आइतबार १४ आश्विन २०८०

स्याङ्जाको पुतलीबजार नगरपालिकाभित्र सञ्चालनमा रहेका पाँच औषधि पसललाई कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले औषधि पसल, क्लिनिक, फार्मेसीमा आइतबार गरेको अनुगमनका क्रममा त्रुटि देखिएका पाँच औषधि पसललाई कारबाही गरी जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले जानकारी दिनुभयो । सहायक प्रजिअ शर्माका अनुसार म्याद गुज्रेका औषधि बिक्री वितरण गरेको, अनुमति लिएभन्दा बढी सेवा प्रवाह गरेको र तोकिए अनुसारका मापदण्ड पूरा नगरेका औषधि पसल कारबाहीमा परेका हुन् ।

“पहिलो चरणमा आठ वटा औषधि पसलमा सचेत गरायौँ भने पाँच वटालाई साङ्केतिक कारबाहीस्वरुप न्यूनतम जरिवाना गरेका छौँ”, सहायक प्रजिअ शर्माले भन्नुभयो, “औषधि व्यवसायीलाई अहिले भएका कमिकमजोरीलाई सुधार गर्न भनेका छौँ, आगामी दिनमा थप सचेत हुन सुझाव दिएका छौँ ।” अहिले न्यूनतम जरिवाना गरिएको र आगामी दिनमा फेरि यस्तै कमजोरी दोहोरिएमा प्रचलित कानूनअनुसार कडा प्रावधानमा टेकेर कारबाही गरिने उहाँले बताउनुभयो ।

कारबाहीमा पर्ने स्वास्थ्य संस्थामा स्याङ्जा हेल्थ केयर, अशोक फर्मा, शुभसङ्गीता फर्मा, सतिदेवी पोलिक्लिनिक र मोनिका मेडिसिन स्टोर रहेका उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार मोनिका मेडिसिन स्टोरलाई रु पाँच हजार र अन्य चार वटालाई रु १०÷१० हजारका दरले जरिवाना गराइएको हो । जरिवाना तथा कारबाहीमा परेका स्वास्थ्य संस्थाले आंशिक सेवाका लागि अनुमति लिएर तोकिएभन्दा बढी सेवा प्रवाह गरेको भेटिएको थियो ।

यो पनि – अछाममा जन्ती बोकेको जिप दुर्घटनामा चारको मृत्यु, १४ घाइते

अछामको पञ्चदेवल विनायक नगरपालिका–१ मा से१च १७६३ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार गए राति ११ बजेतिर जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा उक्त जिप दुर्घटनामा परेको हो । प्रहरीका अनुसार दुर्घटनामा परी पञ्चदेवल विनायक नगरपालिका–३ का १६ वर्षीय जीवन जैसी, सोही वडामा १८ वर्षीय सर्प बोहरा, १३ वर्षीय जीवन न्यौपाने र १५ वर्षीय हिमाल नेपालीको मृत्यु भएको छ । जैसीको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

घाइते भएकामध्ये दुईलाई थप उपचारका लागि गए राति नै नेपालगञ्ज पठाइएको छ र अन्य १२ जनाको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक तुलसीराम अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “गम्भीर अवस्थामा रहेका दुई जनालाई हामीले नेपालगञ्ज पठाइसकेका छौँ, अन्यको जिल्ला अस्पतालमा उपचार भइरहेको छ, उपचार भइरहेकाको अवस्था जटिल छैन ।” जिप अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।

प्रतिक्रिया दिनुहोस

 


Last Updated on: October 11th, 2021 at 10:07 am
४५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया