बुधबार २० मंसिर २०८०

काठमाडौं । प्रहरी अनुसन्धान केन्द्रीय ब्युरोले सिभिल बैंक तथा सिभिल समुहका अध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई पक्राउ गरेको छ । सर्वसाधरणको निक्षेपमा अर्बौं रकम ठगी गरेको भन्दै तामाङलाई सिआइबीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा संविधानसभाका सदस्य एवं सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ, सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ र विजय शाहसहित १२ जना रहेका छन् ।

तामाङसहित सबैलाई उनीहरुकै कार्यालयबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो । इच्छाराजको सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाले अर्बौँ रुपैयाँ ठगी गरे पनि ४६ करोड रुपैयाँ ठगी गरेको प्रमाणसहित उजुरी सीआईबीमा छ । उनीहरु पक्राउ परेपछि पीडितहरु मंगलबारदेखि नै थप उजुरी लिएर प्रहरीकहाँ पुग्ने अनुमान गरिएको छ ।

त्यसपछि मात्र सिभिल सहकारीले कति ठगी गरेको भन्ने पुष्टि हुन्छ । सिभिल ग्रुपकै अध्यक्ष रहेका तामाङले आफैँले सञ्चालन गरेका कम्पनीहरू सिभिल होम्सलाई आठ अर्ब आठ करोड, सिभिल मललाई ३८ करोड, सिभिल स्टेटलाई पाँच करोड र सिभिल अपार्टमेन्टलाई ४४ करोड ३२ लाख गरी आठ अर्ब ९५ करोड रुपैयाँभन्दा बढी रकम लगानी गरेका छन् र बचतकर्ताहरूले आप्mनो बचत रकम फिर्ता माग्दा फिर्ता नगरी लुक्दै र भाग्दै आएका थिए ।

आपूmले बचत गरेको रकम पटक–पटक माग्दा नपाएपछि बचतकर्ताहरूले उज्ज्वल सत्यालको संयोजकत्वमा संघर्ष समिति नै गठन गरेर धर्ना, नारा, जुलुस गर्दै संघर्षमा उत्रिएका थिए । अहिले सरकार परिवर्तनको मौका पारेर उजुरीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

पीडित बचतकर्ताले गरेको आन्दोलनको जानकारी सहकारी विभाग, नेपाल प्रहरी, नेपाल राष्ट्र बैंक, सहकारी मन्त्रालयलगायत सबैलाई गराएको थियो । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थामा सर्वसाधारण बचतकर्ताहरुले जम्मा गरेको अर्बौँ रुपैयाँ इच्छाराजले अवैध रुपमा बेलायत र बेलारुसमा पठाएको र नेपालमा सिभिल होम्समा लगानी गरेका छन् । जम्मा गरेको रकम म्याद पुगेपछि फिर्ता लिन जाँदा तामाङले सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइदिने भन्दै धम्की दिँदै थर्काउँदै आएका थिए ।

केपी ओली प्रधानमन्त्री भएको बेला उनीविरुद्ध उजुरी परे पनि उजुरी गर्नेहरुलाई तामाङले आफू ओलीको साढुभाइ भएको धम्की दिँदै अवैध रुपमा जम्मा गरेको रकम माग्न आएमा सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइदिने धम्की दिने गरेका थिए ।

सर्वसाधारणको पैसा अवैध रुपमा बेलारुस पठाएपछि उनी केही वर्षअगाडि बेलारुस उड्न लागेको बेला राहदानी ‘सिज’ भएको कारण अन्तिम चरणमा आएर उड्न पाएका थिएनन् । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थामा सर्वसाधारणले जम्मा गरेको रकम तामाङले बेलायत र बेलारुस पठाएका हुन् । त्यही भएर उनले निक्षेपकर्तालाई रकम फिर्ता गर्न नसकेका हुन् ।

