
इलाम : लगातारको वर्षापछिको पहिरोमा परी इलाममा १३ जनाको ज्यान गएको छ । पहिरोले पुरिँदा फाकफोकथुम गाउँपालिकामा एकै परिवारका ४ सहित ६ जनाको ज्यान गएको छ । फाकफोकथुम-३ आम्चोकमा एकै परिवारका ४ जनाको पहिरोले पुरेर ज्यान गएको प्रहरीले जानकारी दिएकाे छ ।
घरमाथिको ढिस्को खस्दा ८६ वर्षीय नैनसिंह कटुवाल, ८० वर्षीय रनदत्ता थापा, १६ वर्षीय निशान कटुवाल र १३ वर्षीय निश्चत कटुवालको ज्यान गएको हो । ३ जनाको शव निकालिसकिएको र नैनसिंहको शव निकाल्ने काम भइरहेको छ ।
२ तले घरको भुईंतलामा सुतेका उनीहरुलाई पहिरोले पुरेको थियो । माथिल्लो तलामा सुतेका समीक्षा र गोमा कुटुवाल भने बच्न सफल भएका छन् । त्यस्तै सूर्योदय नगरपालिकामा ३, माई नगरपालिकामा १ र माङसेवुङ गाउँपालिकामा २ जनाको ज्यान गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । इलाममा २ जना बेपत्ता रहेका छन् । पहिरोका कारण दर्जनभन्दा धेरै घर परिवार विस्थापित भएका छन् ।
सोमबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण प्रदेश १ मा २२ जनाले ज्यान गुमाएका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीले बाढी र पहिरोका कारण प्रदेशभरि मृत्यु हुनेको सङ्ख्या २२ पुगेको जानकारी दिए ।उनका अनुसार इलाममा बाढी र पहिरोका कारण सात जनाको मृत्यु भएको छ । यस्तै, धनकुटा र पाँचथरमा बाढी–पहिरोका कारण ६ जनाको मृत्यु भएको छ । यसैगरी, सुनसरीमा दुई तथा उदयपुरमा एक जनाको मृत्यु भएको छ ।
मानवीय तथा भौतिक संरचनाको क्षतिबारे थप विवरण आउन बाँकी रहेको उनले बताए । बाढीका कारण तराईको झापा, सुनसरी र मोरङ बढी प्रभावित भएका छन् । मंगलबार राति सुनसरीको विभिन्न स्थानबाट १ सय ५० जनाको उद्दार गरिएको थियो । मोरङमा करिब चार सय जनाको उद्दार गरिएको छ ।
सुनसरीको धरान उपमहानगरपालिकामा पहिरोले घर पुरिँदा दुई बालबालिकाको मृत्यु भएको छ । मङ्गलबार परेको अविरल वर्षाको कारण घर पुरिँदा धरान–१३ नागेश्वर मार्ग बस्ने निशान राईकी छोरी आठ वर्षीया निशु राई र छोरा चार वर्षीय निहान राईको मृत्यु भएको हो ।
दिउँसो पौने २ बजे घरमाथिबाट झरेको पहिरोले निशान राईको १ तले टिनको छाना भएको घर पुरिएको थियो । घर पुरिँदा सो घरभित्र रहेका दुई जना बच्चासमेत पुरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उद्धार कार्य थालेको थियो । उद्धारमा खटिएको प्रहरी टोलीले दिउँसो साढे ३ बजे दुई बालबालिलाई मृत अवस्थामा फेला पारेको हो ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रदेश १ प्रहरी प्रवक्ता डिएसपी नवीन राईले जानकारी दिए ।
कञ्चनपुरको भीमदत्त नगरपालिका ९ स्थित मुसेटीमा महाकाली नदीको टापुमा फसेकाहरूको उद्धार गर्न समस्या भएको छ ।
उद्धारका लागि सुर्खेतबाट आएको सेनाको हेलिकप्टर मौसम खराबीका कारण धनगढीमा ल्यान्ड भएको छ ।
खराब मौसमका कारण बाढीग्रस्त क्षेत्र मुसेट्टी पुग्न नसकि हेलिकोप्टर धनगढी फर्किएको सेनाको सुर्खेत कमान्डका जर्नेल प्रेम शाहीले जानकारी दिए ।
सुर्खेतबाट उडेको हेलिकप्टर खराब मौसमले कंचनपुरको मुसेट्टी पुग्न नसकेको उनले बताए ।
डडेल्धुराको जोगबुढा रुट हुँदै पहाडै पहाडको खोचबाट मुसेट्टि जान खोजेपनि ‘भिजिबिलिटी’ नभएको र अर्को रुटबाट प्रयास गर्दा समेत सम्भव नभएपछि धनगढी ल्यान्ड गरिएको उनले बताए । मौसम अनुकुल भए लगत्तै हेलिकोप्टर उद्धारमा खटाइने पनि जर्नेल शाहीले बताए ।
नदीको टापुमा फसेको पाँच जनाको नायक परिवार भने रुखको भरमा छ । ज्यान जोगाउन चढेको रुख पनि ढल्ने अवस्थामा पुगेको स्थानीयबासिन्दाले बताएका छ्न ।
कुखुरा फार्ममा कुरुवा बस्न गएका भीमदत्त नगरपालिका ९ मुसेट्टिको एकै परिवारका ५ जना सोमबार रातिदेखी फसेका थिए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार ३६ वर्षीय पुष्कर नायक, ३२ वर्षीया शान्ति नायक, १० वर्षीय अजय नायक, चार वर्षीय सुरज नायक र ५० वर्षीया गौरी खड्का रुखको कापमा अडिएर बसेका छन् ।
रुख जति बेला पनि ढलेर दुर्घटना हुनसक्ने भएकाले तत्काल उद्धार गर्न आवश्यक रहेको स्थानीयबासिन्दाले बताएका छन् ।