मंगलबार ०९ आश्विन २०८०

संयुक्त राज्य अमेरिकाले चीनमाथि गम्भीर आरोप लगाएको छ ।अमेरिकाले चीनमाथि परमाणु क्षेप्यास्त्र भण्डारण र प्रक्षेपण गर्ने आफ्नो क्षमता वृद्धि गरिरहेको आरोप लगाएको हो ।अमेरिकी वैज्ञानिकहरूले भूउपग्रहबाट खिचिएको चीनको पश्चिमी भूभागको तस्विरले त्यहाँ परमाणु क्षेप्यास्त्रका लागि आवश्यक संरचना बन्दै गरेको देखिएको फेडेरेसन अफ अमेरिकन साइन्टिस्ट एफएएसको एउटा प्रतिवेदनमा उल्लेख गरेका छन् ।

उक्त तस्विर आएपछि सबैको होस उडेको बताइएको छ । अमेरिकी रक्षा अधिकारीले चीनको परमाणु क्षमता अभिवृद्धिप्रति चिन्ता व्यक्त गरेका हुन् ।चीनको पश्चिममा गत दुई महिनामा निर्माणाधीन देखिएको दोस्रो परमाणु क्षेप्यास्त्र क्षेत्र भएको बताइएको छ ।

निर्माणाधीन क्षेत्रमा ११० भूमिगत क्षेप्यास्त्र भण्डारण र प्रक्षेपण स्थल रहेको बताइएको छ । गत महिना अमेरिकी अखबार वाशिङ्टन पोस्टले गान्सु प्रान्तको युमेनको मरुभूमिको एउटा क्षेत्रमा त्यस्तो १२० क्षेप्यास्त्र भण्डारण स्थल देखिएको समाचार प्रकाशित गरेको थियो ।

एफएएसले सोमबारको प्रतिवेदनमा नयाँ क्षेत्र युमेनभन्दा ३८० किलोमिटर उत्तर–पश्चिमको हामिमा रहेको र त्यहाँ भर्खरै निर्माण सुरु गरिएको जनाएको छ ।

सन् २०२० मा अमेरिकी रक्षा मन्त्रालयले चीनले आफ्नो परमाणु क्षेप्यास्त्र दोब्बर बनाउन लागेको जानकारी दिएको थियो ।अमेरिकी रक्षा मन्त्रालयको एउटा विभागले एफएएसको प्रतिवेदनबारे चिन्ता व्यक्त गरेको छ ।

सन् २०२० मा चीनमा २०० भन्दा बढी परमाणु क्षेप्यास्त्रहरू भएको अनुमान गरिएको थियो ।चीनले त्यसलाई दोब्बर बनाउन खोजेको अमेरिकाको आरोप छ । अमेरिकामा त्यस्ता ३,८०० क्षेप्यास्त्र रहेको बताइन्छ ।

 


Last Updated on: October 16th, 2021 at 1:41 pm
८० पटक हेरिएको

तपाईको प्रतिक्रिया