एक मिलियन अमेरिकी डलर बेलारुस पठाएपछि त्यहाँ नागरिकता पाइन्छ । तामाङले अवैध मार्गबाट अर्बौँ रुपैयाँ बाहिर लगेको बताइएको छ । व्यवसाय गर्न सजिलो हुने भएको कारण बेलायत र बेलारुसमा इच्छाराजले रकम पठाएका हुन् । प्रधानमन्त्री कार्यालयमातहत सम्पत्ति शुद्धीकरण विभाग रहेको कारण ओली प्रधानमन्त्री भएको बेला इच्छाराजले सिभिलमा रकम जम्मा गर्ने सबैको विवरण सम्पत्ति शुद्धीकरण विभागमा पठाइदिने भनेर धम्की दिने गरेका थिए ।

सिभिल सेभिङमा रकम जम्मा गरेकाहरुलाई सुन्धाराको सिभिल ट्रेड सेन्टरपछाडिको अपार्टमेन्ट बिक्री गरेर रकम फिर्ता गर्छु भने पनि उक्त अपार्टमेन्ट बिक्री गरेपछि पनि कसैको पनि रकम फिर्ता गरेका छैनन् । करिब तीन अर्ब रुपैयाँ जाने उक्त अपार्टमेन्ट इच्छाराजले करिब एक अर्ब ३५ करोड रुपैयाँमै अजेय सुमार्गीलाई बिक्री गरेका थिए । उक्त अपार्टमेन्ट बिक्री गरेर सर्वसाधारणको अर्बौँ रुपैयाँ निक्षेप फिर्ता नगरी भाग्नलागेको बेला उनको राहदानी सरकारले सिज गरेको थियो । इच्छाराजले आफ्नो व्यवसाय टाट उल्टिएको बताउने गरे पनि उनी आफैँ भने कीर्तिपुरको ट्याङ्लाफाँटमा करिब छ रोपनी जग्गामा घर बनाएर बसेका छन् ।

२०७५ पुस ३० गतेसम्मको सिभिल सहकारीको विवरणअनुसार सहकारीले प्रवाह गरेको कुल कर्जा आठ अर्ब १३ करोड ६७ लाख ४६ हजार पाँच सय ७८ रुपैयाँ ४४ पैसामध्ये सिभिल होम्सलाई मात्र २०७५ असार मसान्तसम्ममा मात्र सात अर्ब एक करोड ३७ लाख ११ हजार दुई सय ११ रुपैयाँ ३७ पैसाभन्दा बढी कर्जा दिएको देखिन्छ,

जुन कुल कर्जा रकमको ८६.२ प्रतिशत हुन आउँछ । होम्सले ब्याज तिर्नसक्ने अवस्था नदेखिँदा हालसम्ममा सावाँ र ब्याज गरी झण्डै आठ अर्ब नाघेको सहजै अनुमान गर्न सकिन्छ जुन रकम सिभिल सहकारीमा जम्मा भएको कुल निक्षेपको बराबरजस्तो हुन आउँछ । ऋण असुली नभएको अवस्थामा सहकारीको बचत तथा निक्षेपकर्ताहरूको रकम समेत फिर्ता भुक्तानी गर्न कठिनाइ भएको छ ।

सिभिल होम्सका अतिरिक्त सहकारीबाट सिभिल अपार्टमेन्ट प्रालिलाई ३४ करोड ६७ लाख ८० हजार सात सय ४५ रुपैयाँ ९१ पैसा र सिभिल इस्टेट्स प्रालिलाई छ करोड ६८ लाख ४६ हजार चार सय सात रुपैयाँ ८९ पैसा कर्जा प्रवाह भएको छ ।

सिभिल होम्स प्रालिको आर्थिक वर्ष २००७४ लेखापरीक्षण भएको वित्तीय विवरणअनुसार कम्पनीको चुक्ता पुँजी १० करोड र सञ्चित नोक्सानी दुई सय ५६ करोड ७६ लाख रुपैयाँ छ । तसर्थकम्पनीको नकारात्मक नेट वर्थ भएको कारण नगद तथा बैंक मौज्दातसहितको सम्पत्तिबाट समेत उक्त ऋण लगानी रकम असुली हुने सम्भावना एकदम न्यून छ ।


Last Updated on: October 5th, 2021 at 5:53 pm
१५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया