बिहिबार ११ आश्विन २०८०

काठमाडौं : सुदूरपश्चिम प्रदेशका जिल्लामा आएको बाढी र पहिरोमा परेकालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गरिँदैछ। नेपाली सेनाको सुर्खेतस्थित स्टेसनबाट बाढी र पहिरोमा परेकाहरुको उद्धारका लागि हेलिकोप्टर उडेको विपद् व्यवस्थापन महाशाखाकी प्रमुख सहसचिव हुमकला पाण्डेले जानकारी दिइन्।

वर्षातका कारण सुदूरपश्चिमका डोटी, डडेल्धुरा र कञ्चनपुर बढी प्रभावित भएका छन्। महाशाखा प्रमुख पाण्डेका अनुसार डोटी र डडेलधुरामा एक/एक जनाको मृत्यु भएको छ भने डडेल्धुरामा एक जना पुरिएका छन्। केही स्थानमा बाढी र पहिरोका कारण मानिसहरु बीचमा थुनिएको खबर आएको उनले बताइन्।

गृहमन्त्री बालकृष्ण खाणले प्रभावित क्षेत्रका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र सशस्त्र प्रहरीका प्रमुखलाई टेलिफोन गरी समन्वयात्मक ढंगले उद्धार र राहतको काम तीव्र गतिमा गर्न निर्देशन दिएका छन्। गृहमन्त्री खाणले अहिलेसम्म भइरहेको उद्धार कार्यका लागि धन्यवाद दिँदै नागरिकको जीवन रक्षाका लागि उपलब्ध स्रोत र साधनको उपयोग गरी तप्परताका साथ काम गर्न निर्देशन दिए

सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुन सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्र र होचो भूभागमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले आज सूचना जारी गर्दै सुदूरपश्चिम प्रदेशको मध्य तथा तराई क्षेत्रमा भारी वर्षा मापन भएको र अझै तीन दिन थप वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान रहेकाले सो क्षेत्र भएर बग्ने नदीका तटीय र डुबान हुने क्षेत्रमा बसोवास गर्ने सबै नागरिकलाई सतर्क रहन आग्रह गरेको हो ।

गए रातिदेखि भइरहेको वर्षाका कारण सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत जिल्लामा भित्र्याउन लागिएको धान बालीमा क्षति पुगेको छ । चाड पर्वकै समयमा खेतमा धान पाकेर पहेँलपुर भएपछि किसानलाई केही दिनदेखि धान काटेर भित्र्याउने चटारो थियो ।

दुई दिनअघि काटेर खेतमै सुकाइएको धान उठाउन नपाउँदै वर्षाले क्षति पु¥याएपछि किसान चिन्तित भएका छन् । होचो भागको खेतमा काटेर सुकाइएको धानबालीमा दुई फिटसम्म पानी जमेको छ । वर्षाका कारण भित्र्याउन लागिएको धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताए। उनले भने, “काटेर सुकाइएको धानबाली पूरै क्षति भएको छ ।”

क्षतिको एकीन विवरण आउन भने समय लाग्ने बताइएको छ । थोरै जग्गा भएका किसानले केही दिनअघि नै बाली भित्र्याइसकेको भए पनि बढी जग्गामा खेती गर्नेले बाली भित्र्याइरहेका थिए । जिल्लामा ७० हजार ५०० हेक्टर जग्गामा बर्खे धान खेती हुने गरेको छ । वर्षासँगै कच्ची सडकहरू हिलाम्मे हुँदा आवागमन असहज भएको छ ।

 

 


Last Updated on: October 19th, 2021 at 12:21 pm
२०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया