
काठमाडौं । भीमफेदी कुलेखानीमा शनिबार बेलुका दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् । काठमाडौंबाट वीरगन्जतर्फ जाँदै ना १ ज ४५११ नम्बरको टाटासुमो ईन्द्रसरोवर गाउँपालिका-२ लामाबगरमा दुर्घटना भएको थियो । दुर्घटनामा काठमाडौं महानगरपालिका-१६ का ६२ वर्षीय विष्णुलाल श्रेष्ठ र पर्सा पोखरीया-७ का ४५ वर्षीय राम सहनीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरिक्षक देवेन्द्र दासले बताए ।
घाइते चार जनाको उपचार स्टार अस्पताल काठमाडौं र अन्य ४ जनाको प्रादेशिक हेटौंडा अस्पतालमा भइरहेको छ । तीव्र गतिमा आएको सुमो मोड काट्ने क्रममा सडकबाट २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । यस्तै, जिल्लामा दसैँको समयमा भएका दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ । यही असोज २१ गतेदेखि ३० गतेसम्म भएका १९ वटा दुर्घटनामा नौ जनाको मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार सो अवधिमा भएका दुर्घटनामा २३ जना घाइते भएका थिए ।
२८ वटा सवारीसाधन दुर्घटनामा परेको कार्यालयले जनाएको छ । सवारी दुर्घटना विशेषगरी भित्रि सडकमा भएका थिए । दुई पाङ्ग्र्रे सवारीसाधन सबैभन्दा बढी दुर्घटनामा परेका थिए । मादकपदार्थ सेवन गरेका कारण दुर्घटना बढी भएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले जानकारी दिए । तीव्र गति, क्षमता भन्दा बढी यात्रु र सडक साँघुरो हुनुका कारण दुर्घटना बढी भएको उनले बताए । जिल्लाको पूर्वी क्षेत्रमा दुर्घटना बढेको उनको भनाइ छ । चाडपर्वमा सवारी दुर्घटना बढ्ने भएकाले कार्यालयले सवारी चेकजाँचलाई तीव्र पारेको उनको भनाइ छ ।