
नेपाल अनलाइन पत्रिका – काठमाडौं। उनी हतारमा थिइन् । गत शनिबार प्रहरी परिशर काठमाडौँ पुग्दा उनी ड्युटीमा जाने तयारीमा थिइन्, असई सीताकुमारी कार्की । दसैँको मेसो भए पनि उनलाई कामको हतारो थियो । सुरक्षा सेवामा प्रवेश गर्दा आफ्नो र परिवारको भन्दा देशको हित सोच्नु पर्छ भन्ने थाहा थियो उनलाई । सोही कारण चाडपर्वमा कर्ममा खटिँदा पनि उनलाई गाह्रो हुँदैन ।***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***
असई कार्कीको ड्युटी शनिबार माइतीघरमा थियो। महिलाहरु धेरै सहभागी भएको कार्यक्रम रहेकाले उनी त्यहाँ खटिएकी थिइन् । यस्तो हतारो दैनिक जस्तो हुन्छ उनलाई, सुरक्षामा खटिनु पर्छ । तर नजिकिँदै गरेको दसैँमा पनि ड्युटीमा खटिनु पर्छ वा पर्दैन उनलाई थाहा छैन । घर जाने छुट्टी भने छैन यो पाली । सर्वसाधारणको सुरक्षासँग प्रत्यक्ष सम्बन्ध रहेको नेपाल प्रहरीको सेवामा प्रवेश गरेको उनी २३ वर्ष भयो । यो अवधिमा सीताले दसैँमा घर जाने मौका ८–९ पटक मात्रै पाएकी छन् ।
Ads By Admana
असई सीताकुमारी कार्की देशको सेवा गर्ने आफू नेपाल प्रहरीमा प्रवेश गरेको बताउँदै उनले भनिन्, ‘पहिला–पहिला केही नरमाइलो त लाग्थ्यो । तर आफु सुरक्षाकर्मी बनेर देशको सेवा गर्ने भनेर आएको हो भन्ने थाहा थियो । बिस्तारै नरमाइलो हट्दै गयो ।’ घर जान नपाए पनि दसैँमा माथिल्लो ओहोदाका प्रहरी अधिकारीहरुले टीका लगाइदिने हुँदा परिवारसँगै बसे जस्तो हुने गरेको उनले बताइन् ।
उनले भनिन्, ‘मान्छे मन न हो, घर जान पाइएन भनेर कस्तो कस्तो त लाग्छ नै । तर हामी यहाँ ब्यारेकमा खुशी हुन्छौँ । ब्यारेक नै हाम्रो लागि अर्को घर–परिवार हो ।’ बिदा पाए घर जाने नपाए यहिँ टीका जमरा लगाएर सिनियरबाट आर्शिवाद लिने तथा शुभकामना आदानप्रदान गर्ने उनले सुनाइन् ।
प्रहरी जवान उत्तमबहादुर तामाङ सीताको जस्तै अनुभव बाराका उत्तमबहादुर तामाङको छ । विगत ९ वर्षदेखि उनी प्रहरी सेवामा छन् । यो अवधिमा उनले दसैँमा एकपटक पनि बिदा पाएका छैनन् । तर दसैँमा घर जान नपाएर आफूलाई कुनै गुनासो वा दुःख नलागेको उनी बताउँछन् । ‘सुरुका वर्षमा नरमाइलो लागेको हो, तर अहिले लाग्दैन । थाहा त थियो सुरक्षाकर्मी भएपछि आफ्नो भन्दा देशका लागि सोच्नु पर्छ। तर पनि जागिरको सुरुवाती दिनमा झुट बोलेर जाउँ कि भन्ने ख्याल पनि नआएको होइन । अहिले त त्यस्तो ख्याल त आउँदैन ।’
दसैँमा आफूहरुलाई नै विश्वास गरेर सर्वसाधारण घरमा ताल्चा मारेर गाउँघर जाने हुँदा उनीहरुको सुरक्षा गर्ने जिम्मेवारी पूरा गर्दा आनन्द लाग्ने उनले बताए ।
‘अहिले त आफ्नोसँगै बुवाआमाको मन बुझाउन सिकिसकेको छु’, उनले भने ।
काठमाडौँ प्रहरी परिशरमा ९ वर्ष बिताएका तामाङलाई ब्यारेक नै घर जस्तो लाग्छ । ‘कोरोना महामारी अघिसम्म दसैँमा यहिँ भोज हुन्थ्यो, साँस्कृतिक कार्यक्रम पनि । अहिले भने हुँदैन । तर सिनियरबाट टीका लगाइन्छ । खानपिन हुन्छ ।’
सुरक्षा निकायमा मिलाएर बिदा बस्ने प्रचलन रहेको हुन्छ । सोही कारण सबैले दसैँमा बिदा पाउँदैनन् । त्यसमाथि चाडबाडका बेला चोरी, लुटपाटका घटना बढी हुने हुँदा प्रहरीको सक्रिय थप चाहिने हुन्छ । यो कुरा आफूहरुले बुझेको र सुरक्षामा खटिँदा कुनै गुनासो नहुने सीता र उत्तमको भनाई छ ।