
साफ च्याम्पियनसिपको १३ औं संस्करणको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन् ।
बुधबार राति सिंगल राउण्ड रोबिन लिगको अन्तिम खेलमा आयोजक माल्दिभ्सलाई ३-१ गोल अन्तरले पराजित गर्दै भारतले फाइनलमा स्थान बनाएको हो । यसअघि नेपाल बंगलादेशसँग बराबर खेल्दै शीर्षस्थानमा रहेर फाइनल पुगेको थियो ।
मालेस्थित राष्ट्रिय रंगशालामा भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्रीले दुई गोल गरे । मानबिर सिंहले एक गोल गरे । माल्दिभ्सका अलि अस्फाकले एक गोल फर्काए ।
जितसँगै भारत शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो । भारतले ४ खेलमा ८ अंक जोड्यो । पहिलो पटक फाइनल पुगेको नेपालले ४ खेलमा ७ अंक जोड्दै उपविजेताको रुपमा फाइनल पुग्यो ।
फाइनल खेल आइतबार नेपाली समयअनुसार ४:४५ बजे सुरु हुनेछ ।
यस्तो छ भारतविरुद्ध नेपालको इतिहास
दोस्रो दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ) मा नेपाल र भारतबिच पहिलो पटक फुटबलमा सन् १९८५ डिसेम्बर २१ मा प्रतिस्पर्धा भएको थियो । बङ्गलादेशको ढाकास्थित बंगबन्धु रङ्गशालामा भएको उक्त खेलमा भारतले नेपाललाई २–० गोल अन्तरले पराजित गरेको थियो । नेपाली टोलीको सुरुआत सुखद रहेन । त्यसयता नेपाल र भारतबिच फुटबलमा १९ पटक भिडन्त भएको छ ।
भारत १३ पटक विजयी भएको छ भने नेपालले दुई चोटि मात्र जित निकाल्न सक्यो । तीन खेलमा दुवै टोलीले बराबरी खेलेका थिए । समग्रमा नेपाली टोली भारतसामु निरीह साबित भएको छ । विश्व फुटबल महासङ्घ (फिफा) वरीयताअनुसार पनि नेपालभन्दा भारत फुटबलमा निकै अब्बल देखिन्छ । फिफा वरीयताअनुसार भारत १०५ औँ स्थानमा छ भने नेपाल १६८ स्थानमा छ ।
नेपाल र भारतबिच सन् १९८७ डिसेम्बर २३ मा दोस्रो दक्षिण एसियाली खेलकुदमा दोस्रो पटक प्रतिस्पर्धा भएको थियो । भारतको कोलकातामा भएको उक्त खेलमा भारतले नेपाललाई २–० गोल अन्तरले हराएको थियो । सन् १९८९ अक्टोबर २३ मा पाकिस्तानमा भएको साफ खेलमा नेपाल भारतसित २–१ गोलले हार बेहोर्न पुग्यो । उक्त खेलमा नेपालका लागि मणि शाहले पहिलो गोल गरेका थिए ।
यस्तै सन् १९९३ जुलाई १९ मा पाकिस्तानको लाहोरमा सम्पन्न साफ च्याम्पियनसिपमा भारतले नेपाललाई १–० गोलले हराएको थियो । सन् १९९३ डिसेम्बर २६ मा बङ्गलादेशको ढाकामा सम्पन्न दक्षिण एसियाली खेलकुदमा नेपालले भारतलाई टाइब्रकरमा ४–३ गोलले जितेको थियो । निर्धारित र अतिरिक्त समयमा पनि दुवै टोलीबाट दुई–दुई गोल मात्र हुन सकेको थियो । नेपालले भारतलाई पहिलो पटक हराउन सफल भएको थियो । नेपालका तर्फबाट उमेश प्रधान र मणि शाहले गोल गरेका थिए । त्यसअघिको सेमिफाइनल खेलमा दुवै टोलीले दुई–दुई गोलको बराबरी खेलेको थियो ।
यसै गरी, सन् १९९५ डिसेम्बर २५ मा भारतको मद्रासमा भएको साफ खेलमा भारतले नेपाललाई ३–० गोलले पराजित गरेको थियो भने सन् १९९८ डिसेम्बर ५ मा थाइलेण्डको बैंककमा भएको एसियाली खेलकुदमा भारतले नेपाललाई १–० गोलले हराएको थियो । सन् १९९९ सेप्टेम्बर ३० मा काठमाडौँमा भएको आठौँ दक्षिण एसियाली खेलकुदमा भारतले नेपाललाई ४–० गोल अन्तरले हराएको थियो । सन् २००५ डिसेम्बर १८ मा पाकिस्तानको कराँचीमा सम्पन्न साफ च्याम्पियनसिपमा भारतले नेपाललाई २–१ गोलले हराएको थियो । सो खेलमा नेपालका लागि वसन्त थापाले गोल गरेका थिए
यस्तै सन् २००६ अप्रिल ९ मा बङ्गलादेशमा भएको एएफसी च्यालेन्ज कपमा भारतलाई नेपालले ३–० गोलले हराएको थियो । नेपालका लागि प्रदीप महर्जनले दुई तथा वसन्त थापाले एक गोल गर्नुभएको थियो । सन् २००८ जुन ३ मा मालदिभ्सको मालेमा सम्पन्न साफ च्याम्पियनसिपमा भारतले नेपाललाई ४–० गोलले तथा सन् २००९ डिसेम्बर ७ मा बङ्गलादेशमा सम्पन्न साफ च्याम्पियनसिपमा भारतले नेपाललाई १–० गोलले पराजित गरेको तथ्याङ्क छ ।
यस्तै सन् २०१२ अगस्ट ५ मा भारतको नयाँ दिल्लीमा भएको नेहरु कपमा दुवै देशले गोलरहित बराबरी खेलेका थिए । सन् २०१३ सेप्टेम्बर पाँचमा काठमाडौँमा सम्पन्न साफ च्याम्पियनसिपमा नेपालले भारतलाई २–१ गोलले हराएको थियो । उक्त खेलमा जुमानु राई र अनिल गुरुङले गोल गर्नुभएको थियो । सन् २०१३ नोभेम्बर १९ मा भारतको पश्चिम बंगालको सिलिगुढीमा आयोजना गरिएको मैत्रीपूर्ण खेलमा भारतले नेपाललाई २–० गोलले पराजित गरेको थियो ।
यसै गरी सन् २०१५ मार्च १७ मा काठमाडौँमा सम्पन्न खेलमा नेपालले भारतसित गोलरहित बराबरी खेलेको थियो भने सन् २०१५ अगस्ट ३१ मा भारतको पुनामा भएको मैत्रीपूर्ण खेलमा पनि दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । यस्तै सन् २०१५ डिसेम्बर २७ मा भारतको त्रिवेन्द्रममा सम्पन्न साफ च्याम्पियनसिपमा भारत ४–१ गोलले विजयी भएको थियो । उक्त खेलमा नेपालका लागि विमल घर्ती मगरले गोल गरेका थिए । सन् २०१७ जुन सातमा भारतको मुम्बईमा भएको मैत्रीपूर्ण खेलमा भारतले नेपाललाई २–० गोल अन्तरले हराएको थियो ।
गत महिना भारतले नेपालमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो, जसमा पहिलो खेलमा बराबरी खेलेको भारतले दोस्रो खेलमा जित दर्ता गरेको थियो ।