
सन् २०२२ मा हुने विश्वकप फुटबलको छनोट खेलमा अर्जेन्टिनाले उरुग्वेलाई हराएको छ । सोमबार बिहान भएको अर्जेन्टिनाले घरलु मैदानमा उरुग्वेलाई ३–० गोलले हराएको हो ।
अर्जेन्टिनालाई जित निकाल्दा कप्तान लियोनल मेस्सी, रोड्रिगो डी पल र लाउटारो मार्टिनेजले एक–एक गोल गरे ।
खेलको ३८औँ मिनेटमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए । त्यसको ६ मिनेटपछि डी पलले गोल गर्दै पहिलो हाफमा अर्जेन्टिनाको अग्रता दोब्बर बनाए ।
६२औँ मिनेटमा मार्टिनेजले गोल गरेपछि अर्जेन्टिना ३–० गोलले विजयी भएको हो । जितसँगै दोस्रो स्थानमा रहेको अर्जेन्टिनाले १० खेलमा २२ अङ्क जोडेको छ । उरुग्वे भने १६ अङ्कका साथ चौथो स्थानमा छ । उसले ११ खेल खेलेको छ ।
इटालीले युइएफए नेसन्स लिग २०२१ मा तेस्रो स्थान हासिल गरेको छ । आइतबार साँझ तेस्रो स्थानका लागि भएको खेलमा इटालीले बेल्जियमलाई २–१ गोलले हराएको हो ।
इटालीको टुरिनमा घरेलु टिमलाई जिताउन निकोलो बरेल्ला र डोमेनिको बेरार्डीले एक–एक गोल गरे भने बेल्जियमका चार्ल्स डी केटेलेरेले एक गोल फर्काए ।
एलियान्ज स्टेडियममा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ४६औँ मिनेटमा बरेल्लाले गोल गर्दै इटालीलाई सुरुआती अग्रता दिलाएका थिए ।
६५औँ मिनेटमा बेरार्डीले पेनाल्टीमा गोल गर्दै इटालीलाई २–० गोलको अग्रता दिलाए ।
८६औँ मिनेटमा बेल्जियमका केटेलेरेले गरेको गोल पाहुना टोलीलाई बराबरीमा फर्किन पर्याप्त बनेन ।
इटाली पहिलो सेमिफाइनलमा स्पेनसँग र बेल्जियम फ्रान्ससँग स्तब्ध भएको थियो । फाइनल पुगेका फ्रान्स र स्पेनले आज राति नै उपाधिका लागि खेल्दै छन् ।