
नेपाल प्रहरीको इतिहासमै पहिलो पटक महिला प्रहरी बनेकी चैतमाया डंगोललाई सम्मान गरिएको छ । प्रहरी प्रधान कार्यालयले उनलाई लाइफटाइम अचिभमेन्ट अवार्ड वाट सम्मान गरेको छ । ६६ औं प्रहरी दिवसको अवसरमा प्रहरी हेडक्वार्टरमा आयोजित समारोहमा उनलाई सम्मान गरिएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो महिला प्रहरी डंगोललाई अवार्ड प्रदान गरेका हुन् । काठमाडौं महानगरपालिका–७ स्थित चावहिलकी डंगोल नेपाल प्रहरीकी पहिलो महिला प्रहरी सहायक निरिक्षक (असई) हुन् ।
२००८ असार ११ मा प्रहरी जवानमा भर्ना भएर डंगोलले असईबाट अवकाश पाएकी थिइन् । महिला प्रहरीलाई प्रतिनिधित्व गरेर गौरवशाली इतिहास रचेकी डंगोलले ३१ वर्ष ७ महिना सेवा गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
छोरीलाई पढाउने खासै चलन नरहेको त्यो बेला चाबहिलका किसान तरिमाया र कान्छा डंगोलकी छोरी चैतमाया घर नजिकैका साथीहरूसँग गफिंंदै थिइन् । “वैशाख–जेठतिर हुनुपर्छ, जाडो गइसकेको थियो” उतिबेलाका कुरा सम्झ्ँदै चैतमाया भन्छिन्, “केही महिला छोरीहरू पनि स्कूल जानुपर्छ भन्दै आए । शिक्षा, चेतना र स्वावलम्बनका कुरा गरे । अनि ‘तिमीलाई मिल्ने काम पनि हुने, खेल्न पनि पाइने ठाउँमा लगिदिन्छौं’ भने ।” चैतमाया उनीहरूकै पछि लागिन् ।
“कहिल्यै नदेखेको विशाल महल थियो त्यो, अरू केटीहरू पनि थिए”, चैतमाया भन्छिन् । उनलाई बाहिरै राखेर भित्र पसेका महिलाहरू केहीबेरपछि एक जना प्रहरी पोशाक लगाएका व्यक्तिसँगै आए ।
ती प्रहरीले सोधे “पुलिसमा जागिर खाने हो रु” आश्चर्यमा परेकी चैतमायाले अरू केटीहरूतर्फ हेरिन्, उनीहरूको अनुहारमा पनि विस्मातको भाव थियो । ठूलो आँट गरेर उनले ‘नखाने’ भन्न खोज्दा टाउको मात्रै हल्लियो । ती प्रहरीले कुरा टुंग्याउँदै भने, “यहाँ आएपछि पुलिस बन्नैपर्छ, भोलिदेखि तालिममा आउनू ।”
त्यहाँवाट उनको प्रहरी जिवन सुरु भएको हो । १२ जेठ २००८ मा चैतमायाले नियुक्तिपत्र बुझेर पहिलो महिला प्रहरीकोे इतिहास रचिन् । त्यसलगत्तै अरू २५ जना महिलाले पनि नियुक्ति पाए तर, चैतमाया नै पहिली थिइन् । तलब थियो, रु ३० ।
तपाईको प्रतिक्रिया दिनुहोस