
पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बू समुदायको आफ्नै भाषा, लिपि, कला, संस्कार र संस्कृति रहँदै आएको छ । धान नाच लिम्बू समुदायको मौलिक संस्कृतिभित्र पर्ने लोकप्रिय सभ्यता हो ।
पछिल्लो पुस्ताले यो धान संरक्षणलाई चासो नदिँदा लोप हुने अवस्थामा पुगेको छ । विषेशगरी सोल्टी सोल्टिनी वा साइनो सम्बन्ध नलाग्नेबिच हात समाएर गोलो घेरा बनाएर नाच्नु लिम्बू जातिको विशेषता हो ।
विवाह तथा विभिन्न चाडपर्व र मेलाहरूमा नाचिने यस्तो नृत्यलाई याःलाङ अर्थात् धान नाच भनिन्छ । यो सुख दुःखको समयमा साइनो नलाग्ने महिला र पुरुषले हातमा हात समाएर गोलाकार घेरामा घुम्दै, अघि पछि सर्दै मुन्धुमको साथमा नाचिने यालाङ नाचको बेला गाइने गीत ‘पालाम’ हो ।
जातीय चिनारी बोकेको नाच ‘धान नाच’ लोप हुने अवस्थामा छ । युवाहरू रोजगारको लागि विभिन्न मुलुकमा पुग्नु र पहिलो पुस्ताहरू अस्ताउँदै गएपछि धान सङ्कटमा पुगेको किराँत याक्थुङ चुम्लुङका छथर अध्यक्ष थानाहाङ तिगेलाले बताए ।
विगतमा यो नाच सात दिन सात रातसम्म नाच्ने प्रचलन थियो । यो नाचमा केटा र केटीले हात समातेर ‘पालाम’ मार्फत मनको भाव सुनाउने गर्दछन् । पालाम गाउँदै जुहारी खेल्दै गएपछि एक अर्काबिच मन परापर भएमा बिहेसम्म गरिन्छ । तर, अहिलेको पुस्ताले यो कुरा बिर्सँदै गएकोप्रति अग्रजहरू चिन्तित बनेका छन् ।
पछिल्लो पुस्तालाई धान नाचसम्बन्धी ज्ञान नभएरै कारण लोप हुने अवस्थामा पुगेका किरात याक्थुङ चुम्लुङका अध्यक्ष गगेश कुमार सेनेहाङले बताए । उनले भने, ‘अहिलेका नयाँ पुस्तालाई धान नाच्नै आउँदैन, धान नाच के हो भन्ने नै थाहा छैन । यसले गर्दा लिम्बूहरूको सांस्कृतिक नाच धान नाचको संरक्षण गर्न कठिन छ ।
परापूर्व कालमा धान पाकेको समयमा सबै गाउँले भेला भएर एकै ठाउँ खलामा धान माडिने गरिएको र छेउछाउमा आएका चराचुरुङ्गीहरूलाई धपाउन ‘हा.. हा.. हा‘’ गरेर धपाइन्थ्यो । साथै धान खाने चरालाई धपाउँदा धपाउँदै धान नाच सुरु भएको किंवदन्ती रहेको लिम्बू संस्कृतिविद्हरूको भनाइ छ ।
बसाइसराइ र वैदेशिक रोजगारीले युवा पुस्तामा धान नाचसम्बन्धी ज्ञानको कमी हुँदै गएको जानकारहरू बताउँछन् । धान नाच संरक्षणका लागी युवापुस्ताको इच्छाशक्ति जाग्ने खालको कार्यक्रम ल्याउन पुर्ने लिम्बू संस्कार संस्कृतिका अभीयान्ता टेकराज तिगेलाले भनाइ छ ।
आफ्नो प्रेमिल भाव व्यक्त गर्दै नाचिने यो नाच संरक्षणका लागि राज्यले ठोस कार्यक्रम ल्याउन आवश्यक रहेको अभियन्ताहरूको भनाइ छ । मेला, उत्सव, विवाह, भोज, बजारमा मायाप्रीति साट्दै दुःखसुख पोख्ने माध्यमको रूपमा नाचिँदै आएको धान नाच पछिल्लो समय उँधौली–उभौली पर्व तथा औपचारिक कार्यक्रममा मात्रै सीमित हुन थालेको छ ।
धान नाच पूर्वका तेह्रथुम, धनकुटा, सङ्खुवासभा, पाँचथर, इलाम, ताप्लेजुङ लगायतका पूर्वी पहाडी जिल्लामा बसोबास गर्ने लिम्बू समुदायले नाच्ने गरेका छन् ।