
सन् २०२२ मा हुने फिफा विश्वकपको छनोट खेलमा ब्राजिलले आफ्नो विजयी यात्रालाई कायमै राखेको छ । शुक्रबार बिहान विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत दसौँ खेल खेलेको ब्राजिलले भेनेज्वलालाई ३–१ गोलले हराएको हो ।
भेनेज्वलाको मैदानमा ब्राजिलले घरेलु टोली बनाएको अग्रता उल्टाउँदै जित निकालेको हो । ब्राजिलको जितमा मार्कुइन्होस, ग्राबियल बर्बोसा र एन्टोनीले एक–एक गोल गरे । भेनेज्वलाका इकिर रमिरेजले एक गोल गरे ।
भेनेज्वलाले रमिरेजको गोलमा सुरुआती अग्रता बनाएको थियो । खेलको ११औँ मिनेटमा उनले गर्दै भेनेज्वलालाई अग्रता दिलाएका थिए । खेलको ७१औँ मिनेटसम्म भेनेज्वलाले अग्रता कायम राख्यो ।
तर त्यसपछि भने ब्राजिल खेलमा फर्कियो । ७१औँ मिनेटमा मार्कुइन्होसले गोल गर्दै ब्राजिललाई खेलमा फर्काए ।
८५औँ मिनेटमा ब्राजिलले पेनाल्टीको मौका पाएका थिए, जसमा बर्बोसाले गोल गर्दै ब्राजिललाई २–१ गोलको अग्रता दिलाए । इन्ज्युरी समयमा एन्टोनीले गोल गर्दै ब्राजिललाई ३–१ गोलले जिताए ।
जितसँगै शीर्ष स्थानमा रहेको ब्राजिलले आफ्नो विजयी यात्रा कायमै राखेको छ । उसले १० खेलमा ३० अङ्क जोडेको छ । भेनेज्वला भने चार अङ्कका साथ पुछारमा छ ।