
माल्दिभ्समा जारी १३औँ संस्करणको साफ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएको छ । आइतबार राति सर्वाधिक धेरै सात पटकको विजेता टिम भारतसँग भिडेको नेपाल १–० गोलले स्तब्ध भएको हो ।
राजधानी मालेस्थित राष्ट्रिय रङ्गशालामा भएको खेलमा भारतलाई जिताउन कप्तान सुनिल क्षेत्रीले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ८२औँ मिनेटमा क्षेत्रीले गोल गर्दै भारतलाई जिताए ।
जितसँगै भारतले पहिलो जित दर्ता गराएको छ । यसअघि ऊ पहिलो खेलमा बङ्गलादेशसँग १–१ गोलको र दोस्रो खेलमा श्रीलङ्कासँग गोलरहित बराबरीमा रोकिएको थियो । तेस्रो स्थानको भारतले तीन खेलमा पाँच अङ्क जोडेको छ ।
पराजयसँगै नेपाल अङ्कतालिकाको दोस्रो स्थानमा खस्किएको छ । यसअघि पहिलो खेलमा घरेलु टिम माल्दिभ्समाथि १–० गोलको जित निकालेको नेपालले दोस्रो खेलमा श्रीलङ्कालाई ३–२ गोलले हराएको थियो ।
नेपालसँग ६ अङ्क छ । समान अङ्क भएको माल्दिभ्स गोलान्तरको आधारमा अगाडि रहँदै शीर्ष स्थानमा उक्लिएको छ ।
माल्दिभ्समा जारी १३औँ संस्करणको साफ च्याम्पियनसिपमा घरेलु टोलीले दोस्रो जित निकालेको छ । आइतबार भएको पहिलो खेलमा माल्दिभ्सले श्रीलङ्कालाई १–० गोलले हराएको हो ।
तीन खेल खेलेको माल्दिभ्सले दुई खेलमा जित र एक खेलमा पराजयसँगै ६ अङ्क जोडेको छ । समान अङ्क भएको नेपाल शीर्ष स्थानमा छ । दुई खेल खेलेको नेपाल गोलान्तरको आधारमा शीर्ष स्थानमा छ । पराजित श्रीलङ्का भने एक अङ्कसहित पुछारमा छ ।
राजधानी मालेस्थित राष्ट्रिय रङ्गशालामा भएको खेलमा घरेलु टिमलाई जिताउन अली अशफकले निर्णायक गोल गरेका थिए । उनले खेलको छैटौँ मिनेटमा गरेको गोल नै माल्दिभ्सको जितमा निर्णायक बनेको हो ।