बिहिबार ११ कार्तिक २०७८

मोरङको उर्लाबारीकी मीना बरालको ४८ जना सन्तान छन् भन्दा कसैलाई पत्यार लाग्दैन यद्दपि यो सत्य हो । आफैले त्यति धेरै सन्तानलाई जन्म नदिए पनि मीनाले सडकमा भेटिएका बालबालिकालाई कर्म दिने आमाको भूमिका निर्वाह गरिरहेकी छन् ।

वि.सं २०५७ सालमा महिला विकास तथा बालबालिका चेतना केन्द्रद्वारा असहाय वृद्ध अनाथ आश्रम नामक गैरसरकारी संस्था दर्ता गरेर काम थाल्दा मीनाले ‘कमाइखाने’ भाँडो बनाउन खोजेको भन्दै कतिपयले कुरा काटे । त्याे बेला उनलाई राम्रो काम गर्न खोज्दा पनि साथ नपाइने हो कि भन्ने चिन्ताले सताएको थियो । तर, मीनाको दिगो र दूरदर्शी योजना मुताविक उर्लाबारी–७ मा बाल गृह सञ्चालनमा ल्याइएको पनि २१ वर्ष भइसकेको छ ।

वि.सं २०२२ सालमा १० वर्षकै उमेरमा मोरङबाट विवाह गरेर ताप्लेजुङ पुर्‍याएकी मीनाको वैवाहिक जीवन सफल हुन नसक्नु नै यो बालगृह जन्मिने मुख्य कारण हो । त्यतिबेला पढ्ने उमेरमा विवाह भएकाले पछुतो मानिरहेकी उनले नयाँ घरमा लामो समयसम्म संघर्ष गरिरहिन् । तर, श्रीमानले अर्की श्रीमती थपेर आफूलाई पाखा लगाएपछि आत्मसन्तोष र शान्तिको खोजी गर्दै उनी समाज सेवामा लागिन् ।

आफूले सानैमा विवाह गर्दा भोगेको जस्तो पीडा अरू कुनै पनि अनाथ बालबालिकाले भोग्नु नपरोस् भनेर मोरङ उर्लाबारीमा असहाय वृद्ध अनाथ आश्रम खोल्ने निधो गरिन् । उनको यो अभियानमा अन्य महिलाहरूले पनि होस्टेमा हैसे मिलाए । मीनाकै योजनामा सञ्चालनमा ल्याइएको नमूनाबाल गृह प्रदेश १ कै उत्कृष्ट बाल गृहकारूपमा रहेको छ ।

समाजसेवाप्रति उत्साहित मीना आफ्नो पीडा भुलेर ४८ जना बालबालिकाहरूको अभिभावक बनेकी छन् । मीनालाई बालबालिकाले ‘आमा’ भनेर सम्वोधन गर्छन् । दिनरात नभनेर उनी बालबालिकाको सेवामा जुटिरहेकी छन् । काखे शिशुदेखि उच्च मावि तहसम्म पढ्ने बालबालिकाकी आमा हुन्, उनी । उनले अनाथ बालबालिकालाई सहयोग गर्नु सबैभन्दा ठूलो मावन धर्म ठानेकी छन् । त्यसैले पनि उनी आफ्नो गच्छेअनुसारको मानव धर्ममा निरन्तर सक्रिय भएर लागिरहेकी छन् ।

मीना भन्छिन्, ‘सुरुमा विरोध गर्नेहरूले पनि अहिले मलाई सकारात्मक रूपमा लिन थालेका छन् ।’ समाजमा उनको कामप्रति सकारात्मकता बढेपछि उनलाई थप उर्जा मिल्यो। आफ्नो लगाव र मेहनतका कारण समाजसेवाका कर्महरूमा कम बाधा अड्चन आएका उनले सुनाइन् । उनी निरन्तर आफ्नै गतिमा समाजसेवामा हिँडिरहेकी छिन् ।

वैवाहिक जीवन असफल भएपछि अर्को विहे गरेर सीमित सन्तानकी आमा बन्ने अवसर छाडेर असंख्य सन्तानकी आमा बन्ने अवसर संगालिरहेकी मीना अहिले मुलुककै उदाहरणीय आमा गनिएकी छन् । अहिले मीनाका ४८ जना सन्तान छन् । मीनाले त्यति धेरै सन्तानलाई आफ्नै कोखबाट जन्म नदिए पनि सबैका लागि जन्म दिने आमाकै बराबर ममता दिएर हुर्काइरहेकी छन् ।

झाँगिदै छ साझा फूलबारी

वि.सं २०५९ सालमा आश्रमको भवन निर्माण पूरा नहुँदै मीनाले ७ जना असहाय बालबालिका र दुई जना वद्धवृद्धालाई आफ्नै घरमा राखेर पालनपोषण थालेकी थिइन् । भवन निर्माण सम्पन्न भएसँगै आश्रममा बालबालिका र वद्धवृद्धालाई स्थानान्तरण गरियो । अरू असहाय बालबालिका र वृद्धवृद्धा पनि थपिन थाले ।

हाल मेचीदेखि महाकालीसम्मका २२ जिल्लाका ४६ जना बालबालिकाहरू यहाँ आश्रित छन् । कर्णाली प्रदेशको दैलेखसहित पाल्पा, चितवन, भक्तपुर, ओखलढुंगा, खोटाङ, भोजपुर, सखुंवासभा, तेह्रथुम, धनकुटा, उदयपुर, सुनसरी, मोरङ, झापा, इलाम, ताप्लेजुङ, पाँचथरलगायत जिल्लाका बालबालिकाहरू यहाँ एकै छानामुनि हुर्किरहेका छन् । जसमा लोपोन्मुख चेपाङ, अल्पसंख्यक धिमाल, उच्च हिमाली क्षेत्रका शेर्पा, तराइका दनुवार, दलित, बाहुन, क्षेत्री, राई, लिम्बु र मधेशी समुदायका बालबालिका छन् ।

मीनाले थालेको यो अभियानमा स्थानीय समाजसेवी तथा महिला नेतृहरू भागिरथा अधिकारी, सीतादेबी निरौला, अतिहिरा राई, हीरादेबी राई, चन्द्रकला गौतम, सुशिला थापा, कविता थापा, देवका खनाल, मीनादेबी कार्की, लक्ष्मीदेबी सुब्बा र रामप्यारी तामाङले सुरुवाती चरणमा साथ र हौसला दिएका थिए । कतिपय अझै पनि उत्तिकै सकृय छन् ।

महिलाहरूको अगुवाइमा थालिएको यस सामाजिक अभियानमा २०६५ सालदेखि पुरुषहरूको पनि सहभागिता रह्यो । सञ्चालक समितिमा महिलाहरूको ६० प्रतिशत र पुरुषहरूको ४० प्रतिशत प्रतिनिधित्व रहेको छ । सोही गृहकी बालिकाको नामबाट यसको नाम नमूना बालगृह राखिएको हो । बालगृह सञ्चालन गर्न वार्षिक १८ लाख रुपैयाँ खर्च हुने मीनाले जानकारी दिइन् ।

मीनाले आफ्नो भएभरको सम्पत्ति बालगृहको नाममा हस्तान्तरण गरिसकेकी छिन् । मीनाले गृहलाई आफ्नो सम्पत्ति बिक्रीबाट आएको ७० लाख रुपैयाँ बालबालिकाको भबिष्य निर्माणका लागि प्रदान गरेकी हुन् । बालगृहको अक्षकोषमा रहेको रकमले उर्लाबारी–७ को बैँशाबारीमा एक विघाह पाँच कट्ठा जग्गा खरिद गरिएको छ । उक्त जग्गामा नमूना कृषि फार्म दर्ता गरी सञ्चालन गर्ने प्रक्रिया थालिएको छ ।

शिक्षा, रोजगारी र आत्मनिर्भताको बाटो

बालगृहमा रहेका दुई जना बालिका कक्षा ११ मा कृषि बिषय लिएर अध्ययन गरिरहेका छन् । त्यस्तै, पाँच जना उच्च शिक्षा अध्ययनरत छन् भने आठ जना स्थानीय निजी विद्यालयमा अध्ययरत छन् । त्यस्तै, उर्लाबारी–८ को लक्ष्मी माविमा १२ जना अध्ययरत छन् भने २ कक्षासम्मका १९ जना बालबालिका सोही गृहमा रहेको नमूना सदनमा पढ्छन् ।

उनीहरूमध्ये केहीको शुल्क विद्यालयले छुट दिएका छन् भने केहीको बालगृहले नै व्यहोर्ने गरेको छ । बालगृहभित्रै चल्नेगरी दर्ता भएको नमूना शिक्षा सदन पनि पाँच वर्षदेखि निरन्तर सञ्चालनमा छ । ३ कक्षासम्म जिल्ला शिक्षा कार्यालय मोरङबाट स्वीकृति प्राप्त गरेपनि आवश्यक सहयोग नजुटेका कारण २ कक्षासम्म मात्र सञ्चालनमा छ ।

बालगृहमा रहेको नमूना बाल केन्द्रमा एक जना सहयोगी शिक्षिकालाई मासिक रुपमा ३ हजार रुपैँयाबाहेक अन्य सहयोग राज्यबाट प्राप्त नभएको गृहकी सहसचिव सुशिला थापाले बताइन् । स्थानीय गरिब, विपन्न तथा बालगृहका १९ जना गरी ३६ जना बालबालिकाहरू नमूना शिक्षा सदनमा २ कक्षासम्म अध्ययन गर्छन् । बाल गृहमा रहेको विद्यालयमा आवश्यकता अनुसार शिक्षकहरूको ब्यवस्था नभएकाले पठनपाठनमा समस्या हुने गरेको छ । देशविदेशमा रहेका सहयोगीदाताहरूको भरमा चलिरहेको बालगृहमा सरकारी सहयोग भने अझै पुग्न नसकेको मीनाले सुनाइन् ।

आठ जनाले पाए नागरिकता

नमूना बालगृहमा आश्रित आठ जनाले नेपाली नागरिकताकाे प्रमाणपत्र लिइसकेका छन् । उनीहरूको नागरिकता बालगृहले नै बनाइदिएको हो । यहाँ बस्ने प्रत्येक बालबालिकाको जन्मदर्ता उर्लाबारी नगरपालिकाले गर्नेगर्छ । जिल्ला प्रशासन कार्यालय मोरङमार्फत बालगृहले नागरिकता बनाइदिने गरेको मीनाले बताइन् ।

नागरिकता बनाउँदा बाबु वा आमाले गर्ने सनाखत बालगृहले नै गर्दा अहिलेसम्म कुनै कानुनी र व्यवहारिक अड्चन भने नदेखिएको उनको भनाइ छ । सबैको साथ र सहयोगका कारण नागरिकता बनाउन सहज भएको उनी बताउँछिन् । बालगृहमा आश्रित सात जना सक्षम भइ हाल अध्ययनसँगै रोजगारीसमेत गरिरहेका उनले बताइन् ।

उनीहरुलाई आफन्तको खोजी गरी पुर्नस्थापित गरिसकिएको छ । त्यस्तै, रीता विकले गृहबाटै विवाह गरी आफ्नो घरजम गरेर बसेकी छिन् भने राम राउत बालगृहकै एम्बुलेन्स चलाउँछन् ।

 


Last Updated on: October 10th, 2021 at 11:43 am
११३ पटक हेरिएको

तपाईको प्रतिक्रिया