
काठमाडौं । दोलखाका रामप्रसाद कँडेलले संघर्ष गरेर ६ सन्तान हुर्काए । दुई दशक जागिर खाए । अहिले उनी नयाँ बसपार्कमा पानी बेचेर जीविका गरिरहेका छन् । काम ठूलो सानो त हुँदैन ।
तर, शरीर नै धर्मराउन थालेपछि उनीभित्र न व्यवसाय गर्ने साहस छ, न सन्तानको आडभरोसा ।६ सन्तान भएपछि रामप्रसादलाई लागेको थियो– जीवनको उत्तरार्द्धमा सहज हुनेछ । तर, समयलाई त्यो मञ्जुर भएन । सन्तान लाखापाखा लागे । कमाएको सम्पत्ति सन्तानकै शिक्षादीक्षामा सकियो ।
अनि दालभात जुटाउन बुढेसकालको शरीर घिसारेर पानी बेच्न थाले ।पानी बेच्न थालेको पनि ६ वर्ष वितिसक्यो । उनी गुड्दै गरेको बस पक्रन सक्दैनन् । बस नपक्रिए व्यापार हुँदैन । दशैंमा घर जानेको भीडले बसपार्क गुल्जार भइरहँदा उनी आफूलाई एकांकी सम्झिएर बलिन्द्र आँसु झार्छन् ।
मानौं भीडभित्र पनि एक्ला छन् उनी ।पानी बेचेर दिनको ३ सय बढी कट्दैन । हात पसारेर खान स्वाभिमानले दिँदैन ।
‘जति नै दुःख परे पनि नखाइ नहुने रैछ,’ आँसुु झार्दै उनी भन्छन्, ‘लानु केही छैन, बाचुन्जेल खानैपर्यो ।’ पानी बेच्दै गर्दा उनलाई दुईपटक गाडीले ठक्कर दिइसक्यो ।
‘दुई पटकसम्म गाडीले हानिसक्यो,’ उनी भन्छन्, ‘खै कसरी–कसरी होस आएर बाँचेछु ।’पानी बेच्दा बेच्दै थाकेपछि रामप्रसाद नजिकैको चौतारामा बसेर चिया खाँदै सुस्ताउँछन् । विगत झलझली आउँछ । त्यसपछि आँखा गंगा बनाएर आफैंले आफैंलाई सम्हादै काममा फर्कन्छन् ।
मध्यमवर्गीय थुप्रै ज्येष्ठ नागरिकको कथा हो यो । आफ्नो श्रममा बाँच्न चाहने यस्ता पात्र दया होइन, प्रोत्साहन खोजेका छन् । प्रेमको भरोसा चाहेका छन् ।इमेज खबर बाट
अफगानिस्तानमा एक मस्जिदमा आत्मघाती आक्रमण हुँदा ५० जनाको मृत्यु भएको छ । अफगानिस्तानको कुन्दुज प्रान्तको उत्तरपूर्वी क्षेत्रमा रहेको एक शिया मस्जिदमा उक्त आत्मघाती आक्रमण भएको थियो । सो आक्रमणमा परि १४० जना भन्दा बढी घाइते भएको अन्र्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । एसोसिएटेड प्रेसले भने तालिबानका एक प्रहरी अधिकारीलाई उदृत गर्दै सो आक्रमणमा करिब एक सय जना मारिएको दाबी गरेको छ ।
शिया समुदायको शैय्यद अबद मस्जिदभित्र स्थानीय समयअनुसार १ः४० बजे शक्तिशाली विस्फोट भएको थियो । आज नमाज पढ्न मानिसहरु भेला भएका बेला विस्फोट भएको जनाइएको छ ।यो आक्रमण अमेरिकी सेनाले अफगानिस्तान छोडे पछि सबैभन्दा ठुलो आक्रमण भएका जनाइएको छ । आक्रमणको जिम्मा अहिले सम्म कुनै पनि संगठन तथा समुहले लिएको छैन । तर लामो समय देखी इस्लामिक स्टेटको सुन्नी मुस्लिम कट्टरपन्थी समूहले शिया समुदायलाई निशाना साँध्दै आएको छ ।