
२१ असोज, काठमाडौं । बिहीबार बिहान पौने पाँच बजे । राम्ररी उज्यालो नहुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर चहलपहल बढिसकेको थियो । कोरोना संक्रमण नभएको रिपोर्टमा छाप हान्न यात्रुहरु विमानस्थलको एक नम्बर प्रवेश गेट अगाडि लाइन लागेका थिए ।
त्यही लाइनमा भेटिए खोटाङका मिलन रसाइली । रातो टीकाले निधार रंग्याएका उनको काँधमा दुईवटा खादा र माला थियो, तर अनुहार मलिन थियो । मिलन दशैं शुरु भएको घटस्थापनाको दिन रोजगारीका लागि साउदी अरब उड्दै थिए ।
ठूलो चाडपर्वको मुखैमा विमानस्थलसम्म पुर्याउन आएका श्रीमती र छोरी भक्कानिएपछि आफू सम्हालिन नसकेको मिलनले अनलाइनखबरलाई सुनाए । ‘छोरी र श्रीमतीलाई बिदाइ गर्दा मन सम्हाल्न सकिन, के–के भयो भयो,’ मिलनले आँशु पुछ्दै भने ।
सप्तरीको राजगढ गाउँपालिकाका ३८ वर्षीय महेन्द्रप्रसाद यादव पनि त्यही लाइनमा भेटिए । उनको दाहिने हातमा जेब्रा झोला र देब्रे हातमा पासपोर्ट तथा म्यानपावर कम्पनीले दिएको कागज पत्र थियो । मास्कले ढाकेको अनुहारमा उनले निराशा लुकाउन सकेनन् ।
रेष्टुरेन्टमा काम गर्न विदेश हिँडेका यादवले भने, ‘बाध्यता भयो रहर पटक्कै थिएन ।’
दोलखाका राजन खत्री पनि टीका र माला लगाएर विमानस्थलबाहिर लाइन लागेका थिए । पहिलो पटक विदेश जान लागेका उनी वेल्डिङको कामका लागि साउदी अरब जाँदै थिए । दशैंको मुखैमा देश छोड्नु पर्दा सारै खल्लो लागेको खत्रीले बताए । यहाँ मरिहत्ते गर्दा पनि धेरै कमाइ नभएपछि विदेश जान लागेको उनको भनाइ थियो । ‘परिवार पनि दुःखी छन्, तर भिसा आयो, जानै पर्यो,’ राजनले भने ।
सर्लाही धोविनियाका घोष नारायण पनि बिहीबार बिहान साउदी अरब उडे । विमानस्थल छिर्नुअघि उनले साथीहरुसँग फोटो खिचाए । साउदी अरबमा रोड साइटमा काम पाएको घोष नारायणले सुनाए । दशैंको मुखैमा विदेश जान लाग्दा नमज्जा लागे पनि पहिलो पटक भएकाले कताकता रमाइलो पनि लागेको उनले बताए ।
त्रिभुवन विमानस्थलका अनुसार घटस्थापनाको दिन बिहान ९ बजेसम्म मात्रै नेपाली कामदार जाने ५ गन्तव्यमा नेपालबाट जहाज उडेका छन् । बिहान ७ः३० बजेदेखि ९ बजेसम्म नेपाली लिएर कुवेतका लागि जजिरा एयरले दुईवटा, ओमानको राजधानी मस्कटका लागि सलाम एयरको एउटा र यूएईको शारजहाँको लागि एयर अरेबियाको एउटा र दुबईका लागि फ्लाई दुबईले एउटा उडान भरेका छन् ।
जुम्ला – जुम्लाको सिँजा गाउँपालिकाले स्थानीय २२ वर्षीया राज्यलक्ष्मी हमाललाई एक दिनको लागि पालिका अध्यक्ष नियुक्त गरेको खबर बाहिरिएको छ । बालिका तथा किशोरीको अधिकार संरक्षण, सम्बर्द्धन र सशक्तीकरण गर्न हमाललाई मंगलबार एक दिनका लागि अध्यक्ष बनाइएको हो ।
लिड एण्ड डिसाइड परियोजना अन्तर्गत हिंसा न्यूनीकरण गर्न र बालिका सबै बराबरी भन्ने सन्देश प्रवाह गर्न कार्यक्रम गरिएको थियो । किशोरीमाथि हुने दुव्र्यवहारको जोखिमबाट सचेत गराउन र संरक्षण प्रदान गर्न पालिका प्रतिबद्ध रहने हमालको भनाइ छ ।
गाउँपालिका अध्यक्षको जिम्मेवारी पाएपछि हमालले भन्नुभयो, ‘हामी स्थानीय सरकारका लागि पालिका तहमा बालबालिका तथा किशोर–किशोरीको इन्टरनेटमा पहँुच र अनलाइन माध्यमबाट हुन सक्ने दुव्र्यवहारको रोकथाम गर्न प्रतिबद्ध गरेकी छु ।
पालिकाले प्लान इन्टरनेसनल नेपाल, हामी दाजुभाइ, आत्म सम्मानका लागि सहकार्य (क्याड) नेपाल जुम्लालगायत संघ–संस्थासँग सहकार्य गरी बालिका सबै बराबरी हुन भन्ने अभियानलाई स्थानीय स्तरमा अघि बढाएको जनाएको छ । गाउँपालिका अध्यक्ष देवलसिंह रावलले स्थान दिएमा युवालाई उर्जा दिने र भविष्यमा काम गर्ने प्रेरणा मिल्नेमा जोड दिनुभयो ।- उज्यालो अनलाइन