सोमबार १३ मंसिर २०७८

अविरल परेको पानीका कारण लेउती खोलामा आएको बाढीले सडक बगाउँदा कोसी राजमार्गअन्तर्गत धरान-धनकुटा सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ ।

लेउती खोलाको बाढीले साँगुरीगढी गाउँपालिका- ६ फेदीमा करिव ५० मिटर सडक बगाएको सडक डिभिजन कार्यालयका सुपरभाइजर अमृता राईले बताइन् । मंगलबार दिउँसो ४ बजेतिर पानीको बहाव बढेसँगै लेउती खोलाको धार परिवर्तन भई कोसी राजमार्गमा सडकमा पसेको थियो ।

उनका अनुसार क्षति भएको सडकसम्म जाने स्थिति नै छैन । खोला उर्लिएको छ । बालुवा तथा माटोसहितको बाढी आइरहेको छ।

बाटो बगाएपछि अहिले सडक पूरै अवरुद्ध छ । धरानदेखि आएका र धनकुटाबाट गएका गाडीहरू बाटोमा नै रोकिएका छन् । सडक बगाएपछि धनकुटासहित तेह्रथुम, भोजपुर तथा संखुसभाबाट तराई जाने तथा तराईबाट धनकुटासहित तेह्रथुम, भोजपुर तथा संखुवासभा जाने यातायातका साधन बाटैमा रोकिँदा सयौँ यात्रु बीच बाटोमै अलपत्र परेका छन् । पानीको बहाव बढेका कारण सडकमा अझै क्षति हुने संभावना रहेको उनले बताइन् ।

राईका अनुसार तत्काल कुनै वैकल्पिक बाटो बनाउने स्थिति छैन । यस कारण चाँडै सडक खुल्ने संभावना पनि छैन। अविरल रूपमा पानी परिरहेका कारण राजमार्गका वरपरि पहिरोको संभावना अझ बढेको छ । बढीले सडक बगाएको क्षेत्रमा कुनै बस्ती रहेको छैन ।

बाटो बगाएदेखि तीन मिटर वर फेदी खोलामा पुल रहेको छ । त्यहाँ केही होटल र स्थानीयको घर रहेका छन् ।

जिल्ला सदरमुकामदेखि सुरक्षाकर्मीको टोली बटो बगाएको स्थानमा पुगेका बतइएको छ । यता, जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले कोसी राजमार्गका विभिन्न ठाउँमा पहिरो गइरहेको बताए । उनका अनुसार सदरमुकाम मास्तिरको सल्लेरीमा रूख ढल्दा बाटो अवरुद्ध बनेको छ । त्यहाँ सुरक्षाकर्मी र स्थानीयले रूख पन्छाएका छन् । उनले भने, ‘ठाउँठाउँमा रूख ढलेका छन् । ढलेका रूख पन्छाउने काम भइरहेको छ । लगातार पानी परिरहेकोले थप क्षति हुने संभावना छ ।’

यस्तै, हिले-भोजपुर सडक पनि अवरुद्ध भएको छ । हिले-भोजपुर सडक खण्डअन्तर्गत पाख्रिवास नगरपालिका- ६ डिकुरेमा सडक अवरुद्ध बनेको हो । सडकमाथिबाट लेदो माटोसहित ढुंगा निरन्तर बगिरहेको छ । बाटो खुलाउन प्रहरी र डोजर घटनास्थल पुगे पनि निरन्तर वर्षाका कारण सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक नहकुल पोख्रेलले जानकारी दिए ।

 


Last Updated on: October 20th, 2021 at 9:59 am
१५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया