मंगलबार १४ चैत्र २०७९

आइतबार साँझ वालिङ–१० मदिखोला नजिकै भएको जिप दुर्घटनामा परी एउटै गाउँका दुईसहित तीन जनाको मृत्यु भएको छ । गल्याङ नगरपालिका–१० लिहुडाँडाका ७७ वर्षीय दलबहादुर पल्ली र ३२ वर्षीया गङ्गा पल्ली, सोही वडाको गाउँसौराकी चार वर्षीया करिष्माको मृत्यु भएपछि अहिले गाउँ नै शोकमा डुबेको छ । जिपमा सवार रहेका १९ जनामध्ये आइतबार वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उपचारका क्रममा दुई जना र गए राति पोखरास्थित मणिपाल अस्पतालमा थप एकसहित तीन जनाको मृत्यु भएको हो ।

गल्याङ नगरपालिका–१० की करिष्मा थापाको मणिपाल अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

ज्यान गुमाउनेमध्ये तीनै जना एउटै वडाका हुन् भने दुई जना लिहुडाँडाका र एकजना गाउँसौराका रहेका गल्याङ नगरपालिका–१० का वडाध्यक्ष ध्रुवप्रसाद शर्मा पङ्गेनीले जानकारी दिनुभयो । “वालिङबाट गाउँतर्फ जाँदै गरेको जिप आइतबार साँझ वालिङ–१० मदिखोला नजिकै कच्ची सडकबाट झण्डै ५० मिटर तल खसेर दुर्घटना भएको छ”, वडा अध्यक्ष पङ्गेनीले भन्नुभयो, “जिपमा सवार रहेकामध्ये धेरै लिहुडाँडाका हुन्, जहाँका दुई जनाको मृत्यु भइसकेको छ भने अन्यको पोखरामा उपचार भइरहेको छ, गाउँ पूरै शोकमा छ ।”

दसैँको बेला बजारबाट गाउँतर्फ फर्किदै गरेका एउटै गाउँका आफन्तलाई गुमाउनुपर्दा र अङ्गभङ्ग भएर अस्पतालमा बस्नुपर्दा अहिले गाउँमा निक्कै पीडा महसुस भएको वडाध्यक्ष पङ्गेनीले बताउनुभयो । वालिङबाट गल्याङ–१० लाखुडाँडातर्फ जाँदै गरेको ग१ज ४९१८ नम्बरको जिप कच्ची उकालो बाटोबाट आइतबार साँझ झण्डै ५० मिटर तल खसेको थियो । उक्त जिपमा चालकसहित १९ यात्रु थिए । चालकसहित अन्य दुई जना सामान्य उपचारपछि निको भएका छन् भने बाँकी रहेका १४ जनाको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

यो पनि – जन्ती बोकेको जिप दुर्घटनामा चारको मृत्यु, १४ घाइते

अछामको पञ्चदेवल विनायक नगरपालिका–१ मा से१च १७६३ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार गए राति ११ बजेतिर जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा उक्त जिप दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार दुर्घटनामा परी पञ्चदेवल विनायक नगरपालिका–३ का १६ वर्षीय जीवन जैसी, सोही वडामा १८ वर्षीय सर्प बोहरा, १३ वर्षीय जीवन न्यौपाने र १५ वर्षीय हिमाल नेपालीको मृत्यु भएको छ । जैसीको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

घाइते भएकामध्ये दुईलाई थप उपचारका लागि गए राति नै नेपालगञ्ज पठाइएको छ र अन्य १२ जनाको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक तुलसीराम अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “गम्भीर अवस्थामा रहेका दुई जनालाई हामीले नेपालगञ्ज पठाइसकेका छौँ, अन्यको जिल्ला अस्पतालमा उपचार भइरहेको छ, उपचार भइरहेकाको अवस्था जटिल छैन ।” जिप अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।

प्रतिक्रिया दिनुहोस


Last Updated on: October 11th, 2021 at 9:50 am
३२० पटक हेरिएको

तपाईको प्रतिक्रिया