शुक्रबार ०५ आश्विन २०८०

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले शनिबार भारतविरुद्ध हुने साफ च्याम्पियनसिप २०२१ को फाइनल खेल गुमाउने भएका छन् । प्रतियोगिताको लिग चरण दौरान दुई फरक खेलमा पहेंलो कार्ड पाएको भन्दै साफले उनीमाथि प्रतिबन्ध लगाएको हो ।

साफले तयार पारेको प्रतियोगिताको नियमावली अनुसार फरक खेलमा पहेंलो कार्ड खाएको प्रतिबन्ध खेलाडीलाई मात्र लाग्ने उल्लेख छ । तर खेलमा रातो कार्ड पाएमा भने अफिसियलले पनि अर्को खेल गुमाउने नियमावलीमा उल्लेख छ । तर साफले अलमुताइरीले दुई फरक खेलमा पहेंलो कार्ड खाएको कारण देखाउँदै प्रतिबन्ध हुने लेख्दै पत्राचार गरेको छ, जुन नियममा उल्लेख नभएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसबारे पत्राचार पनि गरिसकेको छ । एन्फाले प्रतियोगिता नियमावली अनुसार अलमुताइरीलाई प्रतिबन्ध लगाउन नपाउने जनाएको छ । साफको पत्राचारकै कारण अलमुताइरी शुक्रबार फाइनलअघि भएको पत्रकार सम्मेलनमा अनुपस्थित रहेको बुझिएको छ । खराब मौसमका कारण भर्चुअल रुपमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अलमुताइरी त्यहीं रहेपनि सहायक प्रशिक्षक किरण श्रेष्ठले जवाफ दिएका थिए ।

त्यसो त एएफसीको अनुशासन नियमावलीले कुनैपनि व्यक्तिले एक प्रतियोगिताको दुई खेलमा पहेंलो कार्ड पाउँछ भने अर्को खेल गुमाउने लेखेको छ । तर उक्त नियमावलीमा प्रतियोगिताको आफ्नै नियम छ भने त्यसमा परिवर्तन गर्न सकिने उल्लेख छ । साफको नियमावलीमा भने अफिसियललाई दुई फरक खेलको पहेंलो कार्डमा प्रतिबन्ध लाग्ने उल्लेख गरिएको छैन ।


Last Updated on: October 16th, 2021 at 10:31 am
२८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया