लि.बाट मलेसियाको लगलभ (एम) एसडीएन बीएचडी कम्पनी मा रोजगारीका लागि गएका रमेश बहादुर खत्री १ वर्ष नपुग्दै कम्पनी छोडी अवैध भएर अन्यत्र काम गर्न लागेका थिए l

आफूलाई मलेसियामा एजेन्टले बेचेको र फलामको काम गर्नु पर्ने, तलब ३ सय रिंगेट पनि नबच्ने भइसकेपछि उनी अवैधरूपमा बसेर काम गर्न लागेका थिए l खत्री अवैध भएसँगै आफ्नो घर परिवारसँग पनि टाढिएका थिए l कसैसँग पनि सम्पर्कमा नरहेका खत्री एकाएक अस्पतालको शैयामा दुबै आँखाको ज्योति गुमाएको अवस्थामा रहेको भनी अस्पतालले क्वालालम्पुरस्थित नेपाली राजदूतावासमा सम्पर्क गरेको दूतावासका अधिकारीले जानकारी दिए l

म्याग्देलीको अवस्था गम्भीर छ भन्ने सूचना पाए लगत्तै अस्पताल पुगेर उनको पहिचान गरी परिवारको खोजी गर्दै उद्धारको लागि पहल गरेको मोना मलेसियाका अध्यक्ष रामचन्द्र केसीले मध्यान्हलाई बताए l केसीले लामो समयदेखि अवैध रहेका खत्रीलाई स्वदेश फर्काउन एनआरएनए मलेसिया र नेपाली राजदूतावास मलेसियाको ठुलो सहयोग रहेको बताए l

कसरी गुम्यो खत्रीको आँखाको ज्योति ?

गुमनाम खत्री गत सेप्टेम्बर ९ तारिक बुकित जालीमा कोरोना विरुद्धको खोप लगाइसकेपछि उनले नरिवल पानी किनेर पिएको बताएका छन् l खत्रीका अनुसार पानी पिएको ३/४ घण्टामा आफूलाई बान्ता भएको र उक्त रात आफु भोकै सुतेको उनले बताए । तर १० तारिक बिहान उठ्दा उनका आँखामा जालीले छोपे जस्तो महसुस भएको र ज्वरो पनि आएको उनले मोना मलेसियाको फेसबुक लाइभमार्फत सबैलाई जानकारी दिएका छन् l

खोपले पारेको असरले होला भनी बसेका खत्रीको भोलिपल्ट बिहान पुरै आँखा बन्द भएसँगै उनी क्वालालम्पुर अस्पतालमा उपचारका लागि पुगेका थिए l उपचारमा संलग्न डाक्टरले परीक्षण रिपोर्टमा खत्रीलाई मादक पर्दार्थमा केही तरल पदार्थ मिलाएर पिलाएको पाइएको मोना मलेसियाको टिम तथा दूतावासलाई लिखित रिपोर्ट बुझाएका छन् l

अवैधरूपमा बसेका खत्रीको पूर्व कम्पनीहरूले बेवास्ता गरेपछि संस्थाले जिम्मा लिँदै उद्धार गरेको मोना मलेसियाले जनाएको छ l खत्रीका गाउँले साथीका अनुसार उनको घरमा श्रीमती र करिब १५ वर्षीया छोरी रहेको मध्यान्हलाई जानकारी दिए l उनको माता पिताको देहान्त भइसकेको छ l


Last Updated on: October 5th, 2021 at 4:43 pm
१९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया