बिहिबार ११ कार्तिक २०७८

मालदिभ्समा जारी १३औँ संस्करणको साफ च्याम्पियनसिपमा आज नेपालले आफ्नो तेस्रो खेलअन्तर्गत सर्वाधिक धेरै सात पटकको विजेता टिम भारतको सामना गर्दै छ । राजधानी माले स्थित राष्ट्रिय रङ्गशालामा हुने उक्त खेल आज राति नेपाली समयानुसार राति ९ः४५ बजेबाट सुरु हुनेछ ।

यस खेलमा नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ भने भारत पहिलो जितका लागि भिड्नेछ । यसअघि पहिलो खेलमा घरेलु टिम मालदिभ्समाथि १–० गोलको जित निकालेको नेपालले दोस्रो खेलमा श्रीलङ्कालाई ३–२ गोलले हराएको थियो । भारत भने पहिलो खेलमा बङ्गलादेशसँग १–१ गोलको र दोस्रो खेलमा श्रीलङ्कासँग गोलरहित बराबरीमा रोकिएको थियो । नेपाल ६ अङ्कसहित शीर्ष स्थानमा छ भने भारत दुई अङ्कसहित चौथो स्थानमा छ ।

अब, तेस्रो खेल खेल्दा दुवै टिम एक–अर्कामाथि जित निकाल्ने दाउमा छन् । भारत नेपालको तुलनामा बलियो टिम हो । तर भारतविरुद्धको खेल नेपालको लागि महत्त्वपूर्ण रहेको छ । साफ जित्ने लक्ष्यसहित मालदिभ्स पुगेको नेपाल भारतविरुद्ध जित निकाल्दै फाइनल पुग्न चाहन्छ ।

मालदिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले आज मैत्रीपूर्ण फुटबल खेल खेल्दै छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।

हालसम्म भारतसितको फितलो प्रदर्शनका बाबजुद पनि नेपाली टोली जितको दाउमा छ । तथापि, नेपाली टोलीका लागि टाउको दुखाइ भारतीय कप्तान सुनिल क्षेत्री बनेका छन् । नेपाली मूलका ३६ वर्षीय क्षेत्री विश्वमै नाम कमाएका कीर्तिमानी खेलाडी हुन् । जारी साफमा उनले दुई खेलमा एक गोल गरेका छन् । क्षेत्रीले १२२ खेलमा ७५ गोल गरेका छन् । त्यसैले नेपाली टोलीको लक्ष्य क्षेत्रीलाई रोक्नेमा बढी केन्द्रित देखिन्छ ।

यस्तो छ भारतविरुद्ध नेपालको इतिहास

दोस्रो दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ) मा नेपाल र भारतबिच पहिलो पटक फुटबलमा सन् १९८५ डिसेम्बर २१ मा प्रतिस्पर्धा भएको थियो । बङ्गलादेशको ढाकास्थित बंगबन्धु रङ्गशालामा भएको उक्त खेलमा भारतले नेपाललाई २–० गोल अन्तरले पराजित गरेको थियो । नेपाली टोलीको सुरुआत सुखद रहेन । त्यसयता नेपाल र भारतबिच फुटबलमा १९ पटक भिडन्त भएको छ ।

भारत १३ पटक विजयी भएको छ भने नेपालले दुई चोटि मात्र जित निकाल्न सक्यो । तीन खेलमा दुवै टोलीले बराबरी खेलेका थिए । समग्रमा नेपाली टोली भारतसामु निरीह साबित भएको छ । विश्व फुटबल महासङ्घ (फिफा) वरीयताअनुसार पनि नेपालभन्दा भारत फुटबलमा निकै अब्बल देखिन्छ । फिफा वरीयताअनुसार भारत १०५ औँ स्थानमा छ भने नेपाल १६८ स्थानमा छ ।

नेपाल र भारतबिच सन् १९८७ डिसेम्बर २३ मा दोस्रो दक्षिण एसियाली खेलकुदमा दोस्रो पटक प्रतिस्पर्धा भएको थियो । भारतको कोलकातामा भएको उक्त खेलमा भारतले नेपाललाई २–० गोल अन्तरले हराएको थियो । सन् १९८९ अक्टोबर २३ मा पाकिस्तानमा भएको साफ खेलमा नेपाल भारतसित २–१ गोलले हार बेहोर्न पुग्यो । उक्त खेलमा नेपालका लागि मणि शाहले पहिलो गोल गरेका थिए ।

यस्तै सन् १९९३ जुलाई १९ मा पाकिस्तानको लाहोरमा सम्पन्न साफ च्याम्पियनसिपमा भारतले नेपाललाई १–० गोलले हराएको थियो । सन् १९९३ डिसेम्बर २६ मा बङ्गलादेशको ढाकामा सम्पन्न दक्षिण एसियाली खेलकुदमा नेपालले भारतलाई टाइब्रकरमा ४–३ गोलले जितेको थियो । निर्धारित र अतिरिक्त समयमा पनि दुवै टोलीबाट दुई–दुई गोल मात्र हुन सकेको थियो । नेपालले भारतलाई पहिलो पटक हराउन सफल भएको थियो । नेपालका तर्फबाट उमेश प्रधान र मणि शाहले गोल गरेका थिए । त्यसअघिको सेमिफाइनल खेलमा दुवै टोलीले दुई–दुई गोलको बराबरी खेलेको थियो ।

यसै गरी, सन् १९९५ डिसेम्बर २५ मा भारतको मद्रासमा भएको साफ खेलमा भारतले नेपाललाई ३–० गोलले पराजित गरेको थियो भने सन् १९९८ डिसेम्बर ५ मा थाइलेण्डको बैंककमा भएको एसियाली खेलकुदमा भारतले नेपाललाई १–० गोलले हराएको थियो । सन् १९९९ सेप्टेम्बर ३० मा काठमाडौँमा भएको आठौँ दक्षिण एसियाली खेलकुदमा भारतले नेपाललाई ४–० गोल अन्तरले हराएको थियो । सन् २००५ डिसेम्बर १८ मा पाकिस्तानको कराँचीमा सम्पन्न साफ च्याम्पियनसिपमा भारतले नेपाललाई २–१ गोलले हराएको थियो । सो खेलमा नेपालका लागि वसन्त थापाले गोल गरेका थिए

यस्तै सन् २००६ अप्रिल ९ मा बङ्गलादेशमा भएको एएफसी च्यालेन्ज कपमा भारतलाई नेपालले ३–० गोलले हराएको थियो । नेपालका लागि प्रदीप महर्जनले दुई तथा वसन्त थापाले एक गोल गर्नुभएको थियो । सन् २००८ जुन ३ मा मालदिभ्सको मालेमा सम्पन्न साफ च्याम्पियनसिपमा भारतले नेपाललाई ४–० गोलले तथा सन् २००९ डिसेम्बर ७ मा बङ्गलादेशमा सम्पन्न साफ च्याम्पियनसिपमा भारतले नेपाललाई १–० गोलले पराजित गरेको तथ्याङ्क छ ।

यस्तै सन् २०१२ अगस्ट ५ मा भारतको नयाँ दिल्लीमा भएको नेहरु कपमा दुवै देशले गोलरहित बराबरी खेलेका थिए । सन् २०१३ सेप्टेम्बर पाँचमा काठमाडौँमा सम्पन्न साफ च्याम्पियनसिपमा नेपालले भारतलाई २–१ गोलले हराएको थियो । उक्त खेलमा जुमानु राई र अनिल गुरुङले गोल गर्नुभएको थियो । सन् २०१३ नोभेम्बर १९ मा भारतको पश्चिम बंगालको सिलिगुढीमा आयोजना गरिएको मैत्रीपूर्ण खेलमा भारतले नेपाललाई २–० गोलले पराजित गरेको थियो ।

यसै गरी सन् २०१५ मार्च १७ मा काठमाडौँमा सम्पन्न खेलमा नेपालले भारतसित गोलरहित बराबरी खेलेको थियो भने सन् २०१५ अगस्ट ३१ मा भारतको पुनामा भएको मैत्रीपूर्ण खेलमा पनि दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । यस्तै सन् २०१५ डिसेम्बर २७ मा भारतको त्रिवेन्द्रममा सम्पन्न साफ च्याम्पियनसिपमा भारत ४–१ गोलले विजयी भएको थियो । उक्त खेलमा नेपालका लागि विमल घर्ती मगरले गोल गरेका थिए । सन् २०१७ जुन सातमा भारतको मुम्बईमा भएको मैत्रीपूर्ण खेलमा भारतले नेपाललाई २–० गोल अन्तरले हराएको थियो ।

गत महिना भारतले नेपालमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो, जसमा पहिलो खेलमा बराबरी खेलेको भारतले दोस्रो खेलमा जित दर्ता गरेको थियो ।

 


Last Updated on: October 10th, 2021 at 6:01 pm
१०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया