
प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टिमलाई बधाई ज्ञापन गरेका छन् । बुधबार भएको खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा पुगेको हो ।
बुधबार साँझ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटमार्फत नेपाली टिमलाई बधाई दिएका हुन् । उनले आगामी खेलका लागि शुभेच्छासहित नेपाली टिमलाई प्रोत्साहन पनि प्रदान गरेका छन् ।
ट्वीटमा उनले लेखेका छन् , ‘साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेको नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूलाई बधाई तथा आगामी खेलको लागि शुभेच्छासहित प्रोत्साहन दिन चाहन्छु ।’
Sher Bahadur Deuba
@SherBDeuba
हार्दिक बधाई तथा शुभकामना !
साफ फुटवल प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा पुगेको नेपाली फुटवल टोलीका सम्पुर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई बधाई तथा आगामी खेलको लागि सुभेच्छा सहित प्रोत्साहन दिन चाहान्छु ।
सन् १९९३ देखि सुरु भएको प्रतियोगितामा नेपालले फाइनल पुगेको यो पहिलो पल्ट हो ।खेलको ७९ औं मिनेटमा आफ्नो पेनाल्टी एरिया बाहिर बल ह्यान्ड गरेपछि बंगलादेशी गोलरक्षक अनिसुर रहमानलाई सिधै रातो कार्ड देखाइएको थियो र खेल नेपालको पक्षमा मोडिएको थियो ।
८८औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै नेपालका लागि अन्जन विष्टले निर्णायक गोल गरेका थिए । यसअघि खेलको ९औं मिनेटमा बंगलादेशले मोहम्मद सुमन रेजाको गोलले अग्रता लिएको थियो ।
बराबरीसँगै ७ अंक जोडेको नेपाल फाइनलमा पुगेको छ भने बंगलादेश समूह चरणबाटै बाहिरिएको छ ।
अब उपाधिका लागि नेपालले भारत र माल्दिभ्स मध्ये एकसँग खेल्नेछ । यो दुई टोलीबीच समूह चरणकै अन्तिम खेल बुधबार हुनेछ । फाइनलमा स्थान बनाउन माल्दिभ्सलाई बराबरी भए पुग्छ भने भारतलाई जित्नै पर्ने दबाव छ ।