आइतबार ०७ आश्विन २०८०

दक्षिणी भारतीय राज्य केरलामा ठूलो वर्षाले निम्त्याएको बाढीका कारण अहिलेसम्म कम्तीमा २६ जनाको ज्यान गएको छ। बाढीका कारण कैयौँ शहर तथा गाउँसँग सम्पर्क विच्छेद हुन पुगेको अधिकारीहरूले बताएका छन्।

मृत्यु हुनेमध्ये पाँचजना बालबालिका पनि छन्। थुप्रै मानिस अझै हराइरहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ। बाढीले धेरै घर बगाएको छ। कोटायाम जिल्लामा मानिसहरू बाढीका कारण फस्न पुगेका विवरणमा जनाइएको छ।

भीषण वर्षा
सोही क्षेत्रबाट प्राप्त भिडिओमा यात्रुवाहक बस डुब्दा यात्रुहरूलाई उद्धार गर्दै गरिएको दृश्य देखिन्छ। केही दिनयता भएको ठूलो वर्षाले केरलामा घातक पहिरोहरू निम्त्याएको छ।अधिकारीहरूका अनुसार राहत तथा उद्धार कार्यमा सैनिक खटिएका छन्।

पहिरोका कारण फसेका मानिसहरूसम्म राहत सामग्री पुर्‍याउन हेलिकप्टर परिचालन गरिएको छ। बाढीका कारण फसेका कोलम र अन्य तटीय नगरका मानिसको उद्धारमा माछा मार्ने डुङ्गाहरूको प्रयोग भइरहेको छ।

कैयौँ ठाउँमा बाढीले सडक बगाएको छ र रूखका जराहरू उखेलिदिएको छ। बाढीपीडित एक महिलाले भनिन्, ूधेरै क्षति भएको छ, घरहरू बगेका छन्। बालबालिकालाई गुमाएका छौँ।ू

केरलामा ठूलो वर्षाले बाढी तथा पहिरो निम्याइरहन्छ। कुनै बेला बाढीविरुद्ध प्राकृतिक रक्षाकवचको रूपमा काम गर्ने गरेका सिमसार क्षेत्र तथा तालहरू बढ्दो शहरीकरण एवं संरचना निर्माणसँगै अहिले मासिएका छन्।

सन् २०१८ मा केरलामा एक शताब्दीयताकै ठूलो बाढी आउँदा करिब चार सय जनाको मृत्यु भएको थियो भने १० लाखभन्दा बढी व्यक्ति विस्थापित हुन पुगेका थिए। बीबीसी नेपालीबाट साभार गरिएको हो ।

प्रतिकृया दिनुहोस


Last Updated on: October 18th, 2021 at 10:14 am
२१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया