शुक्रबार १५ मंसिर २०८०

बेदकोट नगरपालिका–९ सुन्दरपुरका जयसिंह धामीको फार्ममा रहेका छ बाख्रा चितुवाले आक्रण गरी मारेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट गए राति बस्ती छिरेको चितुवाले फार्ममा रहेका बाख्रा मारेको हो । व्यावसायिक रुपमा फार्म सञ्चालन गर्दै आएका धामीले चितुवाले बाख्रा मार्दा रु एक लाख २५ हजार बढीको नोक्सानी भएको बताउनुभयो । “बिहानको झिसमिसेमै बाख्रा कराउन थालेपछि फार्ममा पुग्दा १२ मध्ये चितुवाले छवटा बाख्रा मारिसकेको थियो”, उहाँले भन्नुभयो, “चितुवाले गर्दा निकै ठूलो क्षति बेहोर्नुपरेको छ ।”

मारिएका बाख्रामध्ये तीन बाख्रा ब्याउने अवस्थाका थिए । रु छ लाख लगानी गरी धामीले फार्ममा बङ्गुर र बाख्रापालन गर्दै आउनुभएको छ । फार्ममा पालिएका २० बङ्गुर भने सकुशल रहेका छन् । केही महिनाअघि समेत चितुवाले खोरबाट स्थानीय बासिन्दाका बाख्रा मारेर खाएको थियो । चितुवा बस्तीमै छिर्न थालेपछि यस क्षेत्रका बासिन्दा निकै चिन्तित भएका छन् । चितुवाले बाख्रा मारेपछि निकुञ्ज कार्यालय र प्रहरीलाई खबर गरिएको धामीले बताउनुभयो ।

यो पनि – लायन्स क्लब चोकमा सवारी दुर्घटनामा दुईको मृत्यु

सुनसरीको इटहरी उपमहानगरपालिका–१६ लायन्स क्लब चोकमा सवारी दुर्घटनामा परेर गए राति दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा इनरुवा–२ का २५ वर्षीय सुशान्त भट्टराई र सङ्खुवासभा चिचिला–२ का २० वर्षीय विभिषण विक रहेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को२०प ६७४७ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको ना६ख ५६८१ नम्बरको ट्रकले ठक्कर दिँदा दुवै जना गम्भीर घाइते भएका थिए । घाइते दुवै जनालाई उपचारका लागि कोशी अस्पताल विराटनगर लैजाने क्रममा बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ ।शव परीक्षणका लागि कोशी अस्पताल विराटनगरमा राखिएको छ । ट्रक र चालक मकवानपुर हेटौँडा उपमहानगरपालिका–९ का ३१ वर्षीय अर्जुन गिरी प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।

यो पनि – सङ्खुवासभा सामूहिक ह.त्याकाण्ड: अभियुक्त पक्रने प्रहरी पुरस्कृत

गत भदौ २१ गते सङ्खुवासभाको मादी नगरपालिका– १ उम्लिङ खोला गाउँमा भएको छ जनाको ह,त्यामा संलग्न अभियुक्तलाई पक्राउ गर्ने दुई प्रहरी पुरस्कृत भएका छन् । उम्लिङ खोला गाउँमा भएको छ जनाको सामूहिक ह.त्याकाण्डको सफल अनुसन्धान गर्ने इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडा र प्रहरी सहायक निरीक्षक रुद्र खड्कालाई नगद रु एक लाखसहित पुरस्कृत गरिएको हो ।

प्रदेश नं १ प्रदेश प्रहरी कार्यालयले ६६औँ प्रहरी दिवसका अवसरमा प्रहरी निरीक्षक खतिवडा र प्रहरी नायब निरीक्षक खड्कालाई नगद रु ५०÷५० हजारसहित परस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो ।खोलागाउँका एकै परिवारका छ जनाको ह.त्या घटनाको सफल अनुसन्धान गरी ह.त्यामा संलग्न पाँच जना अभियुक्तलाई पक्राउ गर्न उहाँहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रहरी नायब उपरीक्षक सुवेदीले बताउनुभयो । प्रहरीले छ जनाको हत्या काण्डका मुख्य योजनाकार खड्गबहादुर कार्की, हस्तबहादुर कार्की, रणबहादुर कार्की, लोकबहादुर कार्की र नरेश कार्कीलाई पक्राउ गरेको थियो ।

घटनास्थलमा संंलग्नलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भई आम नागरिकलाई सुरक्षाको अनुभूति हुने गरी नागरिकसमक्ष प्रहरीको छवि उच्च बनाउनुका साथै सर्वसाधारणमा शान्तिसुरक्षाको अनुभूति अभिवृद्धि गर्नेतर्फ प्रशंसनीय कार्य गरेकाले प्रदेश प्रहरी कार्यालय विराटनगरले रु एक लाख राशिको साधनादेवी प्रहरी पराक्रम पुरस्कारले पुरस्कृत गरिएको प्रनाउ सुवेदीले जानकारी बताउनुभयो ।

गत भदौ २१ गते बिहान मादी–१ उम्लिङ खोला गाउँस्थित ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति आठ वर्षीय दीपेन कार्की र नातिनी पाँच वर्षीया गोमा कार्कीको सामूहिक ह.त्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस


Last Updated on: October 7th, 2021 at 12:04 pm
१५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया