
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्टले साफ च्याम्पियनसिप २०२१ को फाइनल खेल्न नपाउने भएका छन् ।
नेपालले शनिबार प्रतियोगिताको फाइनल खेल्दा अन्जन टोलीमा नहुने भएका हुन् । बंगलादेशविरुद्ध बराबरी गोल फर्काउँदै नेपाललाई फाइनल पुर्याउन नायक बनेका अन्जनले खेलमा पहेंलो कार्ड पाएका थिए । जारी प्रतियोगितामा अन्जनको यो दोस्रो पहेंलो कार्ड भएका कारण उनले अर्को खेल गुमाउने भएका हुन् । अब नेपालको लागि अर्को खेल फाइनल भएकाले नै उनी उपस्थित नहुने भएका हुन् ।
अन्जनले यसअघि भारतविरुद्ध खेलको अन्तिम समयमा पहेंलो कार्ड पाएका थिए । बंगलादेशविरुद्ध उनले खेलको ४४ औं मिनेटमा कार्ड पाएका थिए । क्रसमा आएको बललाई हातले हान्न खोजेपछि रेफ्रीले उनलाई पहेंलो कार्ड दिएका थिए । खेलको ८६ औं मिनेटमा अन्जनलाई नै पेनाल्टी क्षेत्रभित्र लडाएपछि नेपालले पेनाल्टी पाएको थियो । त्यसै पेनाल्टीलाई गोलमा परिणत गर्दै उनले फाइनल यात्रा पक्का गरेका थिए ।
अन्जन पछिल्लो समय नेपाली टोलीको मुख्य खेलाडीका रुपमा अघि आएका छन् । अलमुताइरीको आगमनसँगै उनले थप आक्रामक भूमिका निर्वाह गर्दै आएका छन् । जारी प्रतियोगितामा पनि अन्जनले नेपालका लागि सर्वाधिक २ गोल गरेका छन् । श्रीलंकाविरुद्ध ३-२ को जितमा पनि उनले गोल गरेका थिए ।
अन्जनले हालसम्म राष्ट्रिय टोलीका लागि ७ गोल गरेका छन् । उनले अलमुताइरी आएपछि मात्र १० खेलमा ५ गोल गरिसकेका छन् । अन्जनको अनुपस्थितिले फाइनलमा नेपाललाई पक्कै घाटा पुग्नेछ ।
अन्जनले गत साता श्रीलंकाविरुद्ध जितपछि बोल्दै उनले प्रशिक्षकको विश्वासका लागि धन्यवाद व्यक्त गरेका थिए । ‘म सबै खेलाडी सहकर्मी, प्रशिक्षक र समर्थकलाई धन्यवाद दिन चाहन्छु । मुख्य कुरा प्रशिक्षकले मलाई विश्वास गर्नुभएकोमा आभारी छु । प्रशिक्षकले भन्नुभएको जस्तै प्रतियोगिता अझै बाँकी छ । हामी अन्त्यसम्म पनि लड्नेछौं,’ उनले भनेका थिए ।
नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलको कीर्तिमान १३ गोल छ । हरि खड्का र निराजन रायमाझीको नाममा रहेको यो कीर्तिमान तोड्न कसैले सकेको छैन । उक्त कीर्तिमान तोड्न सक्नेबारे के लाग्छ भन्ने प्रश्नमा अन्जनले आफू सक्दो मिहिनेत गर्ने बताएका थिए ।
‘कीर्तिमान राख्ने सपना त भइहाल्छ । अहिलेसम्म पनि १३ गोलमा नै अड्किएको छ । मुख्य कुरा भनेको हाम्रो नेपालमा फरवार्डले मात्र गोल हान्नुपर्छ भन्ने सोच छ । तर अहिले प्रशिक्षकले जसले पनि गोल हान्न सक्छ भन्ने विश्वास गर्नुभएको छ,’ उनले थपे, ‘आज पनि मिडफिल्डरले गोल हानेको छ । मेरो पनि चाहना छ कि त्यो रेकर्ड तोड्ने । अझै मिहिनेत गर्नेछु र आशा गरौं त्यो रेकर्ड तोड्न सक्नेछु ।’
यो पनि : प्रशिक्षक अलमुताइरीले फाइनल पुगेपछि यसो भने
प्रतिकृया दिनुहोस