
खेतमा पाकेर थन्क्याउने बेला भएको धान बालीमा वर्षाले क्षति पुगेपछि म्याग्दीका किसान चिन्तित भएका छन्।
वर्षाको कारण पाकेको धान खेतमै झर्नुका साथै बोट समेत ढल्दा किसानको ठूलो नोक्सानी भएको छ। भित्र्याउने समयमा पानीले क्षति पुर्याएपछि चिन्ता बढेको बेनी नगरपालिका–२ बगरफाँटका किसान भीमबहादुर कार्कीले गुनासो गरे।पाकेको धानको बोट एउटा पनि ठाडो छैन, सबै सोत्तर भएको छ। खेतैभरि पानी भरिएको छ,’ उनले भने, ‘एकदुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदिएपछि अब यो वर्ष अनिकाल लाग्ने अवस्था आयो।’
म्याग्दीको ज्यामरुककोट, खवरा, बगरफाँट, पुलाचौर, सीम, बाबियाचौर, अर्मनलगायतका ठाउँमा लगाइएको धानमा व्यापक क्षति पुगेको किसानले बताएका छन्। यसैबीच पानी परेसँगै म्याग्दीमा जाडो पनि बढेको छ । उपल्लो क्षेत्रमा हिमपात हुने लक्षण देखिएको रुमका एकवीर घर्तीले बताए।
रातिदेखि भएको अविरल वर्षाका कारण जिल्लाका ग्रामीण सडक हिलाम्यै भएका छन्। लगातार वर्षाको कारण दसैँका लागि घरआएका व्यक्ति कार्यक्षेत्रमा फर्किन समस्या भएको ज्यामरुककोटका सुधन सापकोटाले बताए।
‘सडकमा भल बगेको छ, बेनी बजारसम्म झर्नै समस्या भयो’, बेनी –१ को अर्जमकी देवी थापाले भनिन्, ‘गाडी चल्न सक्ने अवस्था नै छैन।’ रासस
काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. २ पिपलामोड नजिक ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना भएको छ । ग्यास सिलिण्डर बोकेको ना ७ ख ३९४९ नम्बरको ट्रक पिपलामोड र ढलानको बीचमा गएराति १२ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा मानवीय क्षति भने भएको छैन धादिङबाटकाठमाडौंतर्फ आउँदै गरेको ट्यांकर थानकोट नजिक पिपलामोडमा पल्टेको हो । आज राती भएको उक्त दुर्घटनाका कारण राजधानीबाट बाहिर जाने र भित्रिने सवारीसाधन र यात्रुहरु अलपत्र परेका हुन् ।
सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुन सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्र र होचो भूभागमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले आज सूचना जारी गर्दै सुदूरपश्चिम प्रदेशको मध्य तथा तराई क्षेत्रमा भारी वर्षा मापन भएको र अझै तीन दिन थप वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान रहेकाले सो क्षेत्र भएर बग्ने नदीका तटीय र डुबान हुने क्षेत्रमा बसोवास गर्ने सबै नागरिकलाई सतर्क रहन आग्रह गरेको हो ।
गए रातिदेखि भइरहेको वर्षाका कारण सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत जिल्लामा भित्र्याउन लागिएको धान बालीमा क्षति पुगेको छ । चाड पर्वकै समयमा खेतमा धान पाकेर पहेँलपुर भएपछि किसानलाई केही दिनदेखि धान काटेर भित्र्याउने चटारो थियो ।
दुई दिनअघि काटेर खेतमै सुकाइएको धान उठाउन नपाउँदै वर्षाले क्षति पु¥याएपछि किसान चिन्तित भएका छन् । होचो भागको खेतमा काटेर सुकाइएको धानबालीमा दुई फिटसम्म पानी जमेको छ । वर्षाका कारण भित्र्याउन लागिएको धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताए। उनले भने, “काटेर सुकाइएको धानबाली पूरै क्षति भएको छ ।”