
बझाङ । थलारा गाउँपालिका वडा नं ४ डिख्लामा मंगलबार बिहान ४ बजे पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । गाउँभन्दा माथि ढोगदिना भन्ने ठाउँबाट पहिरो जाँदा दुई गाउँका स्थानीय विस्थापित भएका भने ७ घर पुरिएका छन् ।
बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका ५ जना रहेका छन् ।गगने सार्की रोजगारीका लागि भारतमा छन् । उनका माइला छोरा काले सार्की मात्र सकुशल छन् ।
बेपत्ता हुनेमा गगने सार्कीको घरका हर्कु सार्की, धनगिरी सार्की, सिता सार्की, प्रवास सार्की, भूमिका सार्की, चिरञ्जीवी सार्की, इस्सरा सार्की, सञ्जीव सार्की, सविता सार्की, सरोज सार्की, शर्मिला सार्की, पम्मा सार्की, सुवास सार्की, विकास सार्की,
एक जना नाम नखुलेका रहेका छन् भने मदन सार्की (सरस्वती आवि पिपलगडाका शिक्षक) कलुदेवी सार्की र एलिसा सार्की गरेर १८ जना रहेका छन् । यस्तै नरे पार्कीका घरका उजली पार्की, आयुष पार्की, हिमा पार्की, सिमा पार्की गरेर ५ जना रहेका छन् ।
तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीय विस्थापित भई त्रिभुवन मा।वि महेन्द्रधारमा बसिरहेका छन् । गाउँ पहिरोको जोखिममा रहेपछि सयभन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ती मा।वि पारा काट्नेका शिक्षक मदन बहादुर साउँदले बताए ।
कंचनपुर जिल्लास्थित महाकाली नदीको भङ्गालोमा फसेका भीमदत्त नगरपालिका मछेट्टीका एकै परिवारका पाँच जनालाई १८ घण्टापछि उद्धार गरिएको हाे ।
सोमबार मध्यरातमा महाकाली नदीको जलस्तर वृद्धि भएसँगै महाकाली नदीकाे भङ्गालो गाउँ पसेपछि बीचमा फसेका पुष्करसिंह नायकको पाँच जनासहितकाे घर परिवारको उद्धार गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले प्रहरीलाई सोमबार मध्यरातमा नायक परिवार फसेको खबर आएसँगै प्रहरीले विभिन्न निकायसँग समन्वय गरेको बताए ।
उनका अनुसार मंगलबार साँझ साढे ५ बजे फसेको स्थानबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत सुरक्षित स्थानतर्फ उद्धार गरिएको हो । पुष्करसिंह नायक, शान्ति नायक, सुरज नायक, अर्जुन नायक र अशोक नायकको उद्दार गरी नजिककै बस्तीमा राखिएको छ ।
बाँच्ने आस गुमाएका नायक परिवारलाई सरकारकाे पहलमा सेनाको हेलिकोप्टरमार्फत उद्धार गरेपछि उनीहरू खुसी भएका छन् । कंचनपुरको दुर्गम बस्तीका रूपमा परिचित खल्लामछेट्टी जिल्लाकाे सदरमुकाम महेन्द्रनगरबाट ३८ किलोमिटर उत्तर क्षेत्रमा पर्छ ।
उक्त बस्ती बाढीको उच्चजोखिममा रहेको छ । खल्लामछेट्टीका स्थानीय युवा किसनसिंह खड्काले दुर्गम बस्तीका नागरिक विपद्को जोखिममा पर्दा ढिलै भए पनि सरकारले उद्धार गरेको भन्दै राज्यको आभास भएको बताए । उनका अनुसार सो गाउँमा झण्डै १०० परिवार डुबानमा परेका छन् ।
तटीय क्षेत्रका स्थानीय डुबानमा परेसँगै सुरक्षित भागतिर सरेका छन् । ब्रह्मदेवदेखि उक्त बस्ती जाने सडकसमेत चुरेबाट बग्ने खोला र महाकाली नदीको भङ्गालोका कारण जिल्लासँग सम्बन्ध बिच्छेद भएको खड्काले बताए ।