
उपचारका क्रममा बालिकाको मृत्यु भएपछि तनावग्रस्त बनेको पाँचथर अस्पतालको समस्या समाधानका लागि चार बुँदे सहमति भएको छ ।आज जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय छलफलबाट प्रशासन र मृतक बालिकाका परिवारबीच चार बुँदे सहमति भएको हो ।घटनाको छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न समिति गठन गर्ने सहमति भएको छ । नेपाल रेडक्रस सोसाइटी पाँचथर शाखाका सभापति कृष्णप्रसाद बाँस्कोटाको संयोजकत्वमा अस्पताल विकास समितिका सदस्य दीपक नेपाल, मृतक बालिकाका बाबु कमल थाम्सुहाङ र छिमेकी होमराज थाम्सुहाङ तथा जिल्ला अस्पतालका मेडिकल रेकर्ड अधिकृत नारायण जोशी सदस्य रहेको छानबिन समिति गठन गरिएको हो ।
यस्तै मृतक बालिकाका परिवारका सदस्यलाई उपयुक्त समयमा रोजगारीका लागि प्रयत्न गर्ने, मृतक बालिकाको काजकिरियाका लागि रु ४० हजार रकम अस्पताल विकास समिति र रेडक्रस सोसाइटी शाखाले उपलब्ध गराउने सहमति भएको छ ।यस्तै आवश्यक कानूनी प्रक्रिया पूरा गरी बालिकाको शव अस्पतालबाट उठाई शव परीक्षण गरी अन्तिम संस्कार गर्ने सहमति समेत भएको छ । फालेलुङ गाउँपालिका–८ घर भई फिदिम–२ बस्ने कमल थाम्सुहाङकी साढे तीन वर्षीया छोरी कृष्टिनाको उपचारका क्रममा हिजो बिहान मृत्यु भएपछि जिल्ला अस्पताल तनावग्रस्त बनेको थियो । प्रशासनले अस्पताल क्षेत्रको सुरक्षालाई ध्यान दिइ नियन्त्रणमा नलिँदा उत्तेजित भीडले गरेको आगजनीमा अस्पतालका संरचनामा ठूलो क्षति पुगेको छ ।
यो पनि – उपचाररत बालिकाको मृत्यु प्रकरण: पाँचथर अस्पताल तोडफोड ः आकस्मिक बाहेकका सेवा बन्द
पाँचथर, २१ असोज (रासस) ः उपचाररत बालिकाको मृत्यु प्रकरणमा गए राति जिल्ला अस्पतालमा तोडफोड हुँदा अस्पतालका संरचनामा क्षति पुगेको छ । स्वास्थ्यकर्मीको लापरवाहीले बालिकाको ज्यान गएको आरोप लगाउँदै तोडफोडमा उत्रिएको समूहले ढुङ्गामुढा गर्दा अस्पतालको बाहिरी संरचनामा क्षति पुगेको छ । अस्पतालको आकस्मिककक्ष, कोभिड–१९ सङ्क्रमितको उपचार हुने एचडीयू सहित अस्पतालका झ्याल ढोका सहितका संरचना फुटेका छन् ।
जिल्ला अस्पतालको बाहिर ढुङ्गा, इँटा, काठ, मुढा, रडको थुप्रो लागेको छ । अस्पतालमा रहेका कुर्सी टेबलसहितका सामग्री फुटेका छन् भने अस्पतालको बगैँचा पनि क्षतविक्षत छ । जिल्लाको फालेलुङ गाउँपालिका–८ घर भई फिदिम नगरपालिका–२ बस्ने कमल थाम्सुहाङकी साढे तीन वर्षीया छोरी कृष्टिना थाम्सुहाङको उपचारका क्रममा बुधबार बिहान अस्पतालमा निधन भएको थियो । यसपछि आफन्त र अन्य स्थानीयवासीले स्वास्थ्यकर्मीको लापरवाहीले ज्यान गएको जनाउँदै यसको विरोधमा उत्रेका थिए । बिहानबाट अस्पताल प्रशासन, प्रशासनिक निकाय तथा बालिकाका आफन्तबीच छलफल भए पनि बेलुकीसम्म निष्कर्षमा नपुग्दा उत्तेजित बनेको भीडले अस्पतालको संरचनामा जथाभावी प्रहार गरेको थियो ।
आगजनीमा उत्रेकालाई तितरबितर पार्न प्रहरीले पटक–पटक अश्रुग्यास प्रहार गरे पनि उत्तेजित भीड प्रहरीसँगै जाइलागेको थियो । रातभरजसो फिदिमका चोकमा प्रहरीले आन्दोलनकारीलाई धपाउने प्रयास गरेको थियो ।
अस्पतालका भौतिक संरचनामा तोडफोड हुनुका साथै आपत्तिजनक नाराबाजी भएपछि स्वास्थ्यकर्मी उपचारमा खटिने वातावरण बनेको छैन । अस्पताल प्रशासनले आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ । आकस्मिककक्षसमेत सहजरूपमा सञ्चालन हुनसक्ने अवस्था छैन । अस्पतालमाथि आज बिहान समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालयमा संवाद गरिएको थियो । संवादमा बालिकाको शव बुझ्ने तथा घटनाको छानबिन गर्न समिति गठन गर्ने सहमति भएको छ । यस्तै अस्पताल प्रशासनले बालिकाको काजकीरिया खर्चका लागि रु ४० हजार रकम उपलब्ध गराउने भएको जनाइएको छ ।
यो पनि – उपचाररत बालिकाको मृत्युपछि पाँचथर अस्पताल तनावग्रस्त
पाँचथर जिल्ला अस्पतालमा उपचाररत एक बालिकाको उपचारका क्रममा मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ । मृतक बालिकाका आफन्तले चिकित्सकको लापरवाहीका कारण बालिकाको ज्यान गएको भन्दै शव उठाउन अस्वीकार गर्नुका साथै स्वास्थ्यकर्मीमाथि कारवाहीको माग राख्दै नाराबाजीमा उत्रिएपछि अस्पताल तनावग्रस्त बनेको छ ।
पाँचथरको फालेलुङ गाउँपालिका–८ स्थायी ठेगाना भई फिदिम नगरपालिका–२ मा बस्दै आएकी तीन वर्षीया बालिकाको उपचारका क्रममा आज बिहान ७ः३० बजे मृत्यु भएपछि मृतकका आफन्त आन्दोलित बनेका हुन् ।
मङ्गलबार अस्पताल भर्ना भएकी बालिका आज ठिक भएपछि घर पठाउने तयारी भइरहेकै अवस्थामा आज बिहान उपचारकै क्रममा सुई लगाइएपछि अचानक बेहोस भएकी थिइन् । लगत्तै उनको मृत्यु भएको थियो । मृतक बालिकाका आफन्तले स्वास्थ्यकर्मीले गलत औषधि प्रयोग गर्नाले बालिकाको ज्यान गएको आरोप लगाएका छन् । स्वास्थ्यकर्मीले औषधिको प्रयोगपछि हुने आकस्मिक प्रतिक्रियाका कारण बालिकाको ज्यान गएको हुनसक्ने बताएका छन् । यद्यपि यस विषयमा जिल्ला अस्पतालले आधिकारिक जानकारी गराउन बाँकी छ ।
बिहानदेखि तनावग्रस्त बनेको अस्पताल अझै शान्त हुन सकेको छैन । घटनाका सम्बन्धमा बिहानबाटै छलफल भइरहे पनि समाधानमा पुग्न नसकिएको अस्पताल विकास समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस