शुक्रबार २१ आश्विन २०७९

अण्डाको उत्पादन घटेसँगै मूल्यमा वृद्धि भएको छ । दैनिक ४५ लाख हाराहारी उत्पादन हुने अण्डा अहिले घटेर ३५ लाख हाराहारीमा झरेसँगै मूल्य बढेको हो । नेपालमा दुई हजार ७०० हाराहारी पोल्ट्री फर्म छन् । नेपाल अण्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसीका अनुसार नोक्सान बढेपछि धेरै किसान विस्थापित भएसँगै उत्पादन घटेको हो । उहाँले भन्नुभयो, “साना किसान विस्थापित भएका छन् ठूला स्थापित हुँदैछन् ।” अण्डा उत्पादन क्षेत्रमा मात्रै ४० हजार हाराहारीले रोजगारी पाएको उहाँको भनाइ छ । नेपालमा अण्डामा आत्मनिर्भर छ । ठूला फर्म सञ्चालनमा आएसँगै साना विस्थापित हुँदासमेत मागलाई जेनतेन धान्दै आएका छन् ।

आज नेपालमा विश्व अण्डा दिवस मनाइएको छ । यसै सन्दर्भमा पोल्ट्री व्यवसायी मञ्चले सन्देश प्रवाह गर्दै अण्डाको उपभोग बढाउन आह्वान गरेको छ । सन्देशमा अण्डामा पाइने एन्टी अक्सिडेनटले बुढ्यौली र हृदयघात रोक्न मद्दत गर्ने जनाइएको छ । आँखाको शक्ति बढ्ने र मोतीयाविन्दुको रोकथाम हुने, प्रशस्त मात्रामा पाइने क्याल्सियम फस्फोरसबाट हड्डी र दाँत मजबुत बनाउने, रक्त अल्पताबाट बचाउने, रोग प्रतिरोधी क्षमता, जवानीपन र स्मरण शक्ति बढाउने र अधिक तौल (मोटोपना) घट्न गइ फुर्तिलो बनाउन सहयोग गर्ने जनाइएको छ । मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेद्वारा जारी सन्देशमा स्वास्थका लागि अत्यावश्यक, पूर्णपाचनशिल, सन्तुलित, उच्च गुणस्तरको प्रोटिन र एमिनो भण्डार अण्डा बालकदेखि वृद्धवृद्धासम्मका लागि उत्तम प्रोटिनको स्रोत भएको उल्लेख छ ।

विश्वभर कुखुरापालन व्यवसायको विकाससँगै विश्वभरका पोल्ट्री व्यवसायीको सन् १९९६ मा इन्टरनेशनल एग कमिशन स्थापना भएको र हरेका अक्टुवर महिनाको दोश्रो शुक्रबार विश्व अण्डा दिवस मनाउने परम्परा रही आएको छ ।

यो पनि – गरिबको छाप्रोमा आएन दसैँ

म्याग्दीको बेनी नगरपालिका–२ फापरखेतका आइते दर्जी दृष्टिविहीन हुनुहुन्छ । शारीरिक रूपमा कमजोर जन्मदेखि नै दृष्टिविहीन दर्जीको जिम्मेवारी भने थेगिनसक्नुको छ । हुर्केका दुई छोरा बेरोजगार छन् भने कमाइखाने जग्गा जमिन नहुँदा आफूले गिट्टी गुट्ने र श्रीमतीले दैनिक ज्याला मजदुरी गरेर साँझ बिहानको गर्जो टार्दै आउनुभएको छ ।

उहाँको दयनीय अवस्था देखेर देशविदेशमा रहेका केही व्यक्तिहरूको सहयोगबाट निर्माण गरिएको सानो घरमा बस्दै आउनुभएका दर्जीलाई अघिपछि त खासै नियास्रो लाग्दैन । तर जब चाडपर्व आउँछन् तब आफ्नो अवस्था र गरिबीलाई धिक्कार्न मन लाग्छ । अहिले हुनेखाने र शारीरिक रुपमा सबल व्यक्तिलाई दसैँंको रौनकले छोएको छ । देश विदेशमा रहेका परिवारका सदस्य जमघट हुने, मिठामिठा परिकार खाएर रमाउने, आपसमा खुशी साट्ने गरिरहँदा आइते दर्जी जस्तै अत्यन्त विपन्न परिवारलाई भने ‘साँझ खाए बिहान के खाउँ’ भन्ने चिन्ताले पिरोलिरहेको छ ।

बेनी नगरपालिका–५ पुलाचौरको पुरण्यका गणेश दर्जीको अवस्था पनि आइतेको भन्दा कम दयनीय छैन । शारीरिक रूपमा सबल भए पनि गणेश दर्जीलाई भाग्यले भने कहिल्यै साथ दिएन । आफ्नो बुबाको जग्गा जमिन अर्कैले रजिष्ट्रेशन पास गराएर हडपेपछि सुकुम्वासी बनेका ४२ वर्षीय गणेशले बाल्यकालदेखि अहिलेसम्म कहिल्यै पनि सुखको सास फेर्न सक्नुभएन ।

दुई छोरी र आमा गरी पाँच जना परिवारको जिम्मेवारी एउटै व्यक्तिको काँधमा आउँदा जग्गा जमिन र नियमित आम्दानीको कुनै स्रोत नभएका गणेश सधैँ के खाने र कसरी आङ छोप्ने भन्ने पिरलोले नै रन्थनिने गर्नुहुन्छ । यी दुई जना दर्जी बन्धुहरूका जस्तै अवस्था भएका धेरै व्यक्ति हुनुहुन्छ । जसलाई न चाडवाडको रमाइलोले छुन्छ न त दसैँ तिहारजस्ता पर्व आउनु र नआउनुमा कुनै फरक नै पर्छ ।

वडादसैँमा हुनेका लागि किनमेल सुरु भइसकेको छ । फापरखेतका आइते र पुरण्यका गणेशजस्तै म्याग्दीका धेरै विपन्न परिवारका सदस्यलाई भने दसैँंको कुनै माहोल लागेको छैन । छरछिमेकी दसैँको जोहो गर्नतिर लागेका छन् । घरमा परिवार जम्मा भएका छन् । गरिबको घरमा दसैँको लागि केही सोचिएकै छैन । गरिब र विपन्न वर्गको उत्थानका लागि सरकारले दिने सहुलियत र सुविधा पनि वास्तविक गरिब र विपन्न वर्गको पहुँचसम्म पुग्न सकेको देखिँदैन । राजनीतिक रुपमा पहुँच भएका, टाठाबाठाले नै गरिबको नाममा आएको सहुलियत र सुविधा दुरुपयोग गर्ने गरेको बेनी नगरपालिका–५ पुरण्यका यामबहादुर दर्जीले बताउनुभयो ।

“हामीलाई त केही छैन, अलिअलि भए पनि खेतवारी छ, झुपडी नै भए पनि आफ्नै जग्गामा बसेका छौँ, हातगोडा सबल छन्, परिश्रम गरेर खान्छौँ, चाडपर्व मनाउँछैँ”, यामबहादुरले भन्नुभयो, “गणेशजस्ता निरिह, केही नभएका र बोल्न सक्ने ल्याकत पनि नभएका अति पीडित र विपन्नको नाउँमा आउने सुविधा र सहुलियत त सम्बन्धित व्यक्तिले पाए उनीहरूको अवस्था केही सुधार हुन्थ्यो होला नि ।”

त्यसैगरी ज्यामरुककोटकी ६९ वर्षीया गङ्गादेवी सार्कीका श्रीमान् १० वर्षदेखि बेपत्ता हुनुहुन्छ । उहाँ अहिले सेउली बजारको सुकुम्वासी जग्गामा बसोबास गर्दै आउनुभएको छ । उहाँको नाममा जग्गा जमिन केही छैन । ज्यामरुककोट फापर खेतकै पतिराम सार्की बेसाहारा हुनुहुन्छ । उहाँका न सन्तान छन् न सम्पत्ति नै । त्यस्तै ४० वर्षीया तुलसी सार्की एकल महिला हुनुहुन्छ । उहाँको पनि सम्पत्तिको नाउँमा तिल राख्ने ठाउँ नभएको उहाँ बताउनुहुन्छ । त्यस्तै घरबार बिग्रेर माइतै बसी, अरुको घरमा निमेक गरेर दुई बालबच्चा हुर्काइरहेकी फापरखेतकै ४५ वर्षीया बैरी सर्किनीको अवस्था पनि अत्यन्तै कहाली लाग्दो छ । यी सबै व्यक्तिलाई दसैँंको कुनै पनि रौनक र रमाइलो छैन । रात दिन गरिबीमा पिल्सनु र आधा पेट खाएर साँझ बिहान घचेट्नुबाहेक अर्को उपलब्धी अहिलेसम्म जीवनमा प्राप्त नभएको उहाँहरूको भनाइ छ ।

“सबैको घरमा दसैँं आएको छ तर हाम्रो घरमा निराशा लागेको छ”, फोनमा कुरा गर्दै गणेशले भन्नुभयो, “छोरीहरूले नयाँ कपडा र मीठो खानेकुरा चाहियो भन्छन्, आफूलाई साँझ बिहानको गाँस जुटाउनै धौँधौँ परेको छ, कहाँबाट ल्याउनु नयाँ कपडा र मीठो खानेकुरा ।” दसैँ हुनेखाने र भए खाने वर्गको बीचमा ठूलो खाडल बनेको यहाँका वुद्धिजीवी बताउँछन् । हुनेखानेले जति महँगो भए पनि रामै्रसँग दसैँं मनाउँदा नहुनेको मनमा खिन्नता उत्पन्न हुन्छ ।

प्रतिक्रिया दिनुहोस


Last Updated on: October 9th, 2021 at 12:58 pm
१२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